जुम्ला। कात्तिक पहिलो साता भएको बेमौसमी वर्षासँगै आएको बाढीपहिरोले जुम्लाको मार्सी धान र दर्जनौ विद्युत् गृहलगायतका क्षेत्रमा ठूलो क्षति भयो। तातोपानी–४, हाँकुस्थित नेत्रज्योति मावि बगर बन्यो। अहिलेसम्म पनि विद्यालयको पुनर्निर्माण हुन सकेको छैन। खुला आकाशमै बालबालिका पढिरहेका छन्।
बाढीले तातोपानीको ५ हेक्टर र तिलाको १३ हेक्टर गरी १८ हेक्टर मार्सीफाँट बगर बनेको छ। पातारासी, गुठीचौर, तातोपानी र तिला गाउँपालिकामा बाढीले विशेष क्षति भएको थियो। अहिले पनि विपद्का आला घाउ जुम्लामा ज्यूँका त्यूँ छन्।
यसरी वर्षासँगै आउने बाढीपहिरोले क्षति गराउने विभिन्न कारणमध्ये पहिलो डोजरे विकासलाई लिइएको छ। स्थानीय सरकार सञ्चालनपछि डोजरे विकासलाई दिएको प्राथमिकताले प्राकृतिक सौन्दर्यता बिग्रिनुका साथै विनाश निम्त्याएको छ।
जुम्लाका आठै पालिकाले पहिलो प्राथमिकता दिएर सडक निर्माण गरेका छन्। जिल्लाका ६० वटै वडामा सडकले छोएको छ। तर, अधिकांश सडक वातावरणीय प्रभाव मूल्यांकनबिनै निर्माण भएको विज्ञहरू बताउँछन्।
पछिल्लो समय जुम्लामा सामान्य वर्षा हुनेबित्तिकै बाढीपहिरो आउने प्रमुख कारणमध्ये डोजरे विकास एक हो। भू तथा जलाधार व्यवस्थापन कार्यालय, जुम्लाका प्रमुख शिखर चपाईंले भने, “कात्तिकमा आएको बाढीको पहिलो कारण डोजरे विकास हो। वातावरण संरक्षणका लागि जलवायु परिवर्तन, वन विनाशलगायतका कारणमध्ये डोजरे विकास मुख्य चुनौती हो । पूर्वाधार विकासमा डोजर प्रयोग गर्नु हुन्न भन्ने होइन। तर, वातावरणीय प्रभाव मूल्यांकनबिना डोजर प्रयोगमा रोक लगाइनुपर्छ ।”
जुम्लाको माथिल्लो तटीय क्षेत्र पातारासी र गुठीचौर क्षेत्रको पूर्वाधार विकासलाई वातावरणमैत्री बनाउन जरुरी छ। माथिल्लो तटीय क्षेत्रको डोजरे विकासले तल्लो तटीय क्षेत्र तातोपानी र तिलामा बाढीले क्षति गरेको अनुसन्धानले देखाएको प्रमुख चपाईंले बताए।
डोजरले विकासले निम्त्याएको विनाशलाई रोक्न वातावरणीय प्रभाव मूल्यांकन नीति निर्माण र प्रभावकारी कार्यान्वयनमा स्थानीय तहको ध्यानाकर्षण हुन जरुरी छ। प्रमुख चपाईंले थपे, “तातोपानीको भेरीखोला, गिढीखोला पातारासी र गुठीचौर क्षेत्र बाढीको उच्च जोखिममा छन्। डोजरे विकाससँगै अनियन्त्रित मानवीय गतिविधि, अतिवृष्टि, वन फँडानीलगायतका कारणले वातावरण कुरूप बन्दै छ । स्थानीय तहको ध्यान बाटो बनाउनतर्फ मात्रै देखिन्छ। वातावरण संरक्षणबिना मानव अस्तित्व संकटमा पर्ने निश्चित छ।”
वातावरणमैत्री नीति निर्माण र वातावरणीय प्रभाव मूल्यांकनको कार्यान्वयन गरी पूर्वाधार विकास गर्न जरुरी छ। तातोपानी गाउँपालिकाका अध्यक्ष नन्दप्रसाद चौलागाईले वातावरण संरक्षणको ठोस नीति बनाइने बताए। प्रदूषण नियन्त्रण तथा वातावरणको सौन्दर्यता कायम राख्न नीति बनाइनेछ।
उनले भने, “तातोपानीमा वातावरणीय प्रभाव मूल्यांकन नीति बनेको छ। त्यसको प्रभावकारी कार्यान्वयन र वातावरणमैत्री विकासको सुरुवात गर्नेछौं। वृक्षारोपण, जनचेतना विकास र वनसम्पदा संरक्षणमा जोड दिइनेछ।” भू तथा जलाधार व्यवस्थापन कार्यालयले जुम्लामा बाढीपहिरो रोक्न तटबन्ध निर्माणदेखि वृक्षारोपणको कार्यक्रमलाई जोड दिइएको कार्यालय प्रमुख चापाईंले जानकारी दिए।
पातारासी र गुठीचौरले वातावरणीय प्रभाव मूल्यांकनको नीति निर्माण र कार्यान्वयनमा जोड आवश्यक छ। जुम्लाका स्थानीय तहमा बाढीपहिरोको जोखिम कहाँ, कति छ भन्ने अध्ययन भएको र रिजल्ट आउन बाँकी रहेको भू तथा जलाधार व्यवस्थापन कार्यालयले जनाएको छ। अन्तर्राष्ट्रिय वातावरण दिवसलाई औपचारिक रूपमा हरेक वर्ष मनाए पनि वातावरण संरक्षणका कुनै ठोस योजना बन्न सकेका छैनन्। जुम्लामा पनि वातावरण विभिन्न कार्यक्रम मनाइएको छ।
आजको कारोबार दैनिकबाट