कामठाडौं। प्रतिनिधिसभाको आइतबारको बैठकमा विभिन्न विषयको छलफलमा भाग लिदै सांसदहरूले शहरको पूर्वाधार तयार गर्दा विकाससँगै सभ्यता पनि जोगाउन आग्रह गरेका छन्।
बैठकमा विनियोजन विधेयक, २०७९ अन्तर्गत सहरी विकास मन्त्रालय, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र राष्ट्रिय योजना आयोगको सचिवालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रपतिको कार्यालय एवं उपराष्ट्रपतिको कार्यालयकोे विनियोजन शीर्षकमाथिको छलफलमा भाग लिँदै सांसद्हरूले शहरको विकाससँगै सभ्यता पनि जोगाउन आग्रह गरेका हुन् ।
नेकपा एमालेका सांसद नवराज सिलवालले शहरको पूर्वाधार र विकास गर्दा त्यहाँका ऐतिहासिकता, सांस्कृतिक विविधता मौलिकता जोगाउन गम्भीर ध्यान दिनुपर्ने बताए।
नेपाली कांग्रेसका सांसद प्रकाश रसाइलीले बझाङलाई आलु र मुला खेतीको केन्द्रका रुपमा विकास गर्न बजेट विनियोजन गर्न सुझाव दिइएकामा लागू नभएको गुनासो गरे ।
उनले भने, “सिंहदरबारमा गएर मन्त्री, सचिव र विभागका प्रमुखहरूलाई बजेट र कार्यक्रमबारे सुझाव दिँदा थाक्ने स्थिति भइसकेको छ तर बजेट र कार्यक्रम मन्त्रीका क्षेत्र र आफन्तहरूलाई पार्ने गरिएको छ ।”
नेकपा माओवादी केन्द्रका सांसद अञ्जना विसंखेले बजेट आमरुपमा सकारात्मक भए पनि योजना छनोट गर्दा समानुपातिक र वैज्ञानिक विकासको ढाँचालाई पूर्ण कार्यान्वयन नसकिएको बताइन् ।
सांसदहरू गजेन्द्र महत, डा दीपकप्रकाश भट्ट, राजबहादुर बुढालगायतले उक्त छलफलमा भाग लिए।