काठमाडौं। सडक ढलानको जिम्मा लिएको ठेकेदारले खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको ७ दिने ‘अल्टिमेटम’लाई कुल्चिएको छ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलस्थित बजारको सडक ढलानको काम सुचारु गर्न दिइएको ‘अल्टिमेटम’लाई सूर्य विकास जेभीले पूरा गर्न नसकेको हो।
मेयर तीर्थराज भट्टराईले सडक ढलानको काम अलपत्र पार्ने निर्माण कम्पनीलाई हप्ता दिनभित्र काम सुचारु गर्न १६ जेठमा पत्राचार गर्दै समय सीमा दिएका थिए। तर, निर्माण कम्पनीले बजारको सडक ढलानको काम सुचारु गरेको छैन। दिइएको समय सीमाभित्र सडक ढलानको काम सुचारु नगर्ने निर्माण कम्पनीविरुद्ध कारबाही प्रकृया अघि बढाइने मेयर भट्टराईले बताए।
नगरपालिकाले अवरुद्ध काम ७ दिनभित्र निर्माण कार्य पुनः सुचारु गर्नका लागि आवश्यक पहल गर्न सघन शहरी तथा भवन निर्माण योजना, ओखलढुङ्गालाई पनि निर्देशन दिएको थियो।
दिक्तेल बजारको मानव अधिकार चोकदेखि त्रिवेणी चोकसम्मको सडक ढलान गर्ने ठेक्का लिएको निर्माण कम्पनीले हाल बेस क्याम्प क्षेत्रमा पुगेर सडक ढलानको काम अलपत्र पारेको छ। आलटालको शैलीमा काम गर्दै आएको निर्माण कम्पनीले गत बैसाख दोश्रो साता यता काम ठप्प पारेको छ। लामो समयदेखि दिक्तेल बजारको सडक ढलान कार्य स्थगित हुँदा बजार क्षेत्रमा यातायात अवरुद्ध भएको, स्थानीयलाई हिँडडुल गर्न समस्या भएको, दुर्घटनाको जोखिम निम्तिएको तथा बजारबासीबाट व्यापक जनगुनासो आएको मेयर भट्टराईले बताए।
निर्माण कम्पनीले सघन शहरी विकास तथा भवन निर्माण आयोजना ओखलढुंगाको २ करोड ६८ लाख बजेटमा २० मंसिर २०७८ सम्ममा बजार सडक ढलानको काम पूरा गर्नेगरी १० असार २०७८ मा सम्झौता गरेको थियो। तर कोभिड–१९ को महामारीका कारण देखाएर सडक ढलानको काम गत ८ माघसम्म थप गरिएको थियो। सूर्य विकास जेभीले करिब ३८ प्रतिशत कम रेटमा सडक ढलानको ठेक्का लिएको हो।
बेस क्याम्पदेखि त्रिबेणीचोकसम्मको सडक ढलानको काम अव्यवस्थित र अपारदर्शी भएको तथा भएका काममा ढिलासुस्ती हुँदा व्यापार व्यवसाय, विद्यार्थी र सर्वसाधारणलाई हिँडडुल गर्न समेत असहज भएको व्यवसायी बताउँछन्। ठेक्का लागेको ५८० मिटरमध्ये हालसम्म १३२ मिटर ढलान भएको सघन शहरी विकास तथा भवन निर्माण आयोजना ओखलढुंगाले जनाएको छ। पूर्वी पहाडका सबैजसो जिल्लाका सदरमुकाम ढलान भइसक्दा बल्ल दिक्तेलबजार ढलानको काम सुरु गरिएको हो।
रातोपाटी