धनगढी। विभिन्न ठाउँमा विवाद रहेका कारण सुस्त गतिमा निर्माण भइरहेको धनगढीका सडकहरूको समस्या समाधान गर्ने धनगढी उपमहानगरपालिकाले निर्णय गरेको छ। नवनिर्वाचित नगरप्रमुख गोपाल हमालको अध्यक्षतामा मंगलबार बसेका बैठकले विवाद रहेको क्षेत्रबाट सरोकारवालालाई बोलाएर छलफल गरी समस्या समाधान गर्ने निर्णय गरेको हो।
आधुनिक सहरी सडक निर्माण कार्यले एक वर्षको अवधिमा लगभग २४ प्रतिशत भौतिक प्रगति हासिल गरेको छ। “क्षेत्रीय सहरी विकास आयोजनाअन्तर्गत निर्माण भइरहेको चटकपुर–क्याम्पस गेट सडकको क्षेत्राधिकारभित्र तीन ठाउँमा (मामा–भान्जा, भवसागर र सिजी कम्प्युटर अगाडि) रहेको विवादलाई समाधान गर्न उक्त क्षेत्रका सरोकारवालाई बोलाई छलफल गरिने छ,” निर्णयमा भनिएको छ, “गुल्म चर्च सडकको क्षेत्राधिकारभित्र दुईमा ठाउँमा रहेको विवाद समाधान गर्न उक्त क्षेत्रका सरोकारवालालाई बोलाई छलफल गर्ने निर्णय गरियो।”
यसैगरी, आयोजनाअन्तर्गत निर्माण भइरहेका सडकमा रहेका विद्युत,
टेलिफोनका पोल र खानेपानीको पाइप व्यवस्थापन तथा विद्युत कटौतीसम्बन्धी समस्या पनि सरोकारवालाको छलफलबाट समाधान गर्ने निर्णय गरेको छ। ती सडक निर्माण गर्दा सडकमा पानी नजम्ने गरी खाल्डाखुल्डी व्यवस्थापन गर्ने र कुनै पनि मानव तथा पशु दुर्घटना नहुने गरी सडक व्यवस्थापन गर्ने निर्णय गरेको छ। चौराहामा रहेको खाल्टो र चौराहा–कैलाली नाला सडकमा रहेका खाल्डाखुल्डी ठेकदार कम्पनीले नै वर्षात् सुरु हुनुभन्दा पहिले पुर्ने निर्णय उपमहमानगरपालिकाले गरेको छ।
२४ महिनामा निर्माण सम्पन्न गरिसक्ने गरी २०७७ असारमा क्षेत्रीय सहरी विकास कार्यक्रमअन्तर्गत धनगढीमा कालिका कन्स्ट्रक्सनले सातवटा सडकको १०।२४ किलोमिटर खण्ड ७६ करोड ६ रुपैयाँमा सम्झौता भएको थियो। सो सम्झौताअनुसार ती सडकको काम आउँदो साउनमा सम्पन्न भइसक्नु पर्छ । तर अझै दुईवटा सडकको निर्माणकार्य थालनी भएको छैन।
सात सडकमध्ये चारवटा सडकमा मात्रै काम सुरु भएको छ। ३.६५ किलोमिटरको चटकपुर–क्याम्पस रोड, ०।७ किलोमिटरको क्याम्पस रोड–जाखोरताल, ०.८७ किलोमिटरको डिभोटी–पिपलचौतारा, १.१५ किलोमिटरको हसनपुर रोड, ०.४३ किलोमिटरको मालपोत रोड बनिरहेको छ तर २।७ किलोमिटरको गुल्म–चर्च रोड, १.३८ किलोमिटरको चौराहा–कैलाली नाला (चार लेन) रोडमा काम सुरु भएको छैन। निर्माण सुरु भएको सडकमा रहेका विद्युत र टोलिफोनको पोल, खानेपानीको पाइप र विभिन्न विवाद समाधानका लागि जनप्रतिनिधिले पहल नगरेका कारण सडक निर्माण ढिला भएको निर्माण कम्पनीले गुनासो गर्दै आएको छ।
कारोबार दैनिकबाट