काठमाडौं। ताप्लेजुङको मैवाखोला हुँदै संखुवासभा, तेह्रथुमको बसन्तपुर जोड्ने सडक मदन भण्डारी राजमार्गलाई हिउँद–बर्खै सञ्चालन गर्नेगरी पहल सुरु गरिएको छ। हिउँद मौसममा मात्र सञ्चालन हुँदै आएको राजमार्गलाई बर्खामा पनि सञ्चालन गर्न पहल सुरु गरिएको हो।
ताप्लेजुङको दोभान–साँघु हुँदै संखुवासभाको गुफा, तेह्रथुमको बसन्तपुरसम्म मदन भण्डारी राजमार्गको ट्रयाक निर्माण भई हाल सडक कच्ची अवस्थामा रहेको छ। हिउँद मौसममा मात्र सञ्चालन हुँदै आएको राजमार्गलाई मैवाखोला गाउँपालिकाले वर्षादको समयमासमेत आवश्यक मर्मत–सम्भारको कार्य गरेर सञ्चालनको तयारी गरेको हो।
मैवाखोला गाउँपालिकाका नवनिर्वाचित पदाधिकारीले सडकको तत्कालीन अवस्थाबारे अनुगमन तथा निरीक्षण गरेको छ। मदन भण्डारी राजमार्गको करिव दुई किलोमिटर दूरीभित्र भत्किएको र खाल्डाखुल्डी भएको सडक मर्मत गरेमा यातायात सञ्चालन गर्न सकिने देखिएको नवनिर्वाचित गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेमले बताए।
गाउँपालिकाका प्राविधिकसहित राजमार्गको अनुगमन गरी सडक सञ्चालनमा ल्याउनलाई पहल सुरु गरेको अध्यक्ष वनेमले बताए। सडक मर्मत सम्भार गरी यातायात सञ्चालनमा ल्याउनका लागि तत्काल गर्नुपर्ने काम, मर्मत खर्च लगायतका विषयमा गाउँपालिकाका इन्जिनियर, प्राविधिक अन्य पदाधिकारीसँग एकचरण छलफलसमेत चलाएको उनले जानकारी दिए।
यस्तै ताप्लेजुङस्थित उत्तर–दक्षिण (मुलघाट–दोभान–ओलाङ्चुङगोला खण्ड) सडक योजनाका प्रमुखसँग पनि परामर्श गरेको गाउँपालिका अध्यक्ष वनेमले बताए। उनले मैवाखोलासहित आठराई त्रिबेणी गाउँपालिका, मेरिङ्देन गाउँपालिका, मिक्वाखोला गाउँपालिका लगायत क्षेत्रका जनताको सुविधालाई दृष्टिगत गरी उक्त सडक सञ्चालनको पहल सुरु गरेको बताए।
हिउँद मौसममा यातायात सुविधा लिनुपर्ने अवस्थाको अन्त्य गर्न र यस क्षेत्रका यात्रु तथा जनतालाई हिउँद–बर्खै (बाह्रै महिना) प्रत्यक्ष यातायात सुविधा कसरी दिलाउन सकिन्छ भन्ने विषयमा आफू निर्वाचित हुनु अघिदेखि नै सोच राख्दै आएको अध्यक्ष वनेमको भनाइ छ। तत्कालका लागि मर्मत सम्भार गरेर बर्षादको समयमा पनि सडक सञ्चालनमा ल्याउने र प्रदेश तथा सङ्घीय सरकारसँग समन्वय गरेर चाँडै ग्राभेल हुँदै कालोपत्रेका लागि प्राथमिकताका साथ आफूले पहल गर्नेसमेत उनले बताए।
मदन भण्डारी राजमार्ग नियमित सञ्चालन भएमा मैवाखोलासहित यसक्षेत्रका चारवटा स्थानीय तह र सदरमुकाम फुङ्लिङबाट समेत प्रदेश १ को राजधानी विराटनगर, इटहरी, धरान लगायत तराईका जिल्ला आउजाउ गर्नलाई धेरै सहज हुनेछ। यस राजमार्गमा हिउँद मौसममा मात्र बस, जिप लगायतका यात्रुबाहक तथा अन्य यातायातका साधन चल्ने गरेका छन्। बर्खा मौसम सुरु भएपछि सबै यातायात सेवा ठप्प हुने गरेको छ।
आजको गोरखा दैनिकबाट