धादिङ। त्रिभुवन राजपथ अन्तर्गतको नागढुंगा–नौबिसे खण्डमा सडकको दुरावस्थाका कारण चालक, यात्रु र स्थानीयले सास्ती खेप्न बाध्य भएका छन्। वर्षौंदेखि सडक मर्मत नहुँदा र सडकमा भएका खाल्डाखुल्डी नटालिँदा उत्पन्न हुने धुलो र धुँवाले मानवीय स्वास्थ्यमा गम्भीर असर त परेको छ नै साथै सवारी जाम र दुर्घटनाको उच्च जोखिमसमेत बढेको छ।
विषेशगरी नागढुंगा–नौबिसे सडक खण्डमा भएका खाल्डाखुल्डीलाई बर्षौंदेखि नटालिँदा र भत्किएको सडकलाई मर्मत नगरिदिँदा सवारी र यात्रु सडक दुर्घटनाको उच्च जोखिममा परेको स्थानीयको गुनासो छ। त्यति मात्र होइन सडकको खाल्डाखुल्डीकै कारण सवारी साधनले उडाउने धुँलो र धुवाँको कारण सडक छेउमा विभिन्न पेसा र व्यवसाय गरेर बसेका स्थानीयको स्वास्थ्यमा समेत प्रतिकूल असर परेको छ।
बाटोको छेउमा व्यापार गर्दै आएका उनीहरूलाई राजमार्गमा उड्ने अत्यधिक धुँवाधुलोले मानवीय स्वास्थ्यमासमेत गम्भीर असर परेको उनीहरू बताउँछन्। ‘सडकको जताततै खाल्डाखुल्डी छ, खाल्डाखुल्डीकै कारण धुँवा र धुलो उडाउँदै सवारी साधन गुड्छन्, बाटोको छेउमा व्यापार गरेका हामीहरूको स्वास्थ्यमा गम्भीर असर परेको छ। बिहान ५ बजेदेखि राती १० बजेसम्म धुँवा र धुलो खाँदै व्यापार नगरे खाने बाटो छैन, हामी चिन्तामा परेका छौँ’, सुरुङमार्ग छेवैमा होटल गर्दै आएकी कान्छीमाया पोखरेलले बताइन्।
पोखरेलका अनुसार सुरुङमार्गको काम सुरुपछि भत्किएको त्यस सडकमा सडक विभागले पनि खासै ध्यान दिने गरेको छैन। त्यसो त सुरुङमार्गले पनि सडक मर्मतमा चासो दिएको छैन। केही समयअघिसम्म सुरुङमार्ग र सडक विभागका कर्मचारीलाई उक्त बाटो मर्मतका लागि घच्घच्याँउदा पनि मर्मतमा चासो नदिएपछि आफूहरू बिरक्तिएर बसेको उनको गुनासो छ।
समयमा सडक मर्मत नभएका कारण धुँलो उडाउँदै यसरी नै सवारी साधन चौबिसै घण्टा गुड्छन्। सवारी साधनले उडाउने धुँलो धुवाँको कारण सडक छेउमा विभिन्न पेसा र व्यवसाय गर्नेको मात्र नभएर राजमार्ग आसपासका अधिकांश स्थानीयको स्वास्थ्यमा प्रतिकूल असर परेको स्थानीय युवा कुशल कोइराला बताँउछन्।
एता सडकभरी खाल्डाखुल्डी भएका कारण सवारी साधान सहज आवतजावत गर्न नसक्दा घण्टौँ सवारी जाम हुने गरेको सवारी चालकहरू बताउँछन् । राजधानी काठमााडौं सँगै जोडिएको उक्त सडकखण्डमा भएको खाल्डाखुल्डीका कारण सवारी दुर्घटनाको उच्च जोखिम बढेको सोही सडक खण्डमा नियमित सवारी साधन चलाउँदै आएका चालकहरूको गुनासो छ।
सडकको बेहालका कारण पाइने सास्तीको कुनै तुलनै गर्न नसकिने यात्रुहरू बताउँछन्। यात्रालाई सुरक्षित बनाउन सडकको मर्मत संभार गर्न यात्रुहरूले पनि सरकारसँग आग्रह गरेका छन्। सडकको दुरावस्थाको असर चौतर्फी रहेको उनीहरूको भनाइ छ।
घाम लाग्दा धुलाम्मे हुने उक्त सडकखण्डमा पानी पर्दा हिलाम्मे र चिप्लो हुने गर्दछ। जसले गर्दा गाडी र मोटरसाइकल चिप्लिएर दुर्घटना हुने जोखिम पनि उत्तिकै बढेको छ। त्यस्तै सडकको खाल्डाखुल्डीले गर्दा सवारी साधन बिग्रने गरेका छन्। गुडिरहेका सवारीसाधन बीच सडकमै बिग्रीदिँदा उक्त क्षेत्रमा दिँनहुजसो सवारी जाम लाग्ने गरेको छ। यात्रुहरूको सहजताका लागि उक्त सडक मर्मतमा सरोकारवाला निकायले ध्यान दिन जरुरी छ।
आजको सौर्य दैनिकबाट