भैरहवा। गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै बौद्ध धर्मालम्बीहरुका लागि केन्द्रका रुपमा विकास हुने निजी क्षेत्रले अपेक्षा गरेको छ।
यसको लागि बौद्ध धर्मालम्वीहरु रहेका देशमा भैरहवाबाट सिधा उडान भर्नु पर्नेमा निजी क्षेत्रले जोड दिएको छ। आगामी दिनमा प्रचार प्रसार हवाई सञ्जालको विस्तार गर्नसके बुद्धको जन्मभूमि लुम्बीनी बौद्ध धर्मालम्वीहरुको केन्द्रका रुपमा विकास हुने निजी क्षेत्रले जनाएको छ।
विमानस्थल सञ्चालनमा आएसँगै नेपालमा पर्यटकको आवागमनका लागि थप एक ढोका खुलेकाले गौतम बुद्धको जन्म स्थल लुम्बीनीको ब्रान्डिङ गर्नसके बौद्ध धर्मालम्बीका लागि केन्द्रका रुपमा विकास गर्न सकिने नेपाल उद्योग बाणिज्य महासघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले बताए। उनले भने, “विश्वमा आधा अर्ब भन्दा बढी जनसंख्या बौद्ध धर्मका अनुयायीहरु रहेका छन्। हामीले बौद्ध धर्मालम्बीका अनुयायी भएका देशमा सिधा हवाई सञ्जाल विस्तार गर्न सके लुम्बीनी विश्वका बैद्ध धर्मालम्बीहरुको हबको रुपका विकास हुन सक्छ।” वल्ड पपुलेसन् रिभ्यूका अनुसार सन् २०२२ सम्म कुल जनसंख्याको ६।६ प्रतिशत अर्थात ५० करोड ६० लाख विश्वमा बौद्ध धर्मालम्बीका अनुयायी रहेको तथ्यांक छ।
सोमबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बुद्ध जन्मस्थल लुम्बिनी भ्रमणले यहाँको धार्मिक तथा सांस्कृतिक पर्यटन प्रवद्र्धनमा विश्व मञ्चमा प्रचार प्रसार भएको होटल संघ नेपालको क्षेत्रीय सिद्धार्थ होटल संघ नेपाल (सान) अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठले बताए। उनले भने, “बुद्ध पूर्णिमाको दिन भारतीय प्रधानमन्त्री बुद्ध जन्मस्थल लुम्बिनीमा आउनु र यसले विश्वभर सन्देश प्रवाह भएको छ, यसले लुम्बीनी अबका दिनमा बौद्ध धर्मालम्बीहरुको केन्द्रका रुपमा विकास हुने छ।”
हवाई सञ्जालको विस्तार र नेपाल र भारतको बौद्ध क्षेत्र तथा सम्पदाहरुको एकिकृत प्याकेज बनाएर विकास, प्रवद्र्धन, प्रचारप्रसार गर्ने श्रेष्ठको भनाइ छ। संघ अन्तरर्गत भैरहवामा आसपासमा ठूला साना गरी १४६ होटलमा २० अर्ब लगानी रहेको छ भने थप १५ अर्ब होटलमा लगानी थपिने क्रममा रहेको छ। सन् २०१७ मा यस अवधिमा १ लाख ६० हजार ८ सय ३२ जना पर्यटक नेपाल भ्रमणमा आएका थिए भने सन् २०१८ मा कुल २ लाख ४ सय ८३ भारतीय पर्यटकले भ्रमण गरेका थिए। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुुसार सन् २०१९मा २ लाख भारतीय, तेश्रो मुलकबाट १ लाख ७३ हजारले लुम्बीनी भ्रमण गरेका छन्। वार्षिक १५ लाख नेपालीले लुम्बीनीको भ्रमण गर्ने गरेका छन्। सन् २०२० मा ४० हजार, सन् २०२१ मा ६४ हजारले नेपाल भ्रमण गरेका थिए। सन् २०२२ को पछिल्लो चार महिनामा भने साढे ४७ हजार भारतीय पर्यटकले नेपालको भ्रमण गरेको तथ्यांक छ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको व्यावसायिक उडान गर्नको सुरुवात भएको बताए। एसियाली विकास बैंक र नेपाल सरकारको गरी कुल ४० अर्ब रुपैयाँको लगानीमा निर्माण भएको सो विमानस्थल धार्मिक पर्यटकको लागि महत्वपूर्ण रहेको छ। जसमध्ये एडिबीले १२/७५ मिलियन सहुलियत तथा ४२.७५ प्रतिशत ऋण सहयोग गरेको हो। विमानस्थल निर्माणमा ओपेकले समेत १५ मिलियन सहयोग गरेको छ। सन् २०१४ मा सुरु भएको सो विमानस्थल सन् २०१७ को अन्त्यमा निर्माण समापन हुनु पर्ने भएपनि विभिन्न कारणले गर्दा ५ वर्ष ढिला सञ्चालनमा आएको हो। एसियाली विकास बैंक तथा ओपेक (इन्धन निर्यात गर्नेदेशहरुको संस्था) द्वारा लगानी गरिएका विमानस्थल ३ वर्षभित्रै निर्माण गर्ने लक्ष्य राखिएको थियो।
सोमबार भैरहवामा प्रधानमन्त्री शेरवहादुर देउवाले गौतमबुद्ध विमानस्थलको औपचारिक उद्घाटन गरेसँगै दोश्रो अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको हो। कुबेत सिटीको लागि भौरहवाबाट जजिरा एयरवेजले विमान एयरबस–३२० निओले सोमबार बिहान ७ बजेर ८ मिनेटमा अवतरण गरेको थियो भने भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको धावन मार्ग हुर्दै सो जजिरा एयरले कुबेतको लागि उडान भरेको थियो।
उद्घाटन समारोहलाइ सम्बोधन गर्र्दै प्रधानमन्त्री देउवाले गौतमबुद्ध विमानस्थले सञ्चालनमा आएसँगै शान्तिका अग्रदूत गौतम बुद्धको पावन जन्मस्थललाई विश्वभर थप परिचत गराउन र यस क्षेत्रमा धार्मिक तथा संस्कृतिक पर्यटक प्रवद्र्धन गर्न ठोस सहयोग पुग्ने बताए। प्रधानमन्त्री देउवाले भने, “विमानस्थलको सञ्चालन र विस्तारले देशको अर्थतन्त्र विकासमा सकरात्मक योग्दान पुग्ने छ।”
७३ वर्ष पछि नेपालमा दोश्रो अन्तर्राष्ट्रिय विमानस्थल गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल व्यावसायिक रुपमा सञ्चालनमा आएको हो। योसँगै भैरहवावाट तेश्रो देशसँग सिधा हवाई उडानको सञ्चाल विस्तार भएको छ। सन् १९४९ मा पहिलो अन्तर्राष्ट्रिय विमानस्थलका रुपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको थियो।
आजको कारोबार दैनिकबाट