काठमाडौं। राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको पुष्पलाल मध्यपहाडी लोकमार्गको काम प्रदेश नम्बर १ मा द्रुत गतिमा अगाडि बढेको छ। विशेष गरी तेह्रथुम क्षेत्रमा लोकमार्ग निर्माणको कामले गति लिएको छ। यस खण्डमा जिम्मेवार प्रशासनिक क्षेत्रबाट हुने निर्देशन र अनुगमनले निरन्तरता पाएसँगै यो आयोजनाको निर्माणले गति लिएको हो।
पहाडी क्षेत्रका लागि विकासको सम्बाहक मानिएको राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग तेह्रथुम जिल्लामा ११९ किलोमिटर बिस्तार भइरहेको छ। यतिबेला वसन्तपुरदेखि म्याङ्लुङ बजारसम्मको सडक बिस्तारले गति लिएको छ। यो लोकमार्गअन्तर्गत म्याङलुङ–वसन्तपुर सडक खण्डमा कालोपत्रे गर्न थालिएको छ।
कालोपत्रे भएर पनि ठूूला–ठूूला खाल्डाखुल्डीका कारण बर्षेनि सास्ती खेप्दै आएका म्याङलुङ नगरपालिका–५ का खेम लिम्बूूले सो सडक खण्डलाई कालोपत्रे गर्न थालेपछि खुसी लागेको बताए। “अब हिउँदमा धुलाम्मे र वर्षायाममा हिलाम्मे हुने दिन सकिए,” उनले भने। २६ किलोमिटर दुरी रहेको वसन्तपुरदेखि म्याङ्लुङ बजारसम्म तीन खण्डमा सडक कालोपत्रे गर्ने कार्य भइरहेको छ।
जसमा वसन्तपुरदेखि लसुनेसम्मको १० किलोमिटर र लसुनेदेखि जिरिखिम्तीबजारसम्म ११ किलोमिटर गरी २१ किलोमिटर सडकमा कालोपत्रे भइसकेको छ। बाँकी खण्डमा नियमित काम भइरहेको छ। सडक कालोपत्रे भएपछि ढुक्कका साथ सवारी चलाउन पाएको सवारी चालक दिनेश भट्टराईले बताए। “सडकको दुरावस्थाकै कारण बर्षेनि लाखाँैको घाटा बेहोर्नु परेको छ,” उनले भने।
वसन्तपुर–म्याङ्लुङ खण्ड दुई लेनमा स्तरोन्नति र कालोपत्रे गर्न अर्थ मन्त्रालयले दुई अर्ब सात करोड रुपियाँ बजेट विनियोजन गरेको थियो। यो सडक खण्डको पहिलो खण्ड वसन्तपुर–लसुनेमा कालिका भभेश्वर जेभी कन्स्ट्रक्सनले १० किलोमिटर, लसुने–जिरिखिम्ती–बगाले खण्डको १० दशमलव चार किलोमिटरमा आशिष आश्रय जेभी निर्माण सेवाले कालोपत्रे गर्ने कार्य सम्पन्न गरिसकेका छन्।
जिरिखिम्तीदेखि बगाले–म्याङ्लुङ खण्डको पाँच किलोमिटर सडक खण्ड अमरमा जानकी जेभी निर्माण कम्पनीले बेस बिछ्याउनु साथै केही स्थानमा कालोपत्रे गर्ने कामलाई तीब्रता दिएको अमर माँ जानकी जेभी निर्माण कम्पनीका कन्ट्रयाक मेनेजर दिनेश श्रेष्ठले बताए। “अहिले पानीको सिजन सुरुभएकाले काममा सामान्य समस्या आउन थालेको छ,” श्रेष्ठले भने ‘तथापि असार मसान्तसम्ममा कालोपत्रे गरिसक्छौँ।” पाँचथरको चिवाभन्ज्याङ देखि बैतडीको झुलाघाटसम्म निर्माणाधीन मध्यपहाडी लोकमार्गको दुुरावस्थाका कारण पछिल्लो समय स्थानीय र यात्रुले निकै हैरानी झेल्दै आएका थिए।
निर्माण कार्यले गति लिएपछि अहिले अवस्था फेरिएको छ। सडक कालोपत्रे भएपछि औषधि उपचार, मालसामान ढुवानी र आवागमनमा सहजता थपिएको स्थानीयवासी डिल्ली रेग्मी बताए। “तेह्रथुम जिल्लाको विकासमा मध्यपहाडी लोकमार्ग कोसेढुङ्गा सावित भयो,” उनले भने।
नेपालका पहाडी जिल्लामा सहज आवागमनको लक्ष्यसहित सरकारले मध्यपहाडी लोकमार्गको बिस्तारको अवधारणा ल्याएको थियो। मध्यपहाडी लोकमार्गले अधिकांश पहाडी जिल्ला, तिनका सदरमुकाम र प्रमुख सहरलाई छुनेभएकाले आवतजावत तथा मालसामान ढुवानी सहजता ल्याउन यो लोकमार्गलाई महत्त्वका साथ हेरिएको हो।
जसमा लोकमार्गले छुने पाँचथरको फिदिम, तेह्रथुमका वसन्तपुर, सिन्धुलीको खुर्कोट, धादिङको बैरेनी, तनहुँको डुम्रे, बागलुङको बुर्तिबाङ, रुकुमको चौरजहारी, दैलेखको राकमकर्णाली, अछामको साँफेबगर र बैतडीको पाटनलाई अत्याधुनिक सहरका रूपमा विकास गर्ने सरकारी योजना छ। २४ जिल्ला जोड्ने एक हजार ७६५ किलोमिटरको बहुचर्चित मध्यपहाडी लोकमार्ग आर्थिक वर्ष २०६४र६५ बाट सुरु गरिएको थियो। यो सडकले २२५ वटा बस्तीलाई सडक सञ्जालमा जोड्दा ७० लाखभन्दा बढी जनतालाई प्रत्यक्ष रूपमा फाइदा पुग्नेछ।
आजको गोरखापत्र दैनिकबाट