काठमाडौं। मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानले आवश्यक भवन नबनाउँदै एक अर्ब १५ करोड ५० लाखका स्वास्थ्य उपकरण खरिदका लागि टेन्डर आह्वान गरेको छ। १२ करोडका दुई भवन निर्माणको ठेक्कामै मिसाएर स्वास्थ्य उपकरण खरिदका लागि पनि बोलपत्र आह्वान गरिएको हो।
प्रतिष्ठानले २१ वैशाखमा क्यान्सर भवन र त्यससम्बन्धी स्वास्थ्य उपकरण तथा कार्डियो (मुटुरोग) भवन र त्यससम्बन्धी स्वास्थ्य उपकरण खरिदका लागि दुईवटा टेन्डर खुलाएको छ। क्यान्सरतर्फ भवनको सात करोड र नौवटा स्वास्थ्य उपकरणको ६८ करोडको ठेक्का आह्वान गरेको छ। त्यस्तै, कार्डियोतर्फ भवनका लागि पाँच करोड र ६४ स्वास्थ्य उपकरणका लागि ४७ करोड ५० लाखको ठेक्का आह्वान भएको छ।
प्रतिष्ठानले इपिसी (इन्जिनियरिङ, प्रोक्योरमेन्ट, कन्स्ट्रक्सन) मोडेलमा भन्दै भवन निर्माणसँगै स्वास्थ्य उपकरण खरिदको टेन्डर आह्वान गरेको हो। जब कि इपिसी मोडेल स्वास्थ्य उपकरण खरिदलाई लक्षित गरेर ल्याइएको होइन। इपिसी माध्यमबाट खरिद गर्नेसम्बन्धी निर्देशिका, २०७८ अनुसार यो मोडेल ठुल्ठूला भौतिक निर्माणको सहजताका लागि हो।
यो मोडेलअनुसार निर्माण आयोजनाको डिजाइन, खरिद र निर्माण सबै ठेकेदार कम्पनीले नै गर्ने भन्ने हुन्छ। ठूला र जटिल प्राविधिक क्षमता आवश्यक पर्ने सुरुङ, सुरुङमार्ग, फ्लाई ओभरजस्ता संरचना तयार गरी निर्माण गरिने सडक, पुल, सिँचाइ, खानेपानी, जलविद्युत्जस्ता आयोजनालाई यो इपिसी निर्देशिकाले समेट्छ । त्यस्तै, विमानस्थल, रंगशाला, सभागृहजस्ता निर्माण इपिसी मोडेलअन्तर्गत पर्ने आयोजना हुन्। ठेक्का प्रक्रियाको सामान्य नियमले पनि भवन निर्माण र स्वास्थ्य उपकरण खरिद एउटै ठेकेदारलाई दिनु सही मान्दैन, किनकि यी बिल्कुल फरक पाटा हुन्।
सार्वजनिक निकायले कस्ता आयोजनाका लागि इपिसी माध्यमबाट खरिद गर्न सक्छ भन्नेबारे निर्देशिकाको दफा ३ मा उल्लेख गरिएको छ। जसमा भनिएको छ, ‘सार्वजनिक निकायले ठूला र जटिल प्राविधिक क्षमता आवश्यक पर्ने देहायका आयोजनाका लािग इपिसी माध्यमबाट खरिद गर्न सक्नेछ । (क) सुरुङ, सुरुङमार्ग वा फ्लाई ओभरजस्ता संरचना तयार गरी निर्माण गरिने सडक, सिँचाइ, खानेपानी, जलविद्युत् वा प्राविधिक रूपमा जटिल प्रकृतिको पुलजस्ता पूर्वाधार निर्माणसम्बन्धी आयोजना, (ख) विमानस्थल, रंगशाला, सभागृहजस्ता भौतिक संरचना निर्माणसम्बन्धी आयोजना (ग) पूर्वनिर्मित जटिल प्लान्ट जडान गर्नुपर्ने फोहोर व्यवस्थापन आयोजना, प्रशोधन केन्द्र वा त्यस्तै प्रकृतिका अन्य आयोजना।’
प्रतिष्ठानका पदाधिकारीले आर्थिक चलखेल गरी लक्षित व्यक्तिलाई जिम्मा दिन योजनाबद्ध रूपमै भवन निर्माणसँगै स्वास्थ्य उपकरण खरिदको ठेक्का आह्वान गरेको प्रतिष्ठानकै एक अधिकारीले बताए। ‘कुल रकममा पाँच प्रतिशतको भवन निर्माण गर्नेलाई ९५ प्रतिशत रकमबराबरको मेडिकल उपकरण खरिद गर्न दिने गरी ठेक्का खोलिएको छ । त्यसका लागि भवन र उपकरण खरिदको स्पेसिफिकेसन नै कुनै लक्षित ठेकेदारलाई मिल्ने गरी तयार पारिएको छ,’ ती अधिकारीले भने। उनका अनुसार ठेकेदार विशाल पण्डितको कम्पनी हस्पिटेक इन्टरप्राइजेजलाई अनुकूल हुने गरी टेन्डर खुलाइएको हो।
