काठमाडौं। सरकारले आगामी आर्थिक वर्षको बजेट युवा उद्यमीलाई प्रोत्साहन गर्ने किसिमको आएपनि कार्यान्वयनमा चुनौती रहेको युवा उद्यमीहरुले बताएका छन् ।
हरेक वर्ष सरकारले युवा उद्यमी, स्टार्टअप व्यवसायको लागि विभिन्न कार्यक्रम घोषणा भएपनि कार्यक्रममा नै सिमित रहेको उनीहरुको गुनासो छ । उनीहरुले सरकारको नीति तथा कार्यक्रममा आउने तर कार्यान्वयनमा समस्या रहेको भन्दै यो वर्ष पनि त्यही समस्या दोहोरिनसक्ने आशंका व्यक्त गरेका छन् ।
नेपाल युवा उद्यम संघ ललितपुरका अध्यक्ष राजकरण श्रेष्ठले सरकारले आगामी आर्थिक वर्षको बजेट युवा उद्यममैत्री रहेको बताए। अध्यक्ष श्रेष्ठले स्नातक पास भएका युवालाई प्रमाणपत्र धितो राखेर ऋण दिने, नयाँ उद्यमीलाई सिटिभिटिबाट उद्यमशील तालिम दिने कार्यक्रम ल्याएको बताए।
उनले कार्यक्रम ल्याएपनि कार्यान्वयनमा समस्या रहेको बताए। अध्यक्ष श्रेष्ठले सरकारले भएका उद्योगको क्षमता वृद्धि गरेर युवाहरुलाई स्वरोजगारसहित उद्यमी बनाउनुपर्ने बताए। युवाले सरकारसँग धेरै अपेक्षा नराखि सरकारले युवा उद्यमीको लागि ल्याएका कार्यक्रम बोनसमा राखेर अगाडि बढ्नुपर्ने बताए। सरकारले कार्यक्रमहरु ल्याएपनि कार्यान्वयनको लागि नीति बनाउन नसकेकाले सबैभन्दा पहिला नीति बनाउनुपर्ने बताए।
त्यस्तै, युवा उद्यमी आभूषणज्योती कंशाकारले सरकारले आगामी वर्षको बजेट एउटा क्षेत्रलाई मात्रै नभइ मिसमास बनाएर ल्याएको बताए। उनले युवा उद्यमी र उद्यमको लागि राम्रो बजेट आएपनि कार्यविधि बनाएर कार्यान्वयन गर्नसके मात्रै राम्रो हुने बताए। कंंशाकारले सरकारले बजेट ल्याएपछि खर्च गर्न सक्नुपर्ने भन्दै बजेट युवा उद्यमीहरुलाई देखाउनको लागि राम्रो भए पनि वास्तविकतामा केही नभएको गुनासो गरे । उद्योगलाई एक÷दुई महिनाको अध्ययन गरेर युवा उद्यमीहरुको आवाजलाई सम्बोधन गर्ने गरी बजेट नआएको बताए। युवाले सोचेको जस्तो सरकारले बनाएको नीतिमा काम गर्न चुनौती रहेको कंशाकारले बताए। उनले नेपालमा नयाँ युवा उद्यमीले सरकारले ल्याएका युवा उद्यमका कार्यक्रमको सहुलियत लिन नसक्ने बताए।
त्यस्तै, अर्का युवा उद्यमी मनिष थापाले सरकारले २०७१÷०७२ सालदेखि युवामैत्री बजेट ल्याउने गरेपनि कार्यविधि बनाएर कार्यान्वयन भने हुन नसकेको बताए। उनले बजेटमा ९ वर्षदेखि बजेटमा व्यवस्था गरेपनि युवा उद्यमीको लागि लक्षित स्टार्टअप व्यवसायको कार्यविधि बन्न नसकेको बताए। सरकारले स्टार्टअप भनेपनि कार्यविधि बन्न नसक्दा कस्तो व्यवसायलाई स्टार्टअप भन्ने यकिन नभएको बताए। उद्यमी थापाले सरकारले २५ लाखसम्म बिनाधितो कर्जा दिने कार्यक्रम ल्याएको भएपनि राष्ट्र बैंक र बैंकहरुले कार्यान्वयन गर्न कार्यविधि बन्न नसकेको बताए। नेपालमा युवा उद्यम क्षेत्रमा लाग्नको लागि लगानीको खाँचो भएपनि बैंकमा लगानीको लागि धितो आवश्यक भएकाले युवा उद्यमी बन्न समस्या रहेको बताए।
त्यस्तै युवा तथा महिला उद्यमी निकिता राजभण्डारीले आगामी वर्षको बजेटमा नयाँ स्टार्टअप व्यवसायको लागि प्रोत्साहन गर्ने कार्यक्रमहरु ल्याउनु युवा उद्यमीको लागि प्रोत्साहन मिलेको बताए। उनले सरकारले स्टार्टअप व्यवसायमा विदेशी लगानी धेरै ल्याउन पाउने व्यवस्था बनाएर लगानी ल्याउन पाउने सीमा कम गर्न माग गरे। उद्यमी भण्डारीले महिलाहरुको लागि उद्यमशील बनाउनको लागि विभिन्न आरक्षण ल्याउनु आवश्यक रहेको बताए।
उद्यमी भण्डारीले उद्यमी बन्न चाहने महिला तथा युवाको क्षमता विकास, सीपमुलक तालिमको व्यवस्था सरकारले गर्नुपर्ने बताए । उनले अब शिक्षण सिकाई प्रक्रियाबाट नै परिर्वतन ल्याएर विद्यालयको पाठ्यक्रममा नै उद्यमशीलता अध्यापन गराउनु पर्ने बताए।