काठमाडौं। ०७५ पुस १३ गतेदेखि लमही–घोराही–तुलसीपुर ‘फोर लेन’ सडक निर्माणको काम सुरु भयो। निर्माण सुरु भएको ३० महिनाभित्र अर्थात् ०७८ असोजसम्म सडक विस्तार सम्पन्न गर्ने गरी भारतीय निर्माण कम्पनी तथ्य इन्जिनियरिङ एण्ड इन्फ्रा प्रोजेक्ट कम्पनीले जिम्मा लियो।
यस बीचमा निर्माण कम्पनी कतै देखा परेन। प्रतिनिधिमार्फत सडक विस्तारको काम अल्झाइरह्यो। तोकिएको हदम्यादभित्र कुनै काम नभएपछि सडक विभाग र मन्त्रालयले निर्माण कम्पनीलाई ताकेता गरे पनि कम्पनीले आफ्ना प्रतिनिधि नेपालमै रहेर सडक निर्माणको काम गरिरहेको जवाफ दियो।
निर्माण कम्पनीको प्रतिनिधिका रुपमा तुलसीपुर उपमहानगरपालिकाका तत्कालीन मेयर घनश्याम पाण्डेको छोरा अनुप पाण्डे थिए। पाण्डेले काम गरेको रकम नदिएको भन्दै मजदुर र टिपर ढुवानीकर्ताहरुले प्रहरीमा उजुरी दिए। त्यसपछि सडक विस्तारको काम झन् ठप्प भयो। हालसम्म ‘फोर लेन’ सडक विस्तारको काम १० प्रतिशतमात्रै सम्पन्न भएको छ।
विस्तारका नाममा निर्माण कम्पनीले अधिकांश ठाउँमा सडक वरिपरि पूरै भत्काएको छ। कतै वाल निर्माणकै क्रममा अलपत्र पारेको छ। सडक धुलाम्य छ भने खाल्टा नपरेको कुनै ठाउँ छैन।
ठेकेदारको लापरवाहीका कारण सडक विस्तारको काममा भएको विलम्बको मार दाङवासीले खेप्न परिरहेको छ। तुलसीपुर उपमहानगरपालिका वडा नं. १८ दुधरास निवासी पूर्णबहादुर डाँगीले भने, ‘फोर लेन सडक काल बन्यो, बाँच्नेका लागि पनि अभिशाप बनेको छ।’
निर्माण कम्पनीको चरम लापरवाहीका कारण अढाई वर्षमा निर्माण सम्पन्न हुने सडक चार वर्षसम्म पनि अलपत्र बनिरहेको उनले बताए। जोखिम मौल्दै सर्वसाधारणले यात्रा गर्नुपर्ने बाध्यता रहेको उनले सुनाए।
चार वर्ष सडक निर्माण योजनाको काम शून्य प्रगति देखिए पनि नियामक निकायहरु मौन बस्दा सडकको काम अलपत्र परेको घोराही–१० निवासी भक्तुराम विकको भनाइ छ। सडकका कारण थुप्रैका ज्यान गएको छ भने बिरामी वा सुत्केरीलाई उक्त सडक हुँदै एम्बुलेन्समा ओहोरदोहोर गर्दा हुने पीडाप्रति पनि कोही समवेदनशील देखिएका छैनन्।
‘फोर लेन सडक विस्तार योजना नेपाल–भारत सहायता परियोजना हो। नेपाल सरकारले भारतसँग फोर लेन सडक विस्तार योजना निर्माणका लागि मुख्य निर्माण कम्पनी भारतकै हुने भनी सम्झौता गरेको छ। १ करोड २१ लाख ८२ हजार अमेरिकन डलरमा भारतीय निर्माण कम्पनी तथ्य इन्जिनियरिङ एण्ड इन्फ्रा प्रोजेक्टले ठेक्का लिएको छ। तर निर्माण कम्पनी नेपालको नहुँदा ढिला गरे पनि कार्यालय, विभाग र मन्त्रालयले कारवाही गर्न सक्ने ठाउँ छैन।
‘मुख्य ठेकेदार पनि भेटिँदैन,’ भालुवाङ–बाग्दुला–भिमगिठे, चन्द्रौटा–कृष्णनगर, लमही–घोराही–तुलसीपुर फोर लेन सडक आयोजनाका प्रमुख अर्जुन बलमे भने, ‘न कारबाही गर्न सकिन्छ, न ठेकेदार कम्पनी भेटिन्छ।’
