काठमाडौं। स्वतन्त्र ऊर्जा उत्पादहरुले नेपालको विद्युत भारतीय बजारमा बिक्री गर्न शुरु गरिएकोमा स्वागत गरेको छ। स्वतन्त्र ऊर्जा उत्पादनकहरुको संस्था, नेपाल (इप्पान)ले विज्ञप्ति जारी गर्दै नेपाल विद्युत प्राधिकरणको विद्युत निर्यात गर्न शुरु गरेको कामलाई स्वागत गरेको हो।
इप्पानले प्राधिकरणको उक्त कदमले विद्युत निर्यात गरेर आर्थिक समृद्धि हासिल गर्ने सपना साकार हुने अवस्थाको सुरुवात भएको उल्लेख गरेको छ।
विज्ञप्तिमा भनिएको छ, ‘अघिल्लो वर्षको वर्षायाममा ३९ मेगावाट बिजुली निर्यात गर्न शुरु गरेको प्राधिकरणले यो वर्ष ३६४ मेगावाटसम्म निर्यात गर्न सक्ने अवस्थामा पुग्नु अत्यन्त सुखद कुरा हो। आगामी दिनहरुमा नेपालको जलविद्युतले छिमेकी मुलुकहरुमा अझै राम्रो बजार प्राप्त गर्न सक्ने आधार र विश्वासको निर्माण गरेको छ। यो क्षेत्रमा स्वदेशी, बिदेशी लगानीकर्ताहरु थप आकर्षित गराउने निश्चित छ।’
विद्युत निर्यातको लागि भारतीय कम्पनीहरू मनिकरण पावर लिमिटेड र एनटिपिसी विद्युत व्यापार निगम लिमिटेडलाई टेन्डर छनोट प्रक्रिया अगाडि बढेको छ। छनोट भएका मध्ये, मानिकरणले प्रतियुनिट भारु ४.८६ (७.७७६ नेपाली रुपैयाँ) का दरले १०० मेगावाट र एनभिभिएनले प्रतियुनिट भारु ४.३० (६.८८ नेपाली रुपैयाँ) का दरले १०० मेगावाट गरी २०० मेगावाट बिजुली खरिद गर्ने छ।
यसबाट प्राधिकरणले आगामी जुलाई १ देखि नोभेम्बर १५ (असार १७ गतेदेखि कात्तिक २९ गते) सम्म ६४ करोड ८० लाख युनिट बिजुली बिक्री गरी ४ अर्ब ७४ करोड ८५ लाख ४४ हजार रुपैयाँ आम्दानी गर्नेछ। सम्झौता अनुसार मनिकरणले एनभिभिएनभन्दा प्राधिकरणलाई २९ करोड ३ लाख रुपैयाँ बढी भुक्तानी गर्नेछ।
इप्पानले यो उपलब्धीलाई ऊर्जा उत्पादनमा निजी क्षेत्र संलग्न भएको उपजका रुपमा लिएको छ। करिब तीन दशक अघिदेखि ऊर्जा उत्पादनका क्षेत्रमा निजी क्षेत्रको सार्थक सहभागिताका कारण हाल वर्षा याममा १००० मेगावाटभन्दा अधिक बिजुली आन्तरिक खपतभन्दा बढी हुन थालेको उल्लेख छ।