काठमाडौं। उदयपुरको चौदण्डीगढी नगरपालिका–५ सिवाई र बेल्हा जोड्ने त्रियुगा नदीको पक्कीपुल उद्घाटनअघि नै भाँचिएपछि उक्त क्षेत्रका वासिन्दा समस्यामा परेका छन्। वर्षायाम नजिकिँदै जाँदा पनि नदी वारपार गर्ने कुनै विकल्प नहुँदा उनीहरु ज्यान जोखिममा राखेर नदी तर्न बाध्य भएका छन्।
पुल नहुँदा चौदण्डीगढी–५ स्थित सिवाई–बेल्हाका वासिन्दा बढी समस्यामा परेका स्थानीय भास्कर चौधरीले बताए। उनले भने, ‘१२ वर्षपछि पुल बनेको थियो। तर उक्त पुल उद्घाटन नहुँदै भत्किएपछि सिवाइ(बेल्हाका वासिन्दा ज्यान जोखिममा राखेर तर्न बाध्य छौं।’
दैनिक वर्षाको कारण नदीमा पानीको बहाव बढ्दै जान थालेपछि बेल्टार बजार आउजाउ गर्नुपर्नेहरु डराएका छन्। हालसम्म उनीहरु नदीमा हेलिएरै वारपार गर्दै आइरहेका छन्।
चौदण्डीगढी– स्थित सिवाइ बेल्हा जोड्ने उक्त पुलको मर्मत तथा पुनःनिर्माणमा कसैले चासो नदेखाएको वडा नम्बर ५ का वडाअध्यक्ष– तुलसीराम ढकालले बताए। उनले नगरपालिकासँग यसबारेमा थप बुझ्ने बताए। उनले भने, ‘पुल भाँचिएपछि सम्बन्धित निकाय कसैले पनि चासो देखाएका छैनन्। वर्षायाममा यहाँका वासिन्दाले दुःख पाएका छन्। यसबारेमा म सम्बन्धित निकायमा कुरा राख्छु।’
गत वर्ष असार १९ गते त्रियुगा नदीमा आएको बाढीले पुलको एउटा पिलर भासिएको थियो भने दुई वटा स्लाब बगाएको थियो। बाढीले स्लाब बगाउँदा चौदण्डीगढी नगरपालिका– ५ सिवाईका अख्तर मियाँ खोलामा खसेर घाइते भएका थिए।
पुल निर्माण रेखदेखको जिम्मा पाएको गाईघाट–दिक्तेल सडक आयोजनाका इन्जिनियर गोपाल खकुरेलले सडक विभागको निर्देशन नआउँदा काम अघि बढाउन नसकेको बताए।
उनले भने, ‘ अहिले वर्षायाम सुरु भइसकेको छ। पुलको निर्माणको लागि बजेट आए पनि सडक विभागबाट निर्देशन आएको छैन। त्यसमा पनि कस्तो डिजाइन, कन्स्ट्रक्सनमा बनाउने भन्ने खाका नआएकाले काम हुन नसकेक हो।’
खकुरेलका अनुसार आउँदो मंसिरअघि पुल निर्माण सुरु हुने सम्भावना नरहेको बताए। ‘सडक विभागले तत्काल कुनै निर्देशन नदिएकाले यसको काम थालनी हुन मंसिरसम्म लाग्न सक्छ’ उनले भने।
अनलाईन खबर