काठमाडौं। निर्माण व्यवसायीको माग सम्बोधनका विषयमा सरकार र व्यवसायीबीच वार्ता जारी छ। गत वैशाख १६ गतेदेखि शुरु भएर निर्वाचनका कारण रोकिएको वार्ता भोलि (मंगलबार) पुन बस्ने भएको नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले जानकारी दिए।
महासंघका अध्यक्ष सिंहले भने, ‘निर्वाचनका कारण लामो समय वार्ता हुन सकेन। भोलि मंगलबारका लागि वार्तामा बोलाइएको छ । भोलि फस्ट आवरमै वार्ता हुने कुरा छ।’
पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि समायोजन, म्याद थप, सार्वजनिक खरिद नियमावलीको ११ औं संशोधनका त्रुटि सच्याउनुपर्ने लगायत व्यवसायीका मागका विषयमा गत वैशाख १६ गतेदेखि सरकार र महासंघबीच वार्ता जारी छ। महासंघले पटक पटक आफ्ना मागहरु राख्दै आएपनि सरकारले वेवास्ता गरेपछि गत वैशाख ८ गतेदेखि आन्दोलन सुरु गरेको थियो।
सार्वजनिक खरिद अनुगमन कार्यालयमा दैनिक धर्ना दिइरहेको महासंघले वैशाख ११ देखि ‘निर्माण होलिडे’ घोषणा गरेर देशभरका अतिआवश्यक बाहेक सम्पूर्ण निर्माण कार्य रोकेको छ। सरकार आफूहरुको मागप्रति संवेदशीन नभएको भन्दै महासंघले प्रधानमन्त्री निवास अगाडी धर्ना दिने घोषणा गरेसँगै सरकारले वार्ताका लागि बोलाएको थियो। वार्ता सुरु भएसँगै धर्नाका कार्यक्रम रोकेको महासंघले ‘निर्माण होलिडे’ खुलाएर काम गर्न भने थालेको छैन।
वार्ताका लागि बोलाएको सरकारले निष्कर्ष निकाल्न भने आलटाल गरेको देखिन्छ। १६ गतेपछि २२ र २३ गते पुन दुई पक्षबीच बैठक भएको थियो। तर उक्त तीन वटै बैठकबाट कुनै पनि निष्कर्ष निस्किएको थिएन। त्यसपछि निर्वाचनको बाहानामा न वार्ता नै अघि बढ्यो न त महासंघले निर्माण होलिडे फिर्ता गरेर काम नै सुरु गर्यो। यतिबेला सरकार र महासंघबीचको आलटालका कारण देशभरका ५ हजारभन्दा बढी निर्माणाधीन आयोजना अलपत्र परेका छन्।
महासंघका अध्यक्ष रवि सिंहले माग पूरा नभएसम्म निर्माण होलिडे फिर्ता लिन नसक्ने अडान राख्दै आएका छन्। इन्धनको मूल्य अझ थेग्नै नसक्ने गरी बढिरहेको भन्दै उनले अब झन काम गर्न सक्ने कुनै पनि सम्भावना बाँकी नरहेको बताए। उनले भने, ‘मूल्यवृद्धि झन बढिरहेको छ यस्तो अवस्थामा निर्माणको गति सामान्य अवस्थामा आउने सम्भावना छैन। मौसम पनि प्रतिकूल छ अहिले नै मनसुन सुरु भएको देखिन्छ। व्यवसायीलाई अझ ठूलो समस्या खडा भएको छ।’
उनले निर्माण होलिडे फिर्ता हुने कुरा वार्ताबाट मात्र निक्र्यौल हुने बताए। वार्ताबाट व्यवसायी अनुकुल निर्णय नभए अन्दोलनका अझ शसक्त कार्यक्रम अघि बढाउने अध्यक्ष सिंहले चेतावनी समेत दिए। उनले भने, ‘माग पूरा नभए निर्माण होलिडे भन्दा अझ शसक्त आन्दोलनका कार्यक्रम अघि बढाउँछौँ। अहिले अतिआवश्यक काम गरिरहेका छौँ। त्यो पनि रोक्न सक्छौँ। घेराउ र धर्नाका कार्यक्रमहरु देशभर अघि बढाउने छौँ।’