काठमाण्डौं। सगरमाथा लोकमार्गअन्तर्गत उदयपुरको गाईघाटदेखि पहाडी जिल्ला खोटाङको दिक्तेलसम्मको गाईघाट–दिक्तेल सडक खण्ड बन्द गरिएको छ। उक्त सडक खण्ड छ महिनाका लागि बन्द गरिएको हो।
गत मङ्सिरमा सुनकोसी नदीमा जडान गरिएको अस्थायी बेलिबृज दुई दिन अघिमात्रै खोलिएपछि उक्त सडकखण्ड छ महिनाका लागि बन्द भएको हो।
सुनकोसी नदीमा पानीको बहाव बढेसँगै बेलिबृज खोलिएपछि अब छ महिनाका लागि पूर्वी तराईहुँदै गाईघाटदेखि खोटाङ सदरमुकाम दिक्तेलसम्मको सडकमार्गमा यातायात सेवा बन्द हुनपुगेको गाईघाट–दिक्तेल सडक कार्यालय उदयपुर बोक्सेले जनाएको छ।
कार्यालयका अनुसार गाईघाट–दिक्तेल सडकखण्डअन्तर्गत उदयपुरको रौतामाई गाउँपालिका–५ को फोक्सिङटार र खोटाङको खोटेहाङ गाउँपालिका–९ स्थित लिच्की राम्चेबीचको सुनकोसी नदीमा गतसाल मङ्सिरमा जडान गरिएको अस्थायी बेलिबृज बिहीबार खोलिएपछि उक्त सडकखण्डमा सवारी आवागमन बन्द भएको हो।
उक्त स्थानमा रौता रुक्मणि निर्माण कम्पनी प्रालीले बेलिबृज हिउँदका समयमा जडान गर्ने र वर्षायाममा हटाउने ठेक्का लिएको छ। उक्त सडकखण्डमा सम्पूर्ण यातायातका साधन बन्द हुँदा दैनिक खाद्यान्न ढुवानी र उपभोग्य वस्तु आपूर्तिमा जटिल समस्या आएको खोटाङ दिप्रुङ गाउँपालिका भडारेका व्यवसायीले बताए।
खोटाङको दक्षिणी क्षेत्र र तल्लो पूर्वी क्षेत्रका जनताले दैनिक उपभोग्य वस्तु प्रायः विराटनगर, धरान, इटहरी, सप्तरी र उदयपुरको गाईघाटबाट दिक्तेल सडक हुँदै ढुवानी गर्ने गरेका थिए। यस्तै बेलिबृज हटाइएपछि खोटाङ पश्चिम तथा उत्तरी क्षेत्र नागरिकले भने सिद्धिचरण लोकमार्गअन्तर्गत उदयपुरको कटारी, घुर्मी हुँदै ओखलढुङ्गाको हर्कपुर, जयराम घाट, हलेसी हुँदै दैनिक उपभोग्य सामग्री ब्यवस्थापन गर्नुपर्ने बाध्यता रहेको छ।
विसं २०५१ मा तत्कालीन प्रधानमन्त्री मनोमोहन अधिकारीले सगरमाथा लोकमार्गअन्तर्गत १५८ किलोमिटर लामोदूरीको गाईघाट–दिक्तेल सडकखण्डको औपचारिक शिलान्यास गरेका थिए। २७ वर्ष बितिसक्दा पनि उक्त सडकखण्ड निर्माण कार्य सम्पन्न हुन सकेको छैन। साथै २०६७ मा सुनकोसी नदीमा निर्माण सुरु गरिएको पक्की पुल ११ बर्ष बितिसक्दा पछि ४० प्रतिशत काम सम्पन्न हुन सकेको छैन।