दोलखा। लामोसाँघु–जिरी सडक खण्डअन्तर्गत दोलखा प्रवेश गर्ने मुख्य मार्ग मुडे–चरिकोट सडक खण्डको काम सात वर्ष पछि सुरु भएको छ। दुई वर्षमा बन्नुपर्ने सडक सातवर्षसम्म नबनेपछि नागरिकहरु सडकमा उत्रिएर सडक निर्माणगर्न माग गरेपछि काम सुरु भएको हो।
ठेक्का लगाएको सडक वर्षौंदेखि अलपत्र भएपछि स्थानीय नागरिक पटक पटक आन्दोलित हुँदै पक्राउसमेत भए। त्यही सडक पाँच महिना यता कामले तीव्रता पाउँदा अहिले अन्तिम चरणमा पुगेको छ।
अलपत्र सडक पाँच महिना अघिबाट ठेकेदारले निर्माण सुरु गरेपछि ३० किलोमिटर सडक खण्डबाहेक २७ किलोमिटर सडक कालोपत्रे पूरा गरीिकेको छ। ६ पटक म्याद थप गरी अन्तिम समय यही जेठ मसान्तसम्मको म्याद भए तापनि तोकिएकै समयमा पूरा गर्ने गरी काम भइरहेको छ।लामोसाँघु–तामाकोसी–जिरी सडक विस्तार आयोजनाका निमित्त आयोजना प्रमुख इश्वर कार्कीले सडकको काम अन्तिम चरणमा पुगेको जानकारी दिए।
फागुनदेखि कालोपत्रे सुरु गरेर अब तीन किलोमिटर मात्रै बाँकी रहेको त्यो पनि वैशाख १५ पछि थालेकाले ढिला भएको बताए। मौसम राम्रो भए अबको १० दिनभित्र कालो पत्रे पूरा हुने जानकारी दिए। सडक ढिला र नागरिकले हिउँदमा धुलो र वर्षात्मा हिलाम्मे हुनु परेपछि दुई वर्षअघि ठेकेदारको फोटो टाँस्दासमेत प्रगति नभएपछि सात महिनाअघि भौतिक पूर्वाधार तथा यातायातमन्त्री, सचिव र सडक विभागका महानिर्देशकको तस्बिर सार्वजनिक सवारीमा टाँसेर विरोधे विरोध जनाएका थिए । संघर्ष समितिले यसअघि निर्माण व्यवसायीको फोटो टाँस्नेदेखि शंख फुक्ने, एक रुपैयाँ चन्दा उठाएर सरकारलाई पठाउनेजस्ता थुप्रै सांकेतिक विरोधका गतिविधि गरिसकेको छ ।
नागरिक समाजले दुई वर्षदेखि आन्दोलन थाल्यो। मुडे–चरिकोट सडक सडक विभागको १२ सय रुग्ण ठेक्कामध्येको राखेको योजना पूरा हुँदा सबै खुसी भएका छन्। पहिलो प्याकेजको २५ किलोमिटर ठेक्का पनि अलपत्र हुँदा नागरिक दबाबमै ठेकेदारले काम पूरा गरेको थियो। आन्दोलनका क्रममा तीन पटकसम्म आन्दोलनकारीहरू पक्राऊ परेका थिए। नागरिक आन्दोलन सडक संघर्ष समितिका संयोजक चिरञ्जीवी मास्केले नागरिक आन्दोलनकै बलमा सडकको काम पूरा हुन लागेको बताए। सरकारले यस्ता विकासे काममा नागरिक आन्दोलनको दबाबभन्दा पनि काम गराउने आफ्नै संयन्त्र प्रभावकारी बनाउनु पर्ने बताए।
खाडीचौर–चरिकोट–जिरी सडक विस्तार आयोजनाको दोस्रो प्याकेजको मुडे चरिकोट खण्डको सकिल हेदर–शंकरमाली–सुनौला खिम्ति जेभीले ३० किलोमिटर सडकको जिम्मा पाएको हो। सडकको मुख्य ठेकेदार भारतीय कम्पनी सकिल हैदरको ५१ प्रतिशत स्वामित्व छ।
नेपाली प्रतिनिधि काम नगरी बेपत्ता भएपछि भारतीय कम्पनी सकिल हैदरले पनि काम आफैं आएर काम सक्ने चासो राखेन। यही सडकको काम आयोजनाले ठेक्का तोड्न पटक पटक ताकेता ग(यो। अख्तियारले पनि यो आयोजनालाई चासोका साथ लिएर अहिले पनि छानबिन गरिरहेको छ। काम हुँदाहुँदै ठेक्का लिएका साझेदार बीचमा समस्या आएपछि सडक अलपत्र प(यो। सात वर्षसम्म अलपत्र सडक चाहेमा पाँच महिनामै पनि धेरै काम गर्न सकिँदो रहेछ भन्नेमा व्यवसायीहरू आफैं दंग छन्। निर्माण कम्पनीका प्रतिनिधि धर्मराज भण्डारीले अब चाँडै काम पूरा गर्ने बताए। वैशाख यता माथिल्लो क्षेत्रमा पानी परिरहेकाले पनि कालोपत्रे गर्न समस्या छ।
एक्जिम बैंक अफ इन्डियाको सहयोगमा दुई वर्षभित्र सम्पन्न गर्ने गरी सडक विभागले उक्त सडक २०७२ मा ७९ करोडमा ठेक्का लगाएको थियो। ठेकेदारदेखि मन्त्रीसम्मका फोटो सार्वजनिक ठाउँमा टाँसेर विरोध हुन थालेपछि सर्वत्र चासो भयो। अलपत्र काम गराउन नागरिक दबाब पनि उत्तिकै थियो भने अदालत र अख्तियारदेखिको दबाब झेल्दै कामलाई तीव्रता दिन आयोजनाका कर्मचारीहरू पनि बिहानदेखि साँझसम्म लगातार खटिरहेका छन्।
आयोजनाका सबइन्जिनियर सागर न्यौपानेले रातदिन नभनी आफूहरू आयोजनाको काम पूरा गराउन लागिरहेको बताए। आयोजना सुरु भएका सात वर्षमा सातजना आयोजना प्रमुख सडक विभागले फेरेको छ। आयोजना प्रमुखहरू आयोजना अधुरै रहँदै आयोजना प्रमुख फेरिँदा पनि आयोजनाहरू अलपत्र हुने गरेका छन्। तर सात वर्षमा हुन नसकेको काम पाँच महिनामा पूरा हुँदै छ। यस्ता विकासे काम आयोजना र ठेकेदारले चाहे समयमै पूरा हुन सक्छन् भन्ने एउटा उदाहरणसमेत भएको छ।
कारोबार दैनिक