काठमाडौं। मन्थलीबाट छिमेकी गाउँपालिका लिखु तामाकोसी गाउँपालिकाको केन्द्रसम्मको २७ किलोमिटर सडक पार गर्न तीन घण्टा लाग्छ। कच्ची सडक, जताततै ठुल्ठूला खाल्डाखुल्डी छन्। वर्षात्को समयमा घन्टौँसम्म त्यही खाल्डामा यातायातका साधन भासिन पुग्दा यात्रु समयमा आफ्नो गन्तव्यमा पुग्न सक्दैनन्। सोही सडकमार्ग हुँदै लिखु नदीमा निर्माणाधीन जलविद्युत् आयोजनाका ठुल्ठूला मालवाहक सवारीसाधन गुड्दा सडक क्षतविक्षत बन्न पुगेको हो।
सडकमा जताततै रहेका ठूला खाडल पुर्न न त जलविद्युत् आयोजनाले चासो देखाएको छ, न त सम्बन्धित गाउँपालिकाले नै। सडक मर्मत नहुँदा हिउँदका समयमा पनि साना चारपांग्रे सवारीसाधन गुड्न मुस्किल पर्छ भने मोटरसाइकलचालकले आफ्नो ज्यान नै धरापमा राखेर यात्रा गर्नुपर्ने बाध्यता छ।
गाउँपालिकाले दुई वर्षसम्म लाखौँ रुपैयाँ खर्च गरेर सडक मर्मत गरे पनि जलविद्युत् परियोजनाका ठूला मालवाहक सवारीसाधनले क्षति पुर्याएकाले समस्या भएको लिखु तामाकोसी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन शाहले जानकारी दिए। ‘पालिकाले खर्च गरेर सडक बनाए पनि जलविद्युत् परियोजनाका ठूला सवारीसाधन गुडाउँदा सडक क्षतविक्षत बनेको हो,’ उनले भने।
केही महिनाअघि सडकमा क्षति पुगेको भन्दै गाउँपालिकाले लिखु–४ जलविद्युत् आयोजनास्थलतर्फ जाने सवारीसाधनलाई रोक लगाएको थियो। जिल्ला प्रशासन कार्यालयले जलविद्युत् आयोजनाका सवारीसाधनलाई रोक लगाउन नमिल्ने भन्दै सडकमा निर्बाध ढंगले यातायात सञ्चालन गर्न दिनुपर्ने भन्दै पालिकाको सूचना खारेज गरेको थियो।
जलविद्युत् आयोजनाले निर्माणको काम सम्पन्न गरेर व्यावसायिक रूपमा उत्पादन गर्न सुरु गरिसकेको छ। तर, अझैसम्म पनि आयोजनाले मन्थली–धोवी सडकखण्ड मर्मत नगरेको आरोप गाउँपालिकाले लगाउँदै आएको छ। लिखु गाउँपालिकाको लिखु नदीमा लिखु–३ र लिखु–४ जलविद्युत् परियोजना सञ्चालनमा छन्। जसमा लिखु–४ आयोजनाले काम सम्पन्न गरी विद्युत् उत्पादनको काम सुरु गरिसकेको छ भने लिखु–३ जलविद्युत् आयोजना निर्माणाधीन अवस्थामा रहेको छ।
पालिकाको केन्द्रसम्म पुग्ने सडक जर्जर भएकाले नागरिकले हैरान खेप्नुपरेपछि नवनिर्वाचित पालिकाका प्रमुख केशव महतले सडक कालोपत्रेलाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने बताए। ‘यसअघि पनि हाम्रो पालिकाको मुख्य केन्द्रसम्म पुग्ने सडकलाई प्रदेश र संघीय सरकारले प्राथमिकतामा पारेनन्,’ उनले भने। यसपटक आफूले प्रदेश र संघीय सरकारसँग आवश्यक बजेट माग गर्ने र पालिकामा आएको बजेटसमेत उक्त सडकमा खर्च गरेर बाह्रै महिना चल्न सक्ने बनाउने गरी काम थाल्ने महतको भनाइ छ।
हिउँदको समयमा सवारीसाधन चलाउन केही सहज भए पनि वर्षात्को समयमा भने उक्त सडकमा सवारीसाधन चलाउनै मुस्किल पर्ने गरेको छ। गाउँपालिकाभित्रका खिम्ती–शिवालय–धोवी जोड्ने सडक, दुरागाउँ–सैपु र नागदह खण्डको सडक पनि जर्जर रहेको लिखु तामाकोसी गाउँपालिकाका नागरिक अगुवा आशबहादुर तामाङले जानकारी दिए।
आजको नयाँ पत्रिका दैनिकबाट