काठमाडौं। एनसेलले पुल्चोक क्याम्पसका सर्वोत्कृष्ट १८ जनालाई छात्रवृत्ति प्रदान गरेको छ।
एनसेलले व्यावसायिक सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोक क्याम्पसको पाँच संकायमा अध्ययन गरिरहेका उत्कृष्ट विद्यार्थीहरुलाई एनसेल छात्रवृत्ति तथा उत्कृष्टता सम्मान २०७८ प्रदान गरेको हो।
एनसेलको मुख्य कार्यालय लैनचौरमा आयोजित एक विशेष कार्यक्रमबीच विद्यार्थीका अभिभावक, इन्जिनियरिङ अध्ययन संस्थानका प्राध्यापकको उपस्थितीमा उक्त छात्रवृत्ति तथा उत्कृष्टता सम्मान प्रदान गरिएको हो।
२०७१ सालबाट सुरु गरिएको एनसेल छात्रवृत्ति तथा उत्कृष्टता सम्मान कार्यक्रमले प्राविधिक शिक्षालाई प्रोत्साहन गर्दै युवा प्रतिभाहरुको पहिचान र उनीहरुको शैक्षिक उत्कृष्टताको कदर गर्ने उदेश्य राखेको एनसेलले जनाएको छ।
यस कार्यक्रमअन्तर्गत सिभिल, इलेक्ट्रिकल, इलेक्ट्रोनिक्स् एन्ड कम्युनिकेसन, कम्प्युटर र मेकानिकल इन्जिनियरिङ संकायमा अध्ययन गर्ने उत्कृष्ट विद्यार्थीहरुलाई छात्रवृत्ति तथा उत्कृष्टता सम्मान प्रदान गरिने बताइएको छ।
२०७८ का लागि १८ वटा शीर्षक अन्तर्गत सिभिल, इलेक्ट्रिकल, इलेक्ट्रोनिक्स् एन्ड कम्युनिकेशन, कम्प्युटर र मेकानिकल इन्जिनियरिङ संकायका १८ जना विद्यार्थीलाई एनसेल छात्रवृत्ति प्रदान गरिएको बताइएको छ। साथै उत्कृष्ट नतिजा ल्याई यी पाँच संकायबाट स्नातक उत्तीर्ण गरेका ६ जना विद्यार्थीहरुलाई एनसेल उत्कृष्टता सम्मान प्रदान गरिएको हो।