काठमाडौं। काठमाडौं महानगरपालिकाको मेयरमा बालेन साह र उपमेयरमा सुनिता डंगोल निर्वाचित भएका छन्। स्वतन्त्र उमेदवार बालेनले ६१ हजार ७६७ मत प्राप्त गरी काठमाडौं महानगरको मेयरमा निर्वाचित भएका हुन्।
साहका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी सिर्जना सिंहले ३८ हजार ३४१ मत त्याएकी छन् भने नेकपा एमालेका केशव स्थापितले ३८ हजार ११७ मत प्राप्त गरेका छन्।
उपमेयरमा एमालेकी डंगोलले ६८ हजार ६१२ मत ल्याएर निर्वाचित भएकी छन्। उनको निकटम प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले २३ हजार ८०६ मत प्राप्त गरेका छन्।
यससँगै काठमाडौं महानगर हाँक्ने जिम्मा अब यी दुई युवाको काँधमा आएको छ। काठमाडौं महानगरका स्थायीबासीका लागि मात्र नभएर देशभरका मानिसका लागि आशा, भरोसा र विश्वासका पात्र रहेका निर्वाचित दुवै युवाहरुले अब महानगरलाई कसरी अगाडी बढाउलान भन्ने सबैको चासोको विषय बनिरहेको छ।
धेरै ठूला सपना नबाँढी साना साना व्यवस्थापन र सुधारका कार्यलाई नै आफ्नो मुख्य एजेण्डा बनाएका बालेन र सुनितालाई नगरबासीले चुनेका छन्। ठूला ठूला एजेण्डाको आश्वासन बाँड्ने दलगत नेताहरुलाई नचुनेर यी सामान्य युवालाई नगरबासीले चुन्नुमा अब जनतामा चेतना आइसक्यो बन्ने बुझाउँछ। देश विकासका लागि गफ मात्र गर्नेलाइ भन्दा पनि प्राविधिक रुपमा नै ज्ञान भएका, शिक्षित र काम गर्न सक्ने युवा वर्गलाई जिम्मेवारी दिनुपर्छ भन्ने चेतना आम नागरिकमा आएको आभास गर्न सकिन्छ।
बालेनका योजनाहरु
काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचित बालेन साहले निर्वाचन अघि आफ्ना योजनाहरु सार्वजनिक गरेका थिए। उनले सामान्य विषयहरुलाई मुख्य प्राथमिकता दिएका कारण नै नगरबासीको मन र मत जित्न सफल भएको प्रक्ष्येपण पनि गर्दै आइएको छ। उनको घोषणापत्रमा भौतिक पूर्वाधार अन्तर्गत सडक, ढल लगायतका क्षेत्रको मर्मतका लागि कल सेन्टर मार्फत भौतिक पूर्वाधार एम्बुलेन्स सञ्चालन गर्ने उल्लेख गरिएको छ।
संस्कृतिक महत्वका सम्पदा क्षेत्रको निर्माण तथा पुनर्निर्माणका लागि उपभोक्ता समिति गठन गर्ने, सांस्कृतिक दृष्टिले महत्वपूर्ण स्थानको पुनर्निर्माणका लागि दक्ष जनशक्तिका लागि भक्तपुरसँग सहकार्य गरिने, सबै वडा र टोलस्तरमा सार्वजनिक शौचालयको निर्माण गरिने, बस स्टपहरुमा फाल्चा स्थापना गरिने, फायर बिग्रेड पुग्न नसक्ने साँगुरो गल्लीमा ओभर डेड ट्याङ्कि र हाइड्रन्टहरु स्थापना गरिने बालेनको योजना छ।
त्यसैगरी उनको घोषणापत्रमा भ्रष्टाचार विरोधी ब्यूरोदेखि शिक्षा, स्वास्थ्य, पर्यटन तथा सम्पदाको क्षेत्रमा उल्लेखनीय काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। बालेनले महानगरपालिकाभित्र भ्रष्टाचारविरुद्धको विशेष फोर्स सबै निजी, सार्वजनिक र सरकारी क्षेत्रका लागि तयार पारिने बताएका छन्।
फोहोर व्यवस्थापनका लागि अर्गानिक फोहोरको रुपान्तरणबाट नजिकको कृषि प्रदान नगरपालिकाहरुमा जैविक मल उपलब्ध गराउने बालेनको योजना छ। सबै ढुंगेधारा हिटी पुनः जागित गराउनका लागि पुराना स्रोतहरुलाई पुनर्जीवित गराउने बालेनको प्रतिबद्धता छ।
