नेपालगन्ज। कोहलपुर नगरपालिकामा क्रिकेट मैदानको भौतिक पूर्वाधार निर्माणका लागि हरेक वर्ष बजेट विनियोजन हुँदै आएको छ। यस वर्ष सार्वजनिक बजेटमा पनि क्रिकेट मैदान निर्माण गरिने उल्लेख छ। अहिलेसम्म निर्माण सुरु नभएकाले सरोकारवालाले फेरि पनि आशंका व्यक्त गरेका छन्। यसअघि प्रत्येक वर्ष विनियोजन गरिएको बजेट फ्रिज भएको छ।
क्रिकेट मैदानको जग्गा भोगचलन विवादका कारण सरकारले छुट्याउने गरेको बजेट फिर्ता हुने गरेको हो। त्यससँगै मैदानको क्षेत्रभित्र करिब सात सय घरधुरीको बसोबास छ तर नगरपालिकाले त्यो जमिन खाली गराउन सकेको छैन। जग्गा स्वमित्व विवादले भौतिक निर्माणका काम हुन नपाएको कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टीकाराम ढकालले बताए । ‘खेल मैदानको जग्गा कहिले जिल्ला खेलकुद समितिको हुने कि नगरपालिकाको हुने या राष्ट्रिय खेलकुद परिषद्को हुने भन्ने विवादले पनि निर्माणको काम रोकिएको हो,’ उनले भने, ‘हालै राष्ट्रिय खेलकुद परिषद्का नाममा जग्गा स्वमित्व दिने गरी सिफारिस गरेर पठाएका छौं।’
कोहलपुर नगरपालिकाले क्रिकेट मैदानका लागि ४ बिघा १९ कट्ठा जग्गा छुट्याएको छ। उक्त जग्गामा अनधिकृत रूपमा सात सय घर निर्माण भइसकेको प्रमुख प्रशासकीय अधिकृत ढकालले बताए। ‘पहिलेको अभिलेख हेर्ने हो भने सात सय घरधुरी क्रिकेट मैदानभित्रै बनेको देखिन्छ। पछिल्लो समय थप घर निर्माण भइसकेको जानकारी आएको छ,’ उनले भने, ‘क्रिकेट मैदान निर्माण हुन नसक्नुको अर्को कारण जग्गा अतिक्रमणमा पर्नु हो।’
युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजको गृह नगरपालिका कोहलपुर भएका कारण यस वर्षको बजेट कार्यान्वयन हुनसक्ने विश्वास गरिएको छ। तर, अतिक्रमणको समस्या नसुल्झिएसम्म क्रिकेट मैदान निर्माणको काम सुरु हुनसक्ने छाँट देखिँदैन। बाँकेमा क्रिकेटका अन्तर्राष्ट्रिय स्तरका खेलाडी भए पनि खेल मैदान नहुनु लाजको विषय भएको मध्यपश्चिम खेलकुद विकास समितिका पूर्वअध्यक्ष भीम ओली बताउँछन्। उनले आफ्नो कार्यकालमा पनि कोहलपुरमा क्रिकेट खेलका लागि पूर्वाधार निर्माणको काम सुरु गर्न प्रयास गरेको जनाए। अन्तर्राष्ट्रियस्तरका क्रिकेट खेलाडी जन्माइसकेको बाँकेमा भने मैदान नहुँदा प्रतियोगिता आयोजनामा समस्या हुने गरेको छ। मैदान अभावमै क्रिकेटका गतिविधिमा कमी आएको छ। नेपालगन्ज रंगशालामा क्रिकेट प्रतियोगिका लागि क्षेत्रफल अपुग छ। यहाँस्थित मंगलप्रसाद माविको चौरमा प्रतियोगिता आयोजना हुने गरेको थियो। तर, प्रतियोगिताका कारण पढाइ प्रभावित भएको भन्दै विद्यालय प्रशासनले रोक लगाएपछि समस्या भएको हो।
नेपालगन्जबाटै महिला क्रिकेटको सुरुवात भएको थियो। यहाँका महिला क्रिकेटरले अन्तर्राष्ट्रियस्तरमै खेलेर उपाधि जितिसकेका छन्। उनीहरूले मंगलप्रसाद माविकै चौरमा प्रशिक्षण लिएका थिए। जिल्लामा क्रिकेट मैदानका लागि पटक–पटक आवाज उठ्ने गरेको छ। प्रतियोगिता आयोजनाका क्रममा उक्त आवाज उठे पनि पछि सेलाउने गरेको छ।
आजको कान्तिपुर दैनिकबाट