काठमाडौं। लमजुङको मर्स्याङ्दी गाउँपालिकाले पाँच वर्षको अवधिमा एघार वटा झोलुङ्गे पुल निर्माण गरेको छ। गाउँपालिकाले नागरिकको आवश्यकताअनुसार झोलुङ्गे पुल निर्माण गरेको हो।
नागरिकलाई आवत जावतमा सहज बनाउन पुल निर्माण गरिएको गाउँपालिकाले जनाएको छ। उनका अनुसार खोलानाला, खोल्साहरु रहेको ठाउँमा नागरिकलाई आउजाउ गर्न समस्या पर्ने भएकाले झोलुङ्गे पुल बनाइएको छ। बर्खाको समयमा खोलानाला बढ्दा पार गर्न समस्या हुने भएकाले पुलको आवश्यकता रहेको र सोही अनुसार बजेट व्यवस्थापन गरेर पुल निर्माण गरेको गाउँपालिकाले जनाएको छ।
गाउँपालिकाका अनुसार वडा ३ मा खुदीबजार झोलुङ्गे पुल निर्माण भएको छ। वडा १ मा पोजे झोलुङ्गे पुल, वडा १ मा करे झोलुङ्गे पुल, वडा ५ मा रादीखोला झोलुङ्गे पुल, वडा ७ मा छिनखोला झोलुङ्गे पुल निर्माण गरिएको छ।
त्यस्तै, वडा २ मा खिउरी झोलुङ्गे पुल, वडा ४ मा घोप्टे कालाघिरिङ झोलुङ्गे पुल निर्माण भएको छ। वडा ३ र ८ जोड्न आम्बोटे झोलुङ्गे पुल, वडा ३ र ९ जोड्न खुदीखोला झोलुङ्गे पुल, वडा ३ र ६ को मर्स्याङ्दी झोलुङ्गे पुल, वडा ७ मा घट्टेखोला झोलुङ्गे पुल निर्माण गरिएको छ।
झोलुङ्गे पुल अभावका कारण आउजाउ गर्न समस्या भएका नागरिकलाई लक्षित गरी पुल निर्माण गरिएको हो। झोलुङ्गे पुल बनेपछि नागरिकलाई सहज भएको गाउँपालिकाले जनाएको छ।