म्याग्दी। म्याग्दीको सदरमुकाम बेनीस्थित कालीगण्डकी नदीको कटान रोक्न अस्थायी संरचना निर्माण गर्न थालिएको छ। नदीको जोखिमयुक्त तटीय क्षेत्रमा बेनी नगरपालिकाको पहलमा रुपाताल एकीकृत विकास संरक्षण विकास परियोजनाले अस्थायी संरचना बनाउन सुरु गरेको हो।
विसं २०७८ असार १ गते कालीगण्डकीमा आएको बाढीले कटान गरेर ग्यावियन पर्खाल भत्काउँदा जोखिमयुक्त बनाएको क्षेत्रमा संरचना बनाउन थालिएको हो।
कटान जोखिममा रहेको कालीगण्डकी नदी किनारमा ठूला ढुंगा थुपारेर ‘बोलर स्किङ’ बनाउन थालेका बेनी –७ का वडाध्यक्ष रमेशकुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार बर्खायाम सुरु भएको र कालीगण्डकीमा पानीको सतह बढ्न थालेकाले तत्काल स्थायी संरचना बनाउन सम्भव नभएपछि आउँदो बर्खामा थप क्षति हुन नदिन बोलर स्किङ बनाउन पहल गरिएको हो।
नगरपालिकाले उपलब्ध गराएको ठूला ढुंगा परियोजनाका ठेकेदारले कटान गरेको ठाउँमा लगेर बजारतर्फ बाढी पस्न नदिने संरचना बनाउन थालेका हुन् ।
बाढीले करिब १६० मिटर दूरीमा भत्काएको तटबन्धन मर्मत र पुनर्निर्माण सुरु नहुँदा बाढीले थप कटान गरेर बजारमा क्षति हुने जोखिम बढाएको थियो। रुपाताल संरक्षण एकीकृत विकास परियोजना पोखराले गत माघ तेस्रो सातादेखि बेनीस्थित कालीगण्डकी र म्याग्दी नदी किनारमा तटबन्धन सुरु गरेको थियो । कालीगण्डकीको डाइभर्सन गराउन विवाद भएको र पानीको सतह बढिसकेकाले संगमचोक पछाडिको कालीगण्डकी किनारमा तत्काल पक्की संरचना बनाउन जोखिम देखिएकाले बर्खाको बाढी रोक्न अस्थायी संरचना बनाउन थालिएको निर्माण कम्पनीका प्रतिनिधि राजकुमार श्रेष्ठले बताए ।
२२ महिनामा सम्पन्न गर्ने लक्ष्यसहित गत पुस तेस्रो साता ९ करोड ४५ लाख रुपैयाँमा रौताह–बिएनबी कन्ट्रक्सनले ठेक्का सम्झौता गरेको थियो । कालीपुलमा ८० मिटर पक्की र मंगलाघाटस्थित म्याग्दी नदी किनारमा ४६ मिटर कम्पोटिल पर्खाल निर्माण गर्ने काम अन्तिम चरणमा पुगे पनि जेसिज भवन क्षेत्रको कालीगण्डकी किनारमा काम हुन सकेको थिएन ।
सो क्षेत्रमा १६८ मिटर आरसिसी पर्खाल निर्माण गर्ने सम्झौता भए पनि कालीगण्डकी नदी डाइभर्सन गराउने विषयमा पर्वत–बेनी र म्याग्दी–बेनीको विवाद सुल्झाउन ढिलाइ भएपछि निर्माण कम्पनीले कालीपुल र मंगलाघाट क्षेत्रमा काम गरेका थिए ।