झापा। प्रस्तावित अर्जुनधारा रंगशालामा योजनाबिना नै निर्माणको काम थालिएको छ। विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार नगरी निर्माण गरेको भन्दै स्थानीयले विरोध जनाएका छन्।
अर्जुनधारा नगरपालिका–७ मा स्थानीय समाज उद्दार कल्याण संघले रंगशाला निर्माण शुरु गरेको हो। संघले युवा तथा खेलकुद मन्त्रालय र नगरपालिकाबाट रकम जुटाएको छ। २ बिघा नम्बरी तथा ३ बिघा ८ कट्ठा जमिनमा संघले रंगशाला बनाइरहेको छ। तर, उसले रंगशाला निर्माणका लागि न्यूनतम मापदण्ड समेत पालना नगरेको भन्दै स्थानीयले विरोध गरेका हुन्।
संस्थाले तीन वर्षदेखि रंगशाला घेराबाराको काम गरिरहेको छ। डीपीआर नहुँदा रंगशालामा कतिवटा गेट राख्नुपर्ने, उपयुक्त स्थान कहाँ हुने, शौचालय, काउन्टर, कार्यालय, चेन्जिङ रुम लगायतका भौतिक संरचना कुन स्थान र कति संख्यामा बनाउनुपर्ने बारे संस्थाका पदाधिकारीलाई जानकारी समेत छैन। माटो परीक्षण समेत नगरी रंगशाला जस्तो ठूलो परियोजनामा संरचना निर्माण थाल्नु राज्यको ढुकुटीको चरम दुरुपयोग भएको भन्दै स्थानीय सञ्जय थापाले आक्रोश व्यक्त गरे।
योजनाबिनाको रंगशाला निर्माणमा तीन वर्षयता एक करोड २० लाख रुपैयाँ खर्च भइसकेको छ। यसमा युवा तथा खेलकुद मन्त्रालयको ८३ लाख र अर्जुनधारा नगरपालिकाको करिब ३५ लाख रुपैयाँ खर्च भएको हो। एक करोड २० लाख खर्च हुँदासमेत रंगशाला घेराबाराको काम पनि सम्पन्न नभएको नगरपालिकाका इन्जिनियर नीरज अधिकारीले बताए। ‘रंगशालामा तीन वर्षदेखि घेराबाराको काम भइरहेको छ तर यो वर्ष पनि पूरा हुने अवस्था छैन,’ उनले भने, ‘आगामी वर्षदेखि डीपीआर नबनाइ नगरपालिकाले रंगशाला निर्माणका लागि बजेट छुट्याउँदैन।’
स्थानीयले रंगशाला निर्माणमा गुणस्तरीय काम समेत नभएको आरोप लगाएका छन्। ‘सोयल टेस्टबिनै गरिएको निर्माणको काम कति पक्का हुन्छ भन्ने यसै पनि अनुमान लगाउन सकिन्छ,’ निवर्तमान वडाध्यक्ष नवीन ढुंगानाले भने। संस्थाले आफ्नो स्वामित्वमा रहेको दुई बिघा जग्गा रंगशाला निर्माण गर्न भन्दै २०७६ मा नगरपालिकालाई दिने लिखित सहमति गरेको छ। सहमति अनुसार उक्त जग्गामा नगरपालिकाले रंगशाला निर्माणको काम गर्नुपर्ने उल्लेख छ। तर तीन वर्षदेखि रंगशाला निर्माणको काम संस्थाका पदाधिकारी आफैंले गर्दै आएका छन्।
नगरपालिकासँग सहमित एकखाले छ। काम चाहिँ अर्कै किसिमले भइरहेको छ। यसले हामी स्थानीयलाई अचम्मित मात्र होइन, सशंकित पनि बनाएको छ,’ स्थानीय कुमार भट्टराईले भने।
संस्थाका अध्यक्ष धर्मानन्द गुरागाइँले स्थानीयको सुझाव सल्लाह अनुसार नै रंगशाला निर्माणको काम भइरहेको दाबी गरे। ‘धेरै दुख र लगाइँ गरेर रंगशालाका लागि बजेट ल्याउन सफल भयौँ। कुनै काम आफूखुसी गरेका छैनौँ,’ उनले भने। उनले घेराबाराको काम सकिन लागेको र अब प्यारापिट, कभर्डहल, शौचालय, चेन्जिङ रुम लगायतका काम सुरु गर्ने बताए। संस्थाका सचिव मेदनीप्रसाद ढुंगेलले ७ करोड ४३ लाख रुपैयाँको गुरुयोजनाअनुसार रंगशाला निर्माणको काम थालेको बताए। उनले सबै काम प्राविधिकबाट स्वीकृत गराएरै गरिरहेको दाबी गरे। समाज उद्दार कल्याण संघ नगरपालिकाभित्रको एक सामाजिक संस्था हो। सामाजिक कार्य गर्न स्थानीयले २०५० सालमा संस्था गठन गरेका थिए। आजको कान्तिपुर दैनिकबाट