व्यक्तिगत घर निर्माणका लागि थुपारिएकाे बालुवा, बालाजु
काठमाडौं। झट्ट हेर्दा कुनै निर्माणाधीन क्षेत्र जस्तो देखिने यी तस्बिरहरू काठमाडौंको रिङ्ग रोडका हुन्। अनि सडक छेउमा राखिएका यी ढुंगा, गिट्टि, बालुवा, माटाे, काठ, निर्माण उपकरण आदि रिङ्ग रोडको मर्मत तथा कुनै पनि सडक सम्बन्धी कामका लागि राखिएका हाेइनन्। बरू मानिसहरूले आफ्नो व्यक्तिगत कामका लागि सडककाे जमिन अतिक्रमण गरिरहेका हुन्।
मानिसहरूले घर, भवन लगायत बनाउन निर्माण सामाग्री पनि यहि सडकमा थुपार्ने गरेका छन् भने घर बनाउँदा निस्किएकाे फाेहाेर र माटाे लगायतका वस्तु पनि सडक छेउमै ल्याएर थुपार्ने गरेकाे देखिन्छ।
रिङ्ग रोडको कुनै एउटा क्षेत्रमा मात्र नभएर यस्तो दृष्य पुरै रिङ्ग रोड भरी देख्न सकिन्छ। मानिसहरुले आफ्नो व्यक्तिगत प्रयोगका लागि निर्माण सामाग्रीदेखि अन्य कार्यमा समेत सडक अतिक्रमण गरेका दृष्य रिङ्ग रोड एक फन्को लगाउने हो भने गनेर सकिँदैन। कतिपय स्थानमा त निर्माण कार्यका लागि सामाग्री तथा कामदार बस्न सडक अतिक्रमण गरेरै टहरा बनाएको पनि देख्न सकिन्छ।
प्रहरी तालिम केन्द्र अगाडिकाे सडकमा थुपारिएकाे घर बनाउँदाकाे माटाे, सामाखुसी
रिङराेडका फुटपाथमा कतै निमार्ण सामाग्री थुपार्नुका साथै उद्योग तथा विभिन्न कम्पनीले सडकलाइ नै पार्किङ बनाएकाे, सामाग्रीहरू प्रदर्शनका लागि सडकमै फिँजाएर राखेकाे पनि देखिन्छ।
फर्निचर उद्योगले सडकमा थुपारेकाे कच्चपदार्थ (काठ), सामाखुसी
बीचमा सडक र फुटपाथमा यसरी व्यक्तिकाे रजाँका कारण सर्वसाधारणलाइ भने समस्या हुनुका साथै शहर समेत कुरूप बन्दै गइरहेकाे छ।
नेता, मन्त्रीहरुको चुनावी एजेण्डादेखि प्रत्येक भाषणका लागि एउटा राम्रो विषय बन्ने गरेको छ, ‘काठमाडौंलाई हराभरा र सुन्दर बनाउँछौँ’ भन्ने भनाइ।
सडक छेउमा राखिएकाे हुम्पाइप
तर काठमाडौंको अति महत्वपूर्ण सडकहरुमा नै यसरी अतिक्रमण भइरहँदा भने कसैको ध्यान गएको देखिन्दैन। अझ रिङ्ग रोडकै अवस्था यस्तो छ भने अन्य साँगुरा, साना सडकमा अतिक्रमण गरी निर्माण सामाग्री राख्नाले दोहोरो गाडी हिँड्न समेत समस्या हुने, जाम पर्ने, दुर्घटना हुने र पैदलयात्रुले त बाटाे खाेज्दै खाेज्दै हिँड्नु पर्ने लगायतका समस्या देखिन्छन्। यसले सडकलाई कुरुप बनाइरहेको छ। पैदल हिँड्ने यात्रुदेखि अपांगता भएका व्यक्तिहरु सबैभन्दा बढी समस्यामा पर्ने गरेका छन्। यसतर्फ सम्बन्धीत निकायको ध्यान नपुग्दा व्यक्तिहरुको मनोमानी झन बढ्दै गएको देखिन्छ।
ट्यांकर पार्किङका लागि फुटपाथकाे प्रयाेग, गंगाहल
व्यक्तिगत भवन निर्माण गर्दा सडककाे जमिनमा टिनकाे बार, सामाखुसी
सडकमा फाेहाेर थुपारेर छान्दै, गंगबु
फार्किङका लागि सडक अतिक्रमण, सामाखुसी