काठमाडौं। राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको मध्यपहाडी (पुष्पलाल) लोकमार्गअन्तर्गत बागलुङ जिल्ला सदरमुकाम अन्तर्गत बागलुङ बजारबाट खहरेसम्म सडक कालोपत्र भएको छ। सदरमुकाम खण्डमा ११ किमी सडक कालोपत्रे भएको हो।
मध्यपहाडी पुष्पलाल लोकमार्ग आयोजना कार्यालयका अनुसार बागलुङ बजारको उपल्लाचौरबाट घोडाँबाधेसम्मको सडक दुई खण्डमा विभाजन गरी ठेक्का सम्झौता गरिएको सडक तल्लो खण्डको खहरेसम्म र उपल्लो खण्डमा इनारपानीसम्म सडक कालोपत्र भइसकेको छ।
उक्त खण्डमा ठेक्का सम्झौता भएको छ वर्षपछि सडक कालोपत्र भइरहेको छ। अहिले बागलुङ बजार खण्ड र बिहुँ खण्डमा कालोपत्रको काम भइरहेको छ। लामो समयदेखि अलपत्र मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङको सदरमुकाम खण्डमा अहिले धमाधम सडक कालोपत्र र पूर्वाधार निर्माण भइरहेको छ।
सदुमुकामको उपल्लाचौरबाट घोडाँबाधेसम्मको २५ किलोमिटर सडकमध्ये घोडाबाँधे–बिहुँ खण्डमा छ किलोमिटर र उपल्लाचौरबाट खहरेसम्म पाँच किलोमिटर सडक गरी जम्मा ११ किलोमिटर थप सडक कालोपत्र सम्पन्न भइसकेको मध्यपहाडी (पुष्पलाल) लोकमार्ग आयोजना कार्यालय पर्वतले जनाएको छ।
२५ किमीमध्ये ११ किमी सडक कालोपत्र भइसकेको छ। अब १४ किमी सडक कालोपत्र र्न बाँकी छ, असारसम्म चार किमी कालोपत्र गर्ने लक्ष्य रहेको बताइएको छ।
अहिले भइरहेको कामको प्रगति हेर्दा लोकमार्ग कालोपत्रले सार्थकता पाउने आसमा स्थानीयवासी छन्। २६ वर्षदेखि सडकको धुलो खादै आएका जनता लोकमार्गले पूर्णता पाउनेमा आशावादी छन्।
लोकमार्गको टाउको दुखाइ रहेको बोक्से–खाल्टोले समेत यो बर्खामा सताउने छैन। अहिले बोक्सेको पहिरोग्रस्त क्षेत्रमा ३०० मिटर क्षेत्रमा ढलान गरिएको छ। मध्यपहाडी पुष्पलाल लोकमार्गअन्तर्गत जिल्ला सदरमुकाम खण्डको २५ किमीबाहेक अन्य सडक यसअघि नै कालोपत्र भइसकेको छ।
उपल्लाचौरबाट अक्षेते–बिहुँ खण्ड विसं २०७३ माघ १४ गते भारत/सिद्धिसाई जेभीले १३ किलोमिटर र बिहुँ घोडाबाँधे खण्ड २०७२ माघ १० गते एमपी/एससिएफ/इसिसी जेभीले १२ किलोमिटर सडक दुई वर्षमा कालोपत्र गर्ने ठेक्का सम्झौता गरेको थियो। कूल एक हजार ७७६ किमी लोकमार्गको बागलुङ खण्डमा मात्रै १४२ किमी पर्छ।