संखुवासभा। पूर्वाधार विकास कार्यालय संखुवासभाले यो आर्थिक वर्षमा तीन झोलुंगे पुल निर्माण गरेको छ।संखुुवासभाका मकालु गाउँपालिका–६ बेन्देकसुवा खोलामा पूर्वाधार विकास कार्यालयले झोलुंगे पुल निर्माण सम्पन्न गरेको हो।
बेन्देकसुवा खोलामा झोलुंगे पुल निर्माण सम्पन्न गरी सञ्चालनमा आएको पूर्वाधार विकास कार्यालय संखुुवासभाका प्रमुख शैलेन्द्र सिंहले जानकारी दिए।
झोलुंगे पुल निर्माण भएपछि मकालु–६ कै दुई गाउँ जोडिएका छन् भने पुल निर्माण भएपछि वालिङका स्थानीयलाई आवतजावतमा सहज भएको छ।
एक करोड आठ लाख ४८ हजार लागतमा निर्माण भएको सो पुलको लम्बाई १३३ मिटर रहेको छ। बेन्देकसुवाको झोलुंगे पुल सिर्जना एण्ड सुमन एसोसियट जेभीले निर्माण गरेको हो।
उक्त क्षेत्रमा पुल नहुँदा स्थानीयले बर्खायाममा समस्या झेल्नु परेको थियो। यसभन्दा अगाडि त्यहाँका नागरिकले जोखिम मोलेर काठको पुलबाट यात्रा गर्दै आएका थिए।
यसैगरी, तेह्रथुमका माङ्सेवा खोला र खोरंगा खोलामा दुई वटा झोलुंगे पुल निर्माण सम्पन्न भएका छन्। तेह्रथुमको लालिगुराँस नगरपालिका–३ र ४ जोड्ने खोरंगा खोला र मेन्छ्यायेम गाउँपालिका–५ यो आर्थिक वर्षमा पुल सम्पन्न भई सञ्चालनमा आएको पूर्वाधार कार्यालय प्रमुख सिंहले बताए।
पूर्वाधार कार्यालयले नौ वटा मुख्यमन्त्री ग्रामीण सडक निर्माण सम्पन्न गरिसकेको जनाएको छ। त्यस्तै, चार बहुवर्षे सडक निर्माण चरणमा रहेको छ। पूर्वाधार कार्यालयले निर्माण गरेको हेवा खोलाको मोटरेवल पक्की पुल ६ महिनादेखि सञ्चालनमा आएको छ।