कोरोना महामारीको समयमा स्वास्थ्य मन्त्रालयले गलैँचाको व्यापार गर्दै आएको कम्पनी ओम्नीलाई सेटिङमा स्वास्थ्य सामग्री खरिद गर्न जिम्मा दिएर आर्थिक दुरुपयोग गरेको थियो। अहिले मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीले घर बनाउने ठेकेदारलाई क्यान्सर र मुटुरोगका महँगा मेडिकल उपकरण खरिदको जिम्मा लगाउन लागेको प्रतिष्ठानकै कर्मचारीको आरोप छ।
मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिस्ट्रार डा. विनोदकुमार यादवले भवन निर्माण र मेडिकल उपकरण खरिद गर्न फरक–फरक व्यक्तिलाई जिम्मा दिँदा उचित व्यवस्थापन गर्न नसकिने भएकाले एउटैले ल्याउन मिल्ने गरी इपिसी मोडेलअन्तर्गत टेन्डर खोलिएको तर्क गरे। तर, इपिसी मोडेलबारे आफू जानकार नरहेको र निर्देशिका अध्ययन पनि नगरेकाले सुनेको भरमा उक्त निर्णय लिएको उनको भनाइ छ।
‘घर निर्माण र मेडिकल उपकरण खरिद गर्न फरक–फरक व्यक्तिलाई जिम्मा दिँदा उचित व्यवस्थापन गर्न नसकिने भएकाले एउटैले ल्याउन मिल्ने गरी इपिसी मोडेलअनुसार टेन्डर खुलाएका छौँ। तर, इपिसी निर्देशिका मैले हेर्न पाएको छैन । सुनेको आधारमा यही मोडेल अपनाएर टेन्डर खुलाएको हुँ,’ रजिस्ट्रार यादवले भने, ‘अहिले साथीहरूसँग बुझिरहेको छु, कसैले पनि स्पष्ट उत्तर दिन सकेका छैनन्। घर बनाउने र मेडिकल उपकरण ल्याउने काम एउटै ठेकेदारले गर्न मिल्दैन भने टेन्डर खारेज गर्दिन्छु।’
सुनेको आधारमा इपिसी मोडेलमा टेन्डर खुलाएको हुँ, मिल्दैन भने खारेज गर्दिन्छुः डा. विनोदकुमार यादव रजिस्ट्रार, मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठान
मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालनका लागि अहिलेसम्म कुनै काम भएको छैन। भवन निर्माणका लागि काम अघि बढेको छैन। तर, मेडिकल उपकरण खरिद प्रक्रियाचाहिँ भवन बनाउनुभन्दा पहिला नै गरौँ भनेर टेन्डर निकालेका छौँ। हुन त मेडिकल उपकरण आउनेचाहिँ घर बनेपछि नै हो। घर निर्माण र मेडिकल उपकरण खरिद गर्न फरक–फरक व्यक्तिलाई जिम्मा दिँदा उचित व्यवस्थापन गर्न नसकिने भएकाले एउटैले ल्याउन मिल्ने गरी इपिसी मोडेलअनुसार टेन्डर खुलाएका हौँ।
एउटै मान्छेले भवन पनि बनाउँछ, उपकरण पनि ल्याउँछ। घर एउटाले बनाएर उपकरण अर्कोले ल्याउँदा राख्न नमिल्ने कोठा भएको अवस्थामा कसले जिम्मा लिन्छः त्यसैले एउटैलाई जिम्मा दिने भनेर ठेक्का प्रक्रिया अघि बढाएका हौँ। तर, इपिसी निर्देशिका, २०७८ मैले हेर्न पाएको छैन। सुनेको आधारमा यही मोडेल अपनाएर टेन्डर खुलाएको हुँ।
हामी नयाँ पदाधिकारी हौँ, छिटोभन्दा छिटो काम होस् भनेर यसो गरिएको हो। इपिसी मोडेलबारे अहिले साथीहरूसँग बुझिरहेको छु, कसैले पनि स्पष्ट उत्तर दिन सकेका छैनन्। घर बनाउने र मेडिकल उपकरण ल्याउने काम एउटै ठेकेदारले गर्न मिल्दैन भने टेन्डर खारेज गर्दिन्छु।
इपिसी माध्यमबाट खरिद गर्नेसम्बन्धी निर्देशिका, २०७८ मा यस्तो छ व्यवस्था दफा ३ः इपिसी माध्यमबाट खरिद गर्न सकिने सार्वजनिक निकायले ठूला र जटिल प्राविधिक क्षमता आवश्यक पर्ने देहायका आयोजनाका लागि इपिसी माध्यमबाट खरिद गर्न सक्नेछ।
(क) सुरुङ, सुरुङमार्ग वा फ्लाई ओभरजस्ता संरचना तयार गरी निर्माण गरिने सडक, सिँचाइ, खानेपानी, जलविद्युत् वा प्राविधिक रूपमा जटिल प्रकृतिको पुलजस्ता पूर्वाधार निर्माणसम्बन्धी आयोजना
(ख) विमानस्थल, रंगशाला, सभागृहजस्ता भौतिक संरचना निर्माणसम्बन्धी आयोजना
(ग) पूर्वनिर्मित जटिल प्लान्ट जडान गर्नुपर्ने फोहोर व्यवस्थापन आयोजना, प्रशोधन केन्द्र वा त्यस्तै प्रकृतिका अन्य आयोजना
आजको नयाँ पत्रिकाबाट