काठमाडौं। निर्माण कार्यका लागि प्रयोग हुने डण्डीको मूल्यमा १५ प्रतिशतसम्म वृद्धि हुने भएको छ।
भारतले निर्यात गर्ने फलाम तथा फलामजन्य कच्चा पदार्थमा १५ देखि ५० प्रतिशतसम्म भन्सार मूल्यमा वृद्धि गरेको छ। जसले गर्दा नेपालमा डण्डी उत्पादनका लागि आउने कच्चा पदार्थमा थप भएको १५ प्रतिशत करका कारण हाल १०४–१०६ रुपैयाँ रहेको डण्डीको मूल्य केही दिनमा बढेर करिब १२० पुग्ने भएको हो।
नेपाल फलामजन्य कच्चा पदार्थका लागि पूर्ण रुपमा भारतमा निर्भर रहँदै आएको छ। त्यसैले भारतले भन्सार मूल्यमा वृद्धि गरेसँगै सोही अनुसार नेपालमा पनि डण्डीको मूल्यमा वृद्धि हुने भएको हो।
नेपालमा डण्डी उत्पादक कम्पनीहरुले आफूसँग रहेको संचित कच्चा पदार्थ रहेसम्म पुरानै मूल्यमा डण्डी बिक्री गर्न सक्ने भएपनि अब खरिद गरिने कच्चा पदार्थबाट उत्पादीत डण्डीको मूल्यमा भने वृद्धि गर्नेछन्।
विश्वमा फलाम तथा फलामजन्य कच्चा पदार्थ निर्यातमा ठूलो हिस्सा ओगट्ने भारतले निर्यातमा कर बढाएसँगै खरिदकर्ताले तेस्रो मुलुकबाट सस्तो मूल्यमा फलाम र फलामजन्य पदार्थ खरिद गर्ने सम्भवना पनि बढेको छ।
भारतले कच्चा पदार्थ निर्यातमा भन्सार बढाउनुको कारण कच्चा पदार्थ निर्यातमा कडाइ गरेर देशभित्रै उत्पादन वृद्धि गर्ने र उत्पादीत सामाग्री मात्र निर्यात गरी आम्दानीमा वृद्धि गर्ने नीति लिएको बुझिएको छ।
भारत सरकारको यस्तो निर्णयप्रति कच्चा पदार्थ निर्यातकर्ताहरुले भने विरोध गरिरहेका छन्। नेपाल भूपरिवेष्ठत राष्ट र भारतसँग बढी निर्भर रहने राष्ट्र भएकाले नेपाललाई तेस्रो मुलुकबाट कच्चा पदार्थ आयात गर्न भने समस्या छ।
यति बेला नेपालमा निर्माण सामाग्रीमा भएको मूल्यवृद्धिका कारण निर्माण व्यवसायीहरु ‘निर्माण होलिडे’ घोषणा गरी देशभरका निर्माण कार्य रोकेर बसेका छन्। मूल्य समायोजन नगरेसम्म काम नगर्ने अडान लिइरहेका व्यवसायीहरु डण्डीमा हुने मूल्यवृद्धिले थप मारमा पर्ने देखिन्छ।