काठमाडौं। काठमाडौं महानगरपालिकाले पूर्वाधार एम्बुलेन्स सञ्चालनमा ल्याएको छ। पूर्वाधार क्षेत्रमा देखिएका तुरुन्तै समाधान गर्न सकिने साना साना समस्याहरुको हलका लागि महानगरपालिकाले सोमबारदेखि पूर्वाधार एम्बुलेन्स सञ्चालनमा ल्याएको हो।
पूर्वाधार क्षेत्रमा देखिएका साना तुरुन्तै समाधान गर्न सकिने समस्यालाई वेवास्ता गर्दा पछि ठूलो खर्च लाग्ने भएकाले यस्तो समस्या समाधानका लागि महानगरले पूर्वाधार एम्बुलेन्स नाम दिएर मर्मत कार्य सुरु गरेको हो।
सडकका खाल्डाखुल्डी, ठाउँठाउँमा फुटेका ढल लगायत पूर्वाधार आकस्मिक मर्मतसम्भार गर्न महानगरले यस्तो सेवा सुरू गरेको हो।
जसरी एम्बुलेन्समा बिरामीको आकस्मिक उपचार गर्न डाक्टर–नर्स हुन्छन्, महानगरको यो एम्बुलेन्समा बिरामी पूर्वाधारको उपचार गर्न इञ्जिनियर वा प्राविधिक रहन्छन्। उनीहरूले आफूलाई चाहिने अत्यावश्यक उपकरण सँगै बोकेका हुन्छन्।
पूर्वाधार एम्बुलेन्समा एक इञ्जिनियरसहित चार जना मजदुरको टोली छ। महानगरले दुइटा एम्बुलेन्स तयारी अवस्थामा राखे पनि पहिलो चरणमा एउटा मात्र सञ्चालनमा ल्याएको छ।
नवनिर्वाचित मेयर बालेन शाहले महानगरको पहिलो कार्यपालिका बैठकमा यो सेवा सुरू गर्ने प्रस्ताव पेस गरेका थिए।
बैठकले पारित गरेपछि गत शुक्रबार नै तयार पारिएको पूर्वाधार एम्बुलेन्स सोमबारबाट सञ्चालनमा आएको हो।
महानगरको कल सेन्टरमा सर्वसाधारणबाट आएका गुनासाका आधारमा आकस्मिक मर्मतसम्भार गर्न थालिएको छ।
पूर्वाधार एम्बुलेन्सले पूर्ण रूपमा काम सुरू गरेपछि कल सेन्टरमा आएका गुनासा सबै सम्बोधन हुने बताइएको छ।
पहिलो चरणमा डल्लु क्षेत्रमा सडकका खाल्डाखुल्डीबारे गुनासो आएपछि पूर्वाधार एम्बुलेन्स टोलीले निरीक्षण गरेर आइसकेको र अहिले त्यहाँ खाल्डाखुल्डी पुर्ने काम भइरहेको बताइएको छ।