काठमाडौं। वनको अवरोधका कारण लामो समयसम्म निर्माण कार्य हुन नसकेको कैलालीको वसन्ता कोरिडोर क्षेत्रस्थित हुलाकी राजमार्ग निर्माण कार्य पूरा हुन लागेको छ। वन क्षेत्रमा बाँकी रहेको दुई किलोमिटर सडक निर्माणको काम यसै वर्षबाट सुरु भएपछि निर्माण कार्य पूरा हुन लागेको हो। सो सडकखण्डमा कालोपत्रे भइरहेको छ। केही हप्ताभित्रै निर्माणकार्य पूरा हुने हुलाकी राजमार्ग आयोजनाको कार्यालय धनगढीले जानकारी दिएको छ।
“कालोपत्रे गर्ने काम धमाधम भइरहेको छ,” आयोजनाका सूचना अधिकारी इन्जिनियर पदम मडैले भने, “अबको केही हप्ताभित्रै निर्माण कार्य पूरा हुन्छ।” त्यसो त सो सडकखण्ड निर्माणको समयावधि असार मसान्तसम्म मात्रै रहेको छ। यद्यपि असार मसान्तअगाडि नै कालोपत्रे भइसक्ने इन्जिनियर मडैले बताए।
वसन्ता कोरिडोर क्षेत्रमा हुलाकी राजमार्ग विस्तारका लागि २०७३ सालमा तुण्डी, प्रेरा, चन्द्रा एन्ड वसन्ता जेभीसँग ठेक्का सम्झौता भएको थियो। पाँच वर्ष समयावधिमा पूरा गर्नुपर्ने सो खण्डको निर्माण पूरा गर्न छ वर्ष लागेको छ। वन क्षेत्रमा पर्ने १८ किलोमिटरमध्ये १६ किलोमिटर सडकखण्डमा बेलैमा राजमार्ग निर्माणको कार्य पूरा भए पनि दुई किलोमिटर क्षेत्र भने वनले रोकेको थियो।
लामो समयसम्म रुख कटानको आदेश प्राप्त नभएपछि सो ठाउँमा काम अगाडि बढ्न सकेको थिएन। पटक–पटक म्याद थप हुँदै आएकोमा गत वर्ष मात्रै मन्त्रिपरिषद्को निर्णयले रुख कटानको आदेश दिएको थियो। कैलारी गाउँपालिका–५ को कटैनी पुलदेखि वडा नम्बर ७, छटकपुर वसन्तासम्म दुई किलोमिटरमा कालोपत्रेको काम सम्पन्न भएपछि स्थानीयलाई आवतजावत गर्न सहज हुनेछ। वसन्ता कोरिडोर क्षेत्रमा सडक निर्माणका लागि निर्माण कम्पनीले करिब ३३ करोड रुपियाँमा ठेक्का पाएको थियो।
यसैगरी भजनी नगरपालिका–५, लालबोझीमा कान्द्रा नदीले हुलाकी राजमार्ग कटान गरेको स्थानमा ड्याम बनाउनका लागि ठेक्का प्रक्रिया अगाडि बढाइएको छ। गत वर्षको बाढीले लालबोझीमा चार सय मिटर हुलाकी राजमार्गलाई कटान गरेको थियो।
त्यहाँ अब ड्याम बनाएर मात्रै राजमार्ग निर्माणको काम हुने मडैले बताए। उनले यस वर्ष ठेक्का भएर आगामी आर्थिक वर्षबाट ड्याम बनाउने कार्य हुने जानकारी दिए। धनगढी–भजनी–सत्तीसम्म ६२ किलोमिटर दूरी रहेको हुलाकी राजमार्ग सन् २०१० बाट कैलालीमा हुलाकी राजमार्ग निर्माणको कार्य सुरु भएको थियो।
हुलाकीको स्तरोन्नति र नदीले कटान गरेको ठाउँबाहेक बाँकी अन्य काम अन्तिम चरणमा पुगेको जनाइएको छ। धनगढीको क्याम्पस रोडदेखि मनहेरासम्म चार लेन र बाँकी सबै ठाउँमा दुई लेनमा हुलाकी राजमार्ग विस्तार भइरहेको छ। हुलाकी राजमार्ग स्तरोन्नतिको समयावधि आगामी पुससम्म रहेको हुलाकी राजमार्ग आयोजनाको कार्यालयले जानकारी दिएको छ।
“तर कामको गति हेर्दा पुस मसान्तसम्म स्तरोन्नतिको काम सकिने जस्तो देखिँदैन,” इन्जिनियर मडैले भने। हुलाकी राजमार्ग निर्माणका लागि चालू आर्थिक वर्षको हालसम्म ३७ करोड रुपियाँ खर्च भएको जनाइएको छ। “जसमध्ये कैलालीमा २५ करोड र बाँकी रकम कञ्चनपुरमा खर्च भएको छ,” उनले थपे।
आजको गोरखापत्र दैनिकबाट