वीरगञ्ज। पप्पु कन्स्ट्रक्सनसँगको ठेक्का तोड्ने विरुद्ध अदालतले अन्तिरिम आदेश जारी गरेको छ। सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुर रौतहटले गरेको लालबकैया नदीको टिकुलिया पुल निर्माणको सम्झौता तोड्ने निर्णयविरुद्ध अदालतले अन्तरिम आदेश जारी गरेको हो।
पुलको ठेक्का सम्झौता अन्त्य गरेकोविरुद्धमा परेको मुद्दामा उच्च अदालत जनकपुरको वीरगञ्ज अस्थायी इजलासका न्यायाधीश राजेशकुमार काफ्लेको एकल इजलासले सो निर्णय कार्यान्वयन नगर्न नगराउने आदेश दिएको हो।
सडक डिभिजन कार्यालय रौतहटले यही जेठ ९ गतेको निर्णयअनुसार १० गते सम्झौता अन्त्यको सूचना निकालेको थियो। अदालतले उक्त ठेक्का सम्झौता तोड्ने निर्णय र सूचना कार्यान्वयन नगर्न आदेश दिएको छ।
पुल निर्माणको काम समयमा पूरा नगरेको भन्दै पप्पु कन्स्ट्रक्सनसँगको ठेक्का तोडिएको थियो। पप्पु कन्स्ट्रक्सनका सञ्चालक सुमित रौनियार सडकको निर्णयविरुद्ध उत्प्रेषण।परमादेशको माग गर्दै अदालत पुगेका थिए।
आदलतले यही जेठ १७ को आदेशमा निर्माण कम्पनीको मागअनुसार उत्प्रेषण।परमादेश नुहनुपर्ने कारण भए पेश गर्न सडक डिभिजन कार्यालयलाई आदेश दिएको छ। अदालतले सडकसँग १५ दिनभित्र कारण पेश गर्न भनेको छ।
सडक डिभिजन कार्यालयका अनुसार समयमा पुल निर्माण नभएकोबारेमा पटकपटक स्पष्टीकरण सोध्दा जवाफ नदिएकाले ठेक्का तोड्नु परेको हो। निर्माण कम्पनीले सम्झौताअनुसार काम नगरेकाले नियमानुसार नै ठेक्का तोडिएको सडक डिभिजन कार्यालयले जनाएको छ।
तर, पप्पुका सञ्चालकले स्पष्टीकरणको मौका नै नदिइएको दाबी गरेका छन्। स्पष्टीकरण नै नसोधी ठेक्का तोड्नु अन्याय भएको भन्दै उनी अदालत गुहार्न पुगेका थिए।