काठमाडौं। उपराष्ट्रपति नन्दबहादुर पुनले समृद्ध नेपाल निर्माणका लागि पुनः एकपटक राष्ट्रिय एकता प्रदर्शन गर्नुपर्ने बताएका छन्। गणतन्त्र दिवस–२०७९ का अवसरमा आज शुभकामना दिँदै उनले भौगोलिक अखण्डता, सार्वभौमिकता, स्वाधीनता, राष्ट्रियता र राष्ट्रिय एकतालाई अझै सुदृढ गर्दै लैजानुपर्ने बताएका हुन्।
गणतन्त्र प्राप्तिका सबै दल एकताबद्ध भएर सङ्घर्षमा उत्रिएको उल्लेख गर्दै उनले गणतन्त्रलाई समृद्ध बनाउन पनि एकताबद्ध भएर लाग्नुपर्ने बताए। गणतन्त्रलाई समृद्ध बनाउन आजको दिनले सबैलाई प्रेरणा दिने उनको विश्वास छ।
गणतन्त्र प्राप्तिका लागि विभिन्न कालखण्डमा भएका जनआन्दोलन, सशस्त्र सङ्घर्ष, जनयुद्ध र ऐतिहासिक जनआन्दोलनमा बलिदानी दिने सहिदप्रति श्रद्धाञ्जलि अर्पण गर्दै उपराष्ट्रपतिले घाइते योद्धाको स्वास्थ्यलाभको कामनासहित उनीहरूको योगदानप्रति उच्च सम्मान व्यक्त गरे। उनले गणतन्त्र प्राप्तिको सङ्घर्षका क्रममा बेपत्ता भएकाप्रति सम्मान व्यक्त गरे।
गणतन्त्र प्रारम्भको १४ वर्षलाई नियाल्दा राजनीतिक तहमा ठूला–ठूला उथलपुथल भएको उल्लेख गर्दै उनले फलस्वरुप सङ्घीयता, धर्मनिरपेक्षता, सामाजिक न्यायसहितका समानुपातिक समावेशी शासन व्यवस्थालाई संस्थागत गरेको संविधान बनेको जानकारी दिए।
राजनीतिक परिवर्तनले जनताको दैनिक जीवन र राष्ट्रको समृद्धिमा सकारात्मक प्रभाव नपारेसम्म परिवर्तनको संस्थागत र दिगोपनामा चुनौती रहिरहने भन्दै उनले दलीय र व्यक्तिगत स्वार्थभन्दा माथि उठेर सहमति, सहकार्य र राष्ट्रिय एकताका साथ अगाडि बढ्न आग्रह गरे।