तनहुँ। पाँच वर्षअघि नवलपरासी पूर्व ९नवलपुर० र तनहुँ जोड्नेगरी कालीगण्डकीमाथिको पुल निर्माणमा ढिलाइ भएको छ। नवलपुरको बौदीकाली–३, रकुवा र तनहुँको घिरिङ सुन्धारा–१, जगौली जोड्नेगरी कालीगण्डकी नदीमा बनाउन लागिएको पुल निर्माणको काम अलपत्र परेको हो।
तीन वर्षभित्र निर्माण सम्पन्न गर्नेगरी २०७४ मङ्सिरमा निर्माण सम्झौता भएको पुलको काम १५ प्रतिशत मात्र सम्पन्न भएको छ। पुल निर्माणको ठेक्का लिएको महावीर, गौरीपार्वती, नीलगिरि नेशनल जेभीले समयमै काम नगर्दा पुल निर्माणको काम अलपत्र परेको हो।
पुलका लागि ल्याइएको सामग्री यत्रतत्र छरिएका छन् । छडलगायतका सामग्री खिया लाग्न शुरू गरेको छ। पुल निर्माणस्थलको बौदीकाली–३ रकुवातर्फमा दुई पिल्लरबाहेक कुनै काम हुन सकेको छैन।
पुल निर्माणस्थलमा बेलाबेला १०–१२ जना कामदार ल्याउने र केही काम गर्ने गरेको भए पनि २०७९ वैशाखदेखि निर्माणस्थलमा कामदार आएका छैनन्। वर्षाको समयमा यसै काम नहुने र अहिले काम गर्न मिल्ने समयमा समेत नगरेर अलपत्र पारेको स्थानीयवासीले गुनासो गरेका छन्।
पुल निर्माण २०७७ मंसिरमा सम्पन्न गर्नुपर्ने सम्झौता भएको भए पनि पछि २०७८ चैतभित्र सम्पन्न गर्नेगरी म्याद थप गरिएको थियो। त्यसपछि म्याद थप नभएको पुल योजना सेक्टर नं ४ पोखराका डीई नवराज बाँस्तोलाले बताए। काममा लापरबाही गर्ने र समयमै काम नगर्ने निर्माण कम्पनीलाई सरकारले कारबाही गर्ने भने पनि निर्माण सम्पन्न गर्नुपर्ने समय समाप्त भइसकेकाले यस्ता कम्पनीलाई कारबाही अघि नबढाइएको स्थानीय श्याम पाटाको गुनासो छ।
पुल निर्माणका विषयमा निर्माण कम्पनी महावीर, गौरीपार्वती, नीलगिरि नेशनल जेभीका प्रतिनिधि युवराज डाँगीसँग बुझ्दा निर्माण सामग्रीको मूल्य बढेकाले मूल्य समायोजन नभएसम्म काम गर्न नसकिने बताए। सुपरिवेक्षण गर्ने निकाय पुल योजना क्षेत्र सेक्टर नं ४ का सबइञ्जिनीयर सुशील अधिकारीले हालसम्म काम सम्पन्न भइसक्नुपर्नेमा पटक–पटक निर्माण कार्यलाई तीव्रता दिन निर्देशन दिइरहेको बताए।
उनले भने, ‘सम्झौता अनुसार काम नगरिदिँदा पुल निर्माण १५ प्रतिशत मात्र भएको छ, हामीले ताकेता गरिरहेका छौं।’ कुल रू. २२ करोड ९८ लाखको लागतमा निर्माण शुरू गरिएको पुल २११ मिटर लम्बाइको हुनेछ।