काठमाडौं। नेपाल टेलिकमले आफ्नो एपमा सेवाग्राहीका लागि उपयोगी हुने सुविधा प्रयोग गर्न सकिने गरी अपडेट गरेको छ। नेपाल टेलिकम एपमार्फत सेवाग्राहीले पहिलेदेखि नै विभिन्न सुविधा प्रयोग गर्दै आएकामा अब एफटीटीएच सेवाका लागि आवश्यक पोर्टल थप गरिएको छ भने ‘नमस्ते पे’ मार्फत रिचार्जसमेत गर्न सकिने भएको हो।
त्यसैगरी आफ्नो जानकारी (केवाईसी) अपडेट गर्न, अफलाइन मोडमा पनि विभिन्न सुविधा उपयोग गर्न सकिने विशेषता छन्। यसमार्फत विभिन्न सेवामा रिचार्ज गर्न सकिनेछ।
फाइबर टु द होम अर्थात् एफटीटीएच प्रयोगकर्ताहरुले एपमार्फत एफटीटीएचको सीपीई रि–स्टार्ट गर्न, वाईफाईको एसएसआईडी परिवर्तन गर्न, डाटाको खपत तथा बचतबारे जानकारी लिन र महसुल तिर्न सक्नेछन्। नमस्ते पे सेवा पहिलोपटक एपमा समावेश गरिएको छ।
नेपाल टेलिकम एपमा वैयक्तिक जानकारीहरु अपडेट युजर केवाईसीमार्फत नवीकरण गर्न सकिनेछ। त्यसैगरी डिलरहरुले एमपोससमेत लगइन गर्न सकिनेछ। नेपाल टेलिकमले आफ्नो मोबाइल एप ‘नेपाल टेलिकम’ लाई समय समयमा परिमार्जन गरी सेवाग्राहीका लागि उपयोगी विशेषता थप गर्दै नयाँ रुपमा प्रस्तुत गर्ने गरेको छ। एपमार्फत नेपाल टेलिकमका जीएसएम, सीडीएमए, पीएसटीएन, एडीएसएल, एफटीटीएचलगायत सेवाबारे जानकारी प्राप्त गर्नुको साथै अन्य विभिन्न सुविधा उपभोग गर्न सकिन्छ। त्यसैगरी नेपाल टेलिकमले उपलब्ध गराएका विभिन्न प्याकेजहरु खरिद गर्न र प्याकेजको अवस्थाबारे सहज रूपमा जानकारी प्राप्त गर्न सकिन्छ।
यसका साथै ब्यालेन्स हेर्न, ब्यालेन्स ट्रान्सफर गर्न, विभिन्न सेवामा रिचार्ज गर्न र आफन्त वा साथीलाई विभिन्न प्याकेजहरु उपहारको रुपमा पठाउन सकिन्छ। त्यसैगरी विभिन्न प्रकारका भ्यालु एडेड सर्भिसको प्रयोग गर्न, नेपाल टेलिकमका विभिन्न सेवाहरुमा समस्या आएमा गुनासा टिपाउन र विभिन्न सेवाहरुको बिल तिर्न पनि सकिन्छ। कम्पनीको फेसबुकलगायत सोसल मिडियासमेत यहीँबाट प्रयोग गर्न सकिन्छ। उक्त एपमार्फत कम्पनीले उपलब्ध गराउँदै आएका सम्पूर्ण सेवाहरुको महसुल दरबारे जानकारी लिन पनि सकिन्छ।
टेलिकमका अनुसार यो एपबाट १००, १०१, १०२ जस्ता इमर्जेन्सी नम्बर डायल गरी आवश्यक सेवा लिनुका साथै १९७, १४९८ आदि नम्बरमा डायल गरी कम्पनीका विभिन्न सेवाबारे सोधपुछ गर्न पनि सकिन्छ।
उक्त एपबाट उपलब्ध गराइएका सुविधा उपयोग गर्न सुरुमा गुगल प्ले स्टोर तथा एप्पल एप स्टोरबाट ‘नेपाल टेलिकम’ एप डाउनलोड गर्नुपर्छ। नेपाल टेलिकमको मोबाइल नम्बरमार्फत रजिस्टर गरेपछि एप चलाउन सकिन्छ। पहिलोपटक एप डाउनलोड गर्दा ५ सय एमबी डाटासमेत निःशुल्क प्रयोग गर्न सकिने सुविधा कम्पनीले उपलब्ध गराइरहेको छ।
उक्त एपमा लगइन गर्नासाथ मोबाइलमा भएको ब्यालेन्स रकम तथा नेपाल टेलिकमको प्याकेज खरिद गरेको भए सोबारे जानकारी प्राप्त गर्न सकिन्छ। पछिल्लो अवस्थामा विभिन्न प्रकारका प्याकेज खरिद गरी सेवा उपभोग गर्ने प्रचलन बढ्दै गएकाले विशेष गरी त्यस्ता प्याकेज खरिद कार्य यो एपबाट सहज भएको छ। हाल नेपाल टेलिकम एप प्रयोग गर्ने सेवाग्राहीको संख्या बढ्दै गइरहेको छ।