वडा तहमा खेलकुद मैदान र खेलकुद केन्द्र निर्माण गर्ने, नलसाङ्ककत ४२ देणख ४५ खुल्ला ठाउँहरुलाई तीनीहरुको आकार अनुसार पार्क, खेलकुद मैदान, व्यायाम र दौड गर्ने ठाउँमा रुपान्तरण गर्ने, जन्मदर्ता प्रमाणपत्र, मृत्युदर्ता प्रमाणपत्र, विवाहदर्ता तथा अन्य कागजातहरु, वृद्धा भत्ता लगायतको सेवामा होम डेलिभरीको व्यवस्था गर्ने, सरकारी कार्यालयहरुमा बिहानी सिफ्ट शुरु गर्ने बालेनको योजना छ।
मेयर बालेनका चुनौती
बालेन साहले सर्वसाधारणको समर्थन पाए, नगरबासीको मत पाए तर मत पाउँदैमा र सर्वसाधारणको समर्थन हुँदैमा प्रशासन चलाउन भने सहज हुँदैन। उनका योजना, घोषणा र प्रतिबद्धतालाई पूरा गर्न ठूला ठूला चुनौतीका सामना गर्नुपर्ने हुन्छ।
महागरपालिकाको निर्णयमा मेयरको मत मात्र नभइ विभिन्न दलबाट निर्वाचित जनप्रतिनिधिहरु समाविष्ट समितिमा बहुमत आवश्यक हुन्छ। मेयर आफैँले सबै काम गर्ने र सबै ठाउँमा पुग्ने कुरा सम्भव हुँदैन त्यसैले बालेनले विभिन्न दलका निर्वाचित जनप्रतिनिधिहरुलाई कसरी समेट्छन्, उनीहरुलाई आफ्नो निर्णयमा कसरी सहभागी गराउँछन् भन्ने कुरा महत्वपूर्ण हुने राजनीतिक विशेषज्ञहरु बताउँछन्।
दलहरुसँगको द्वन्द्व पनि बालेनका लागि चुनौती हो। उनीहरुसँग समन्वय गर्न नसक्दा पनि काममा समस्या आउँछ। उपमेयरसँगै विमति हुँदा कतिपय विषयमा निर्णय नै नहुने स्थितिमा पुग्न सक्ने अवस्था पनि आउँछ। यस अघिकै मेयर र उपमेयरबीच पनि द्वन्द्व हुँदा बहुमतले निर्णय गर्ने र अर्कोले त्यसको विपक्षमा सडकमा प्रदर्शन गर्ने वा हस्तक्षेप गर्ने समस्याहरु देखिएका थिए। अहिले त बालेन एक्लै छन् उनलाई आफ्नो निर्णयमा अरुको सहमती लिन नै गाह्रो पर्न सक्छ।
भाषाको मुद्दा, सभ्यता अतिक्रमण, गुठीको विषय, सडक विस्तार र त्यससँग जोडिएको विस्थापनको समस्यासँग जोडिएका मतदाताहरुको अपेक्षालाई बालेनले कसरी सम्बोधन गर्छन भन्ने कुराले पनि प्रभाव पार्न राजनीतिक विश्लेषकहरुको भनाइ छ।
सांङ्गठनिक आधार नभएकाले कुनै कार्यक्रम गर्दा मानिसको समर्थन पाउनु र सहभागी गराउनु उनका लागि चुनौतीपूर्ण हुने छ। बालेनलाई अन्य जनप्रतिनिधिहरुको समर्थन पाउन त चुनौती छ नै भर्चुअल समर्थन जोगाइराख्न पनि उत्तिकै समस्या देखिन्छ। बालेनले मेयरका रुपमा उमेदवारी दिँदै गर्दा नै आफ्नो प्रमुख प्राथमिकताका रुपमा ‘काठमाडौंलाई बस्न लागयक सहर’ बनाउने योजना बताएका थिए।
अहिले बालेनको पक्षमा यो जनलहर देखिनुको पछि दलप्रतिको वितृष्णा र उनीप्रतिको अपेक्षा धेरै हुनु हो। उनी मेयर भइसकेपछि अब पनि जनताका साना साना समस्या उस्तै रहे, हप्ता दिनसम्म फोहोर उठेन भने मात्र पनि एक महिनामा नै बालेनप्रति नागरिकमा फ्रस्टेसन सुरु हुने विश्लेषकहरु बताउँछन्।
नागरिकहरु बालेनको इञ्जिनियरिङ पृष्ठभूमिका कारण पनि लोभिएका हुन्। तर उनले कस्तो काम गर्छन भन्ने कसैलाई थाहा छैन। मतदाताको अपेक्षा अनुसार उनले काम गर्न सकेभने उनलाई जनसमर्थक सँधै नै प्राप्त भइरहन्छ । उनले कर्मचारी प्रशासन चलाउनेदेखि लिएर विभिन्न राजनीतिकसँग समन्वय गर्नेसम्मका विषयले बालेनको भविष्य निर्धारण गर्ने राजनीतिक विश्लेषकहरुको भनाइ छ।