काठमाडौं। लमजुङको मध्य नेपालमा टिपर दुर्घटनाबाट चार जनाको मृत्यु भएको छ। मध्यपहाडी राजमार्ग आयोजनामा प्रयोग भएको टिपर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको हो।
मृत्यु हुनेमा गोरखा नगरपालिका १२ बस्ने वर्ष २४ का वर्षीय रविन्द्र सेढाई, सोही टिपरका चालक अन्दाजी २७ वर्षीय आकाश भन्ने विनोद घिमिरे, तनहुँ व्यास नगरपालिका ७ कलेस्ती बस्ने अन्दाजी वर्ष ४५ का उत्तम न्यौपाने र सल्यान कुमाख गाउँपालिका बस्ने अन्दाजी वर्ष २२ का पारस शाह रहेका छन् ।
मध्यनेपाल नगरपालिका वडा नम्वर ७ कोईलेनी भन्ने स्थानमा बा ४ ख ७७८१ नम्बरको टिपर आइतबार साढे ३ बजे दुर्घटनामा परेको हो । दुर्घटनामा परि टिपर चालक सहित चार जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ।
उक्त टिपर मध्यनेपाल नगरपालिका ७ कल्याण बेसीबाट बतासे चोकतर्फ ढुङ्गा लोड गरी जाँदै गरेको अवस्थामा सडकबाट करिब ३० मिटर तल खसेको हो । मध्य पहाडी लोकमार्ग अन्तर्गत भोर्लेटार सडक खण्डमा काम गर्दै आएको काष्ठमण्डप कन्स्ट्रक्सन प्रालिको टिपर दुर्घटना भएको हो । सडक उकालो कच्ची साँघुरो सडकमा टिपर ब्याक भएर तल खसेको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।
महँगीले थलिएका निर्माण व्यवसायीले विभिन्न समस्याको बाबजुद निर्माण कार्यलाई निरन्तरता दिँदै गर्दा हुने यस्ता अप्रिय घटनाले निर्माण व्यवसायीलाई थप मर्कामा पार्ने गरेको छ। यस्ता अकल्पनीय घटनामा मृतकका परिवारलाई उचित क्षतिपूर्तिसहित निर्माण व्यवसायीलाई समेत बिमा कम्पनी, नेपाल सरकार, स्थानीय सरकार, प्रशासन, सम्बन्धित कार्यालय तथा निकायले साथ र सहयोग गर्नुपर्ने देखिन्छ। साथै भविष्यमा यस्ता घटना हुन नदिन निर्माण व्यवसायी, सम्बन्धित कार्यालय तथा निकायले आवश्यक सावधानी अपनाउन जरुरी छ।