सुर्खेत। जिल्ला अस्पताल ल्याएको एक घण्टामै हुम्लाको सिमकोट गाउँपालिका–५ तल्लोगाउँकी १ वर्षीया प्रतिज्ञा रावतको ज्यान गयो। दुई दिनदेखिको झाडाबान्ता नरोकिएपछि उनलाई बल्ल परिवारले अस्पताल पुर्याएका थिए। उनलाई दूषित पानीका कारण झाडापखाला भएको उपचारमा संलग्न चिकित्सकले बताए।
अस्पतालका डा. रोशन खनालले प्रतिज्ञालाई अस्पतालमा अन्तिम अवस्थामा पुर्याएकाले बचाउन नसकेको बताए । ‘बान्ता र पखाला नरोकिएका कारण शिथिल भइसकेकी थिइन्,’ उनले भने। प्रतिज्ञाका बाबु चीनबहादुर फोहोर पानीले पनि ज्यानै लान्छ भन्ने कुरा छोरीको मृत्युपछि मात्रै थाहा पाएको बताए। उनले भने, ‘हरेक दिन कस्तो पानी खाइयो थाहा हुँदैन।’ उनका अनुसार तल्लो गाउँका बासिन्दा हिमालबाट हिउँ पग्लेर खोलामा जम्मा भएको पानी पाइपले तानेर उपभोग गर्छन्।
सिमकोटको तल्लोगाउँमा पानीको धेरै समस्या छ। यही समस्याका कारण स्थानीय बासिन्दा खोला र मुहानको पानी पिउँछन्, जो फोहोर छ। सिमकोटबारे जानकार डा. खनालले भने, ‘पानीका मुहानहरू टाढा भएकाले दुई।तीन घण्टा पैदल जानुपर्छ। मुहान टाढा भएकाले पोखरीमा जम्मा भएको पानीको प्रयोग गर्ने गर्दा मौसमी रोगका बिरामी हुने गरेका छन्।’ हुम्लामा खाद्यान्नका कारण मात्र नभई पर्याप्त मात्रामा पानी र व्यक्तिगत सरसफाइ नहुँदा विभिन्न रोग फैलिने गरेको उनले बताए।
हुम्लावासी मात्रै होइन समग्र कर्णालीका धेरै ठाउँमा सफा पानीको पहुँच धेरै टाढाको विषय हो। नेपाल नगरपालिका संघले सन् २०१९ मा गरेको सर्वेक्षणमा कर्णाली प्रदेशका ९६।५ प्रतिशत नागरिकले अझै पनि दूषित पानी पिउने गरेको देखिएको थियो। भौगोलिक विकटता र शुद्धीकरण गर्ने यन्त्र नभएपछि स्वच्छ खानेपानीबाट वञ्चित भएको उक्त तथ्यांकमा उल्लेख छ। उक्त सर्वेक्षणमा ३।५ प्रतिशतले मात्र स्वच्छ खानेपानी उपभोग गरिरहेको देखिएको थियो। संघअन्तर्गतको खानेपानी सरसफाइ परियोजनाका कार्यक्रम व्यवस्थापक उमाशंकर यादलले भने ‘मुहानमा पानी राम्रो भएर के गर्ने रु मुहानबाट घरसम्म जाने पानीको पाइप राम्रो छैन, त्यसैले अधिकांश पानीकै कारण बिरामी हुन्छन्।’
हुम्लामा २०७६ वैशाखमा भाइरल इन्फ्लुन्जाका कारण एकैपटक १० जनाको ज्यान गएको थियो। प्र्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार हुम्लामा २०७५ मा अस्पताल पुगेका ७५ हजार १ सय ८० जनामध्ये ९।१ प्रतिशत अर्थात् ६ हजार ८ सय १३ बिरामीलाई झाडापखाला थियो, यसको कारण थियो दूषित पानी र खाद्यान्न अभाव। यस्तै ०७६/७७ मा ६ हजार १ सय २३ जना बिरामीहरूमध्ये ८ प्रतिशत, ०७७/०७८ मा ५ हजार ७ सय ५६ मध्ये ६.८ प्रतिशत र ०७८/०७९ मा अस्पताल पुगेकामध्ये ६.४ प्रतिशत अर्थात् २ हजार ९ सय ९७ जना झाडापखालाका कारण उपचारार्थ भर्ना भएका थिए।
जाजरकोटको बारेकोट गाउँपालिका–४ की १८ वर्षीया प्रेमकला रावत एक हप्ताअघि २ वर्षीय छोरा बोकेर घर नजिकको स्वास्थ्य चौकीमा पुगिन्। झाडापखालाको महामारीमा ३५ वर्षीया आमा मैनकली रावतलाई गुमाएको पीडा उनीमा ताजै छ। जाजरकोटमा २०६५ सालमा झाडापखाला फैलिँदा उनकी आमासहित ३ सय ५० जनाको मृत्यु भएको थियो। ‘सामान्य पखाला लागेर आमा गुमाएकीले होला बालबच्चालाई बिरामीका केही लक्षण देखा पर्यो कि आतिन्छु,’ उनले भनिन्, ‘दूषित पानीकै कारण झाडापखाला लाग्ने भए पनि अझै खोलाको पानी पिउन बाध्य छौं।’ त्यो बेला जाजरकोटस्थित साबिकको खगेनकोट गाविसबाट सुरु भएको उक्त रोग जिल्लाभरि फैलिएको थियो।
