काठमाडौं। कैलालीस्थित हुलाकी सडकखण्ड स्तरोन्नतिको काम सन्तोषजनक नभएको स्थानीयले गुनासो गरेका छन्। काम सुरु भएको २३ महिना पुगिसक्दा पनि ३५ प्रतिशतभन्दा माथि नभएकामा स्थानीयवासीले गुनासो गरेका हुन्।
तीस महिनामा सम्पन्न गर्नुपर्ने सडक ३५ प्रतिशतमात्रै निर्माण भएपछि स्थानीयवासीले समयमै काम सक्नुपर्ने जनाउँदै दबाब दिन थालेका छन्। सडक स्तरोन्नतिमा भइरहेको ढिलाइबारे निर्माण कम्पनीलाई कडाइ गर्न आवश्यक रहेको स्थानीय बताउँछन्। जताततै सडक धुलाम्मे छन्, मानिसलाई आवतजावतमा समेत समस्या छ।
सम्झौता मितिअनुसार काम सम्पन्न गर्न अब सात महिनामात्र बाँकी छ। तीनवटा नयाँ र दुईवटा पुराना खण्ड गरी पाँच खण्डमा विभाजन गरेर काम भइरहेको छ। पुरानो खण्डको काम अन्तिम चरणमा पुगिसकेको भए पनि नयाँ खण्डको भने कामको प्रगति सन्तोषजनक नरहेको हुलाकी राजमार्ग योजना कार्यालय धनगढीले जनाएको छ।
पुराना ठेक्का भएका सडकको काम सन्तोषजनक छ, विसं २०७७ मा भएका नयाँ ठेक्काहरूको प्रगति सन्तोषजनक नभएको कार्यालयले जनाएको छ। योजनाको काम समयमै सम्पन्न नहुँदा स्थानीय नागरिकदेखि निर्माण व्यवसायीलाई समेत घाटा हुने देखिन्छ। त्यस विषयमा आफूहरु पनि सचेत रहेको र निर्माण व्यवसायीलाई पटक–पटक ध्यानाकर्षण गराएको तथा कोरोना महामारीबाहेक अन्य बहानामा काम नगर्ने निर्माण व्यवसायीलाई कारबाही गरिने बताईएको छ।
टीकापुर नगरपालिकाको सत्तीबाट धनगढी उपमहानगरपालिकाको क्याम्पस चोकसम्म १८ किलोमिटरबाहेक ४४ किलोमिटर सडकको स्तरोन्नतिका लागि ३० महिनाभित्र काम सम्पन्न गर्ने गरी स्वच्छन्द जोशी जेभीले काम गरिरहेको छ। स्वच्छन्द जोशी जेभीले रु ९७ करोड ५७ लाखमा २०७७ असारमा हुलाकी राजमार्ग निर्देशनालयसँग ठेक्का सम्झौता गरी काम सुरु गरेको हो। यो सम्झौताअनुसार निर्माण व्यवसायीले २०७९ पुस मसान्तसम्म निर्माण सम्पन्न गरिसक्नु पर्नेछ।
तर निर्माण कम्पनी स्वच्छन्द जोशी जेभीका सञ्चालक भने आफूले ठेक्का सम्झौता गरिसकेपछि कोरोनाका कारण दुईपटक बन्द हुँदा काममा ढिलाइ भएको बताए। काम सम्पन्न गर्न सम्झौता मितिमा एक वर्ष समय थप गर्नुपर्ने आवश्यक छ। हामीले म्याद थपका लागि अनुरोध गरेको निर्माण कम्पनीले जनाएको छ।