काठमाडौं। नेपालले दैनिक करिब साढे सात करोड रुपियाँको विद्युत् निर्यात गर्न सुरु गरेको छ। नेपालबाट दैनिक साढे सात करोड रुपियाँको विद्युत् भारत निर्यात गर्न सुरु गरेको हो।
बुधबार रातिदेखि नेपाल विद्युत् प्राधिकरणले इन्डियन इनर्जी एक्सचेन्ज (आईआईएक्स)मा नेपालका पाँच आयोजनाको कुल ३१२ मेगावाट विद्युत् निर्यात सुरु गरेको हो।
बुधबार रातिदेखि बिहीबार मध्यरातसम्म छ हजार आठ सय मेगावाट घण्टा निर्यात हुने भएको छ। नेपालको बिजुलीले महँगो मूल्य पाइरहेको छ। बुधबार मध्यराति १२ बजेदेखि बिहीबार मध्य रातिसम्मका लागि प्रतियुनिट औसत भारतीय छ रुपियाँ ८८ पैसा (११ रुपियाँ नेपाली)मा बिक्री भएको हो।
यसअनुसार यो २४ घण्टामा छ हजार आठ सय मेगावाट घण्टा नेपालबाट बिजुली निर्यात हुने भएको हो। यो आँकडाअनुसार बिहीबार मात्रै सात करोड ४८ लाख ५४ हजार रुपियाँको बिजुली निर्यात भएको छ।
आईआईएक्समा प्रत्येक १५ मिनेटका स्लटहरूमा विद्युत् बिक्री हुन्छ। डे अहेड मार्केट स्वरूपमा हुने आईआईएक्सको विद्युत् कारोबारमा प्रत्येक २४ घण्टाका लागि मात्र बोलकबोल हुने गर्छ। भारतमा नेपाली बिजुलीले रातिको समयमा अधिकतम मूल्य १९.२ रुपियाँसम्म र न्यूनतम छ रुपियाँ २० पैसासम्म मूल्य प्राप्त गर्दै आएको छ।
भारतीय बजारमा शनिबार राति १२ बजेदेखि कालीगण्डकी जलविद्युत् आयोजनाको १४० मेगावाट, त्रिशूली र देवीघाटको ३७.७ मेगावाट आईआईएक्समा प्रतियुनिट औसत सात रुपियाँ चार पैसा भारुमा निर्यात हुन थालेको थियो।
त्रिशूली र देवीघाट जलविद्युत् आयोजनाको बिजुली जेठ १८ गते रातिदेखि औसत भारतीय सात रुपियाँ ३० पैसामा पठाउन थालिएको थियो। मङ्गलबार मध्य रातिदेखि मस्र्याङ्दीको ६७ मेगावाट र बुधबार रातिदेखि मध्य मस्र्याङ्दीको ६८ मेगावाट बिजुली पनि निर्यात गर्न थालिएको हो। प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईका अनुसार निजी क्षेत्रको लिखु–४ जलविद्युत् आयोजनाको ५२ मेगावाट बिजुली निर्यातका लागि प्रक्रिया सुरु भइसकेको छ।