रुकुम पश्चिममा पनि त्यही वर्ष झाडापखालाका कारण ४७ जनाले ज्यान गुमाए भने २०७० माघमा रुकुममा ३ दिनमा ४ शिशुको ज्यान गयो । एक दशकको अवधिमा दूषित पानीका कारण फैलिएका झाडापखाला र अन्य पानीजन्य रोगका कारण झन्डै ५ सय जनाको ज्यान गएको निर्देशनालयले जनाएको छ । कर्णालीका विभिन्न अस्पतालमा २०७५।७६ मा १६ लाख २७ हजार ७ सय ७८ जना अस्पताल पुगेकामध्ये ६.३ प्रतिशत अर्थात् १ लाख २ हजार ३ सय ३८ जना झाडापखालाका बिरामी थिए। त्यसमा दूषित खाद्यान्नका कारण पनि बिरामी हुनेको संख्या समावेश भएको निर्देशनालयले जनाएको छ। यस्तै ०७६।७७ मा १८ लाख १० हजार ५ सय ९६ जना अस्पतालमा भर्ना भएकामा १ लाख १ हजार ६ सय ४१ जना दूषित पानी र खाद्यान्नका कारण बिरामी थिए। कर्णाली प्रदेश अस्पतालका डा। केएन पौडेलले दुर्गममा आपत्कालीन उपचार नपाएर ज्यान जानेहरूमध्ये धेरैको मृत्यु झाडापखालाका कारण हुने गरेको बताए। ‘अन्तिम अवस्थामा मात्र अस्पताल आउँछन्,’ उनले भने, ‘त्यो बेला हाइ डोजको औषधि लगाउनुको विकल्प छैन, ढिला आइपुगेर बिरामी निको हुन सकेनन् भने पछि आफन्तले हामीलार्ई दोष लगाउँछन्।’
कर्णालीका सबैजसो जिल्लामा पानीका कारण लाग्ने रोगका बिरामीको संख्या बढ्दै गएको कर्णाली प्रदेश अस्पतालका डा। नवराज केसीले बताए। ‘चैतदेखि भदौको अन्तिमसम्म पानीकै कारण झाडापखाला, लुतो, आउँ र टाइफाइडजस्ता बिरामीले अस्पताल भरिन्छन्,’ उनले भने, ‘पर्याप्त मात्रमा सफा खानेपानी नहुनु र जम्मा गरेर राखेको पानी प्रयोग गर्दा शरीरमा कीटाणुहरू फैलिएर धेरै बिरामी हुन्छन्, त्यसमा मृत्यु हुनेको संख्या पनि बढिरहेको छ।’
कर्णालीका बासिन्दालाई अझै पनि खोलाको दूषित पानी प्रयोग गर्नुपर्ने बाध्यता छ। दैलेखको नारायण नगरपालिका–४ सिलाडीकी ४५ वर्षीया मैसरा विकले आधा उमेर खोलाको पानी बोक्नमै गएको बताइन्। उनी दुई घण्टाको बाटो हिँडेर पानी लिन जान्छिन्। ‘बाह्रैमास खानेपानीको हाहाकारले गर्दा बालबच्चाले सरसफाइसमेत गर्न पाउँदैनन्,’ उनले भनिन्, ‘स्वच्छ पानी खान पाउने हाम्रो सपना अझै साकार भएको छैन।’ भैरवी गाउँपालिका–१ रावतकोटमा पनि पानीको समस्या उस्तै छ। जहाँका झन्डै ३ हजार बासिन्दा घैंटोमा जम्मा गरेको पानी पिउन बाध्य छन्।
गत वर्ष प्रदेश सरकारले खानेपानी तथा सरसफाइ शीर्षकमा १ अर्ब ६० करोड रुपैयाँ खर्च गरेको थियो। उक्त बजेटमध्येबाट प्रदेश सरकारको जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयले १० वटै जिल्लामा पानी परीक्षण प्रयोगशाला स्थापना गर्न खाजेको थियो। तर परीक्षण गर्ने प्राविधिक कर्मचारीको अभाव देखाउँदै बजेट खर्च गर्न नसकेको मन्त्रालयका सूचना अधिकारी प्रेमबहादुर ओलीले बताए। ‘अहिलेसम्म कर्णालीका बासिन्दाले कति गुणस्तरयुक्त पानी प्रयोग गर्छन् भन्ने तथ्यांक पनि निकाल्न सकेका छैनौं,’ उनले भने, ‘सरकार र मन्त्री परिवर्तन भइरहने बाध्यताका कारण पनि मन्त्रालयको कामले गति लिन सकेको छैन।’
आजको कान्तिपुर दैनिकबाट