काठमाडौं। सामुदायीक वनको रकम हिनामिना भएछि पाँच जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ। मोरङको मिक्लुङ सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारीले वनको रकम हिनामिना गरी भ्रष्टाचार गरेको दाबीसहित भ्रष्टाचारको मुद्दा दायर भएको हो।
मिक्लुङ सामुदायिक वन उपभोक्ता समूहका तत्कालीन अध्यक्ष सन्तोषकुमार लावती, सचिव देविन्द्र कार्की, कोषाध्यक्ष भिमा लम्साल ढकाल, आपूर्ति संयोजक रामप्रसाद पौडेल र उक्त कामको लेखा परीक्षण गर्ने सिबि बस्नेत एण्ड एसोसिएट्सका प्रोपाइटर चन्द्रबहादुर बस्नेतलाई विपक्षी बनाई भ्रष्टाचारको मुद्दा दायर गरिएको हो।
उनीहरुविरुद्ध २८ लाख ८० हजार ५९६ रुपैयाँ बराबरको बिगो र जरिवाना मागदाबी लिँदै अख्तियारले विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको हो। बुधबार अख्तियारले उपभोक्ता समितिका तत्कालीन अध्यक्ष, सचिव, कोषाध्यक्ष, आपूर्ति संयोजक र लेखा परीक्षक समेतलाई भ्रष्टाचारको मुद्दा दायर गरेको हो।
अख्तियारको अभियोगपत्रमा तत्कालीन अध्यक्ष सन्तोषकुमार लावतीले ९ लाख ७७ हजार ३४९ रुपैयाँ, तत्कालीन सचिव देविन्द्र कार्कीले ८ लाख १६ हजार ७४९ रुपैयाँ, तत्कालीन कोषाध्यक्ष भिमा लम्साल ढकालले ७ लाख २ हजार ३४९ रुपैयाँ र तत्कालीन आपूर्ति संयोजक रामप्रसाद पौडेलले ३ लाख ८४ हजार १४९ रुपैयाँ भ्रष्टाचार गरेको दाबी लिइएको छ।
मिक्लुङ सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारीले फर्जी बिल भरपाई पेश गरी वन कार्यालयको कुनै पनि निकायहरुसँग समन्वय नगरी आफूलाई लाभ हुने र समूहलाई हानी पुराउने गरी काम गरेको अभियोग लगाइएको अख्तियारले जनाएको छ।
समूहका तत्कालीन पदाधिकारीहरुले आफूखुसी मुल्य अवमूल्यन गर्ने, काठ निशुल्क बाँड्ने तथा सालको काठलाई कुकाठ वा दाउराको रुपमा मूल्याङ्कन गर्ने, परिमाण घटाई बिक्री वितरण गर्ने जस्ता कार्य गरेको र सोबाट २८ लाख ८० हजार ५९६ रुपैयाँ हानी नोक्सानी तुल्याएको अभियोग लगाई सोही रकम बमोजिमको बिगो र जरिवानाको मागदाबी गरिएको छ।