काठमाडौं। मर्स्याङ्दी र मध्यमर्स्याङ्दी जलविद्युत आयोजनाको बिजुली पनि भारतमा बिक्री हुन सुरु भएको छ। यससँगै नेपालबाट दैनिक साढे ७ करोडसम्मको बिजुली भारत निर्यात हुन सुरु भएको हो।
नेपाल विद्युत् प्राधिकरणका अनुसार मंगलबारबाट मर्स्याङ्दी र बिहीबारबाट मध्यमर्स्याङ्दीबाट उत्पादित बिजुलीले भारतीय ऊर्जा एक्स्चेन्ज बजारमा प्रवेश पाएको हो।
बिहीबार मात्रै २८४ मेगावाट बिजुली भारत निर्यात हुनेछ। यो करिब ६८ लाख ३१ हजार ६०० युनिट बराबर हो। यसबाट नेपालले एक दिनमै ७ करोड ५२ लाखसम्म आम्दानी गर्नेछ। त्रिशुलीबाट २३, देवीघाटबाट १४.३९ मेगावाट, कालिगण्डकीबाट १३८.९१ मेगावाट मर्स्याङ्दीबाट ६६.१४ मेगावाट, मध्यमर्स्याङ्दीबाट ४१.८१ मेगावाट बिजुली भारत जानेछ।
सोमबारका लागि भारतको प्रतिस्पर्धी ऊर्जा बजारमा नेपालको बिजुलीले प्रतियुनिट अधिकतम् १२ भारु अर्थात् १९.२ रुपैयाँसम्म मूल्य पाएको प्राधिकरणले जनाएको छ। न्यूनतम् ४रुपैयाँमा पनि बिजुली निर्यात हुनेछ। औसतमा प्रतियुनिट ११.०२ नेपाली रुपैयाँमा निर्यात भइरहेको प्राधिकरणले जनाएको छ।
भारतको ऊर्जा एक्सचेन्ज बजारमा प्रत्येक १५ मिनेटको ९६ वटा ब्लकमा बिजुलीको मूल्य बोलकबोलमा बिक्री हुन्छ। प्राधिकरणले रातको समयमा खपत हुन नसकेको बिजुली भारत पठाइरहेको हो। भारतमा रातको समयमा सोलार प्लान्टबाट बिजुली नआउने र गर्मी कारण पंखा र एसीको प्रयोगले माग उच्च हुने गरेको छ।
रातमा खरेर जाने बिजुली नै बेच्न सक्ने अवस्था रहेकाले प्राधिकरणले राम्रो मूल्य पाएको अधिकारीहरु बताउँछन्। भारतले अहिलेसम्म नेपाललाई ३६४ मेगावाटका आयोजनाका बिजुलीलाई भारत निर्यात गर्न अनुमति दिएको छ। मनसुन सुरु भएपछि नेपालले भारतबाट अनुमति पाएका सबै आयोजनाबाट बिजुली निर्यात गर्नेछ।