ठेकेदार कम्पनीका कारण सडक अलपत्र परेको उनी बताउँछन्। ठेकेदार कम्पनीका प्रतिनिधिले काम गर्न नसक्दा आयोजना कार्यालय दोषी बनिरहेको उनको भनाइ छ।
चार वर्षमा सडक विस्तारको काम १२ प्रतिशत भौतिक प्रगति देखिएको उनले बताए। लमही–घोराही–तुलसीपुर ४९ किलोमिटर सडक र चन्द्रौटा–कृष्णनगर २८ किलोमिटर सडक निर्माणको काम सँगै सुरु भए पनि चन्द्रौटा–कृष्णनगर खण्डको ७० प्रतिशत काम सम्पन्न भइसकेको उनको भनाइ छ। कपिलवस्तुतर्फ आउदो मंसिरसम्म बाँकी काम सक्ने तयारी रहे पनि दाङमा भन्ने अलपत्र अवस्थामा रहेको उनले बताए।
कार्यालय प्रमुख बमले भने, ‘स्थानीय निर्वाचनका क्रममा सायद दलहरूको दबाब प(यो कि, अन्य केही भयो। फाटफुट कामदार र अलिअलि सडक कोट्यायो। निर्वाचन सकिएलगत्तै सडक कोट्याउन पनि चटक्क छोड्यो।’
सडक कोट्याउने मात्रै काम ठेकेदार पक्षबाट हुँदा भएको कालोपत्रे पनि भत्किएको छ। सडक साँघुरिदै गएकाले दुर्घटनाको जोखिम बढेको उनले बताए। विस्तारका नाममा ठेकेदार कम्पनीले सडक कोट्याएर मात्रै छोड्दा सवारी दुर्घटनालाई समेत निम्त्याउँदै आइरहेको उनी बताउँछन्।
‘फोर लेनले १९ जनाको ज्यान लियो, ८० घाइते’
फोर लेन सडक विस्तारका नाममा ठेकेदार कम्पनीले काम अलपत्र छाड्दा खाल्टाखुल्टीका कारण भएको सवारी दुर्घटनामा विगत तीन वर्षमा १९ जनाको मृत्यु गइसकेको छ भने ८० जना घाइते भएका छन्। जिल्ला ट्राफिक कार्यालय दाङका अनुसार लमही–घोराही– तुलसीपुरको निर्माणाधीन फोर लेन सडकको खाल्टाखुल्टीमा दुर्घटनामा परी १९ जनाको मृत्यु र ८० जना घाइते भएका हुन्।
ट्राफिक कार्यालय प्रमुख प्रहरी निरीक्षक झबिन्द्र परियारले साँघुरो सडक, चारैतिर खाल्टैखाल्टा, हिलोधुलोका कारण नै दुर्घटना हुने गरेको बताए। अकालमा धेरै जिउधनको क्षति व्यहोर्नु परे पनि योजना सम्पन्न गराउन कसैको चासो पुग्न सकेको छैन ।
‘घरखेत सडकले खान लाग्यो ’
तोकिएको समयमा ठेकेदार कम्पनीले काम नगरी गुजारेको निर्माण कम्पनीले म्याद थप पाउँछ वा पाउँदैन भन्ने निश्चित छैन। निर्माण कम्पनीका प्रतिनिधिले १२ प्रतिशत काममा करिव ७ करोड लगानी लागिसकेका छन्। रुख कटानदेखि वाल निर्माणसम्म, साइट कटिङदेखि फिलिङसम्म काम भए पनि अहिलेसम्म भुक्तानी पाउन नसकेको निर्माण कम्पनीका नयाँ प्रतिनिधि रामशरण खड्काले बताए।
‘भएको पैसा रित्तियो, प्रतिनिधिले कहाँबाट लगानी ल्याउने अनि सडक बनाउने हो’ उनले भने। आयोजनाले रकम निकासा गर्न नसक्दा फोर लेन सडक निर्माण रोकिएको उनले बताए। ठेकेदारसँगको सहमति अनुसार भुक्तानी दिन नसक्दा आफ्नो घरखेत नै फोर लेन सडकले लैजान लागेको उनको गुनासो छ। उनले थपे, ‘घरखेत हालेर सडक बनाउन कहाँ सकिन्छ’ रकम भुक्तानी र म्याद थप भएमा सडक निर्माणले चाँडै पूर्णता पाउने उनको भनाइ छ।
रातोपाटी