काठमाण्डौं। पश्चिम म्याग्दीको मालिका गाउँपालिका–२ रुमस्थित पर्यटकीयस्थल दुरुलेकमा पर्यटकीय पूर्वाधार निर्माणपछि आन्तरिक पर्यटकको आगमनमा वृद्धि भएको छ। गण्डकी प्रदेश सरकार र मालिका गाउँपालिकाको गरी करिब ३० लाखको लागतमा पदमार्ग, सत्तल, मन्दिरलगायत पर्यटकीय पूर्वाधार निर्माण भएपछि दुरुलेक पर्यटकीय गन्तव्य बनेको हो।
बागलुङ र म्याग्दीका आन्तरिक पर्यटक यस क्षेत्रको भ्रमणमा आउन थालेका हुन्। गण्डकी प्रदेश सरकारको थप १० लाख बजेटबाट पर्यटक बस्ने घर निर्माण गरिएपछि बाह्य पर्यटकको आगमन पनि बढ्न थालेको छ।
प्राकृतिक, जैविक, ऐतिहासिक र धार्मिकस्थलको रुपमा दुरुलेक महत्वपुर्ण रहेको स्थानीय बताउछन। दुरुलेकमा लालीगुरासँको घनाजङ्गल, दर्जनौँ हिमालको दृष्य तथा म्याग्दी बागलुङलगायत जिल्लाका ग्रामीण बस्तीका डाडाँकाडा हेरेर रमाउन पर्यटक आउने गरेका छन्।
प्राकृतिक दृष्यसँग रमाउन आउने पर्यटकलाई दुरुलेकदेखि झण्डी डिलसम्म पुग्ने पदमार्ग र चौतारी निर्माणले सहज भएको छ। पर्यटकलाई मठ्ठा चढाउने भीरले पनि थप आकर्षित गरेको छ। वसन्त ऋतुसँगै लालीगुराँस फुल्ने हुँदा पर्यटक दुरुलेक पुग्छन्।
सदरमुकामदेखि मालिका गाउँपालिकाको केन्द्र दरवाङ हुँदै अधिभारा, फूलबारी, डाडाँगाउँ, निस्कोट, रुम जैम, घाङ्लेपानीसम्म सवारीसाधनमा यहाँ पुग्न सकिन्छ।