काठमाडौं। विद्युत अवरुद्ध हुँदा चितवन विगत तीन दिन देखि अन्धकारमय भएको छ। गत शुक्रवार पानीसँगै आएको हावाहुरीले विजुलीको पोल भाचेपछि अवरुद्ध भएको विजुली अझै मर्मत सुधार हुन नसक्दा चितवन अन्धकारमै बनेको हो।
“अस्पताल, नेपाली सेनाको ब्यारेक, प्रहरी कार्यालय र मत गणना स्थल र खानेपानी कार्यालयमा वाहेक अन्यत्र अहिले विजुली छैन”, नेपाल विद्युत प्राधिकरण भरतपुर शाखाका इन्जिनियर राजेन्द्र पौडेल भन्छन्, “विजुली नहुँदा यसले जनमानसमा प्रभाव पार्ने त भयो नै जिल्लाका उद्योग कलकारखाना पनि वन्द कै अवस्थामा छन्।”
भरतपुरका अशोक तामाङ लामो समय सम्म विजुली अवरुद्ध हुँदा घरमा अन्धकारमा बस्नु परेको गुनासो गरे। “तिन दिन सम्म लाइन नआएपछि इन्भटरले पनि काम गर्न छाड्यो तत्काल मर्मत गर्न उनले माग गरे। तीन दिनसम्म पनि भाँचिएका पोलहरु मर्मत गर्न नसक्नु प्राधिकरणको कमजोरी भएको उनको आरोप छ।
विजुलीको अभावमा अहिले सूचनाको प्रविधि समेत बन्द भएको छ। नेटइन्टर नेट सेवा पनि विजुलीको अभावमा अवरुद्ध भएको छ। लाइन नहुँदा विजुलीका गाडीहरु पनि चार्चिङ हुन सकेका छैनन भने लामो समयसम्म विजुलीको बैकल्पिक ब्यवस्था गर्दा होटल ब्यवसायीहरुले पनि ग्राहक राख्न नसक्ने अवस्था आएको छ।
शुक्रवार साँझ आएको हावाहुरीले चितवनका विभिन्न ठाउँमा विजुलीका पोल भाचिएका छन्। जिल्लाका कम्तीमा पनि ८० वटा पोल भाँचिएको प्राधिकरणले जनाएको छ। भँचिएका पोलहरु फेर्ने कार्य शुरु भैसकेको पनि इन्जिनियर पौडेलले जानकारी दिए। अहिले सम्म ४० वटा पोलको मर्मत सुधार तथा नयाँ परिवर्तन भैसकेको छ वाँकी पनि गर्दै छन्”, उनले भने। अझै ४० वटा पोलको मर्मत सुधार तथा परिवर्तन गर्नुपर्ने हुदा अझै केही दिन विजुली नआउने होकी भन्ने चिन्ता यहाँ रहेको छ तर ईन्जिनियर पौडेल भने सके सम्म आइतवार साँझ नै विजुली वाल्न पाउने गरि काम भैरहेको जानकारी दिए।
विजुलीको अभावमा अहिले नारायणगढ, भरतपुर, नारायणपुर, कृष्णपुर, गौरीगञ्ज, प्रेमवस्ति, क्षेत्रपुर, फुलवारी, टाँडी, सौराहा लगाएतका क्षेत्र प्रभावित छ।
गोरखापत्रबाट