काठमाडौं। दैलेख जिल्लामा एक दर्जन झोलुङ्गे पुल निर्माण अन्तिम चरणमा पुगेका छन्। दुल्लु नगरपालिका र ठाँटिकाँध गाउँपालिका बाहेक अन्य नौ स्थानीय तहका १२ स्थानमा झोलुङ्गे पुल निर्माण अन्तिम चरणमा पुगेका हुन्।
दुर्गम बस्ती जोड्ने झोलुङ्गे पुल निर्माणपछि स्थानीयलाई आवत–जावतमा सुविधा पुग्ने छ।
पूर्वाधार विकास कार्यालय दैलेखले प्रदेश सरकारबाट १२ वटा पुल निर्माणका लागि दुई करोड पाँच लाख बजेट गत साउनमै निकासा भए पनि काम ढिलो गरी सुरु भएको बताएको छ। एउटा पुल निर्माणका लागि २५ लाखदेखि ८० लाखसम्म बजेट आएको र त्यहीअनुसार टेन्डर प्रकाशन गरी काम सुरु गरेको जनाईएको छ।
कार्यालयसँग सम्झौता भए लगत्तै झोलुङ्गे पुलको डिजाइन स्टिमेट, उपभोक्ता समिति निर्माण, उपभोक्ता समितिलाई आवश्यक तालिम दिइएको थियो।
दैलेखमा आठबिस नगरपालिकाका–५ खिड्कीजउला झोलुङ्गे पुल, चामुण्डाबिन्द्रासैनी नगरपालिका र भैरवी गाउँपालिका जोड्ने गडाजिउला झोलुङ्गे पुल, ठाँटिकाँध गाउँपालिकाको–२ र ४ जोड्ने मझेलैना झोलुङ्गे पुल, महाबु गाउँपालिका–३ र भैरवी गाउँपालिका–४ जोड्ने बाँदरखड्के झोलुङ्गे पुल, भगवतीमाई गाउँपालिका–२ र ३ जोड्ने रुम मेहेल्तोली झोलुङ्गे पुल, नौमूले गाउँपालिका–४ मा माओखोला झोलुङ्गे ट्रस पुल र गाउँपालिका ६–७ जोड्ने बक्रखोला झोलुङ्गे पुल, डुङ्गेश्वर गाउँपालिका–३ मा निर्माणाधीन हनेटा झोलुङ्गे पुल, गुराँस गाउँपालिका–७ उगाडखोला झोलुङ्गे पुल, भगवतीमाई गाउँपालिका–५ मा रहेको मलुका झोलुङ्गे पुल र हाडीखोला झोलुङ्गे पुल गरी १२ वटा पुल निर्माण हुँदैछन्।