म्याग्दी। बेनी–दरबाङ सडकअन्तर्गत बेनी–तातोपानी सडक कालोपत्रे गरिको छ। उक्त सडकको ९ किलोमिटर खण्ड कालोपत्रे गरिएको हो।
मङ्गला, मालिका र धौलागिरि गाउँपालिकालाई सदरमुकाम बेनीसँग जोड्ने जिल्लाको रणनीतिक महत्वको बेनी–दरबाङ सडकको बेनीदेखि तातोपानी खण्ड कालोपत्रे भएको हो।
बेनी नगरपालिका–४ स्थित रहेको प्राकृतिक तातोपानी कुण्डसम्म जोड्ने यो सडक कालोपत्रे भएपछि यस भेगका दुई दर्जनभन्दा बढी गाउँका साथै छिमेकी जिल्ला बागलुङको पश्चिमी क्षेत्रका बासिन्दालाई सहज भएको छ। ट्रयाक खुलेको १५ वर्षपछि यो सडक कालोपत्रे भएको हो।
पूर्वाधार विकास कार्यालय म्याग्दीले बेनी–तातोपानी खण्डको सडक कालोपत्रे सकिएको बताएको छ। “पहिरोको समस्या र जग्गा विवाद भएका बाहेकका ठाउँमा कालोपत्रे सकिएको छ, ११ मिटर फराकिलो सडकमा सात मिटर चौडाइका दरले कालोपत्रे गरिएको हो।
सडक विस्तार गरेर फराकिलो, नाली र पर्खाल निर्माण सकिएपछि प्राइम कोट, बिटुमिन र चिप्स राखेर दुई चरणमा कालोपत्रे गर्नुअघि रोडा, गिट्टी, बालुवा, ढुंगा र माटोलाई सडकमा पेलेर लेभल मिलाइएको थियो। सडक कालोपत्रे भएपछि यात्रा अवधि छोट्टिएको छ। कच्ची सडक हुँदा बेनीदेखि तातोपानी पुग्न एक घण्टा लाग्ने गरेकोमा अहिले २० मिनेटमा पुग्न सकिने भएको यातायात व्यवसायीले बताएका छन्। ठेकेदार लामा–समानान्तर निर्माण कम्पनीका आयोजना व्यवस्थापक राकेश सदाले गत चैतदेखि सुरु गरिएको कालोपत्रे करिब दुई महिनामा सकिएको बताए।
तातोपानीदेखि सिमसम्मको तीन किलोमिटर सडक विस्तार सकेर पर्खाल र नाली निर्माण अन्तिम चरणमा पुगेको छ।