काठमाडौं। स्याङ्जाका प्रमुख तीन सडकलाई सरकारले बजेट विनियोजन गरेको छ। उक्त सडकलाई सरकारले १४ करोड बजेट विनियोजन गरेको हो।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमार्फत सरकारले आर्थिक वर्ष २०७९/०८० का लागि नयाँ दुई सडक निर्माण गर्न र राजमार्ग मर्मत सम्भारका लागि सरकारले उक्त बजेट विनियोजन गरेको हो।
२०५१/०५२ मा नयाँ ट्रयाक खोलेर सञ्चालित जगतभञ्ज्याङ–केंवरे, चापाकोट–गजरकोट सडक खण्ड निर्माण गर्न पाँच करोड र २०४९।०५० देखि सञ्चालनमा आएको सेतिदोभान–आरुचौर घण्टेदेउराली सडकलाई चार करोड रुपैयाँ विनियोजन गरिएको छ। मन्त्रालयले राम्दीदेखि पोखरासम्म झण्डै एक सय किलोमिटर सडक मर्मत सम्भारका लागि पाँच करोड विनियोजन गरेको छ।
स्याङ्जा र तनहुँका स्थानीय प्रत्यक्ष लाभान्वित हुने जगतभञ्ज्याङ् गजरकोट सडक खण्डको करिब ६० प्रतिशत काम सम्पन्न भएको छ। वालिङको मिर्दीदेखि चापाकोटसम्म १९ किलोमिटर सडक कालोपत्रे गरिएको छ भने झण्डै १० किलोमिटर सडक कालोपत्रे भएपछि तनहुँको घिरिङ् गाउँपालिका जोडिने छ।
सडक निर्माण सम्पन्नपछि बुटवलबाट सिद्धार्थ राजमार्गहुँदै स्याङ्जा पोखरा भएर काठमाडौं जाने सवारीलाई छोटो र सहज हुने भएको छ। बुटवलबाट वालिङ चापाकोट हुँदै भिमाद भएर पृथ्वी राजमार्ग निस्कन सकिन्छ । राजमार्गको झण्डै ३० किलोमिटर यात्रा छोट्टिने छ।
मन्त्रालयको राजमार्ग स्तरोन्नति तथा पुनःस्थापना कार्यक्रमअन्तर्गतको सेतिदोभान घण्टेदेउराली सडक खण्डको झण्डै ३० प्रतिशत कालोपत्रे गरिसकिएको छ।
राजमार्ग स्तरोन्नतिका लागि राम्दीदेखि पोखरासम्मको झण्डै सय किलोमिटर सडकका लागि पाँच करोड विनियोजन भएको छ।
आवश्यकमर्मत सम्भारको अभावमा सडकको खाल्डाखुल्डीमा यात्रा गर्न बाध्य यात्रुले बजेट विनियोजनपछि राहत महशुस गरेका छन्। प्राप्त बजेटलाई तत्काल मर्मत सम्भारमा लगाउन राजमार्ग आसपासका स्थानीयले आग्रह गरेका छन्।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले प्रदेश राजधानी जोड्ने सिद्धार्थ राजमार्गको बुटवल पोखरा खण्ड मर्मत सम्भारका लागि ६१ करोड ४४ लाख बजेट विनियोजन गरेको छ।