कैलाली। जिल्लाको कान्द्रा नदीमा निर्माणाधीन पुल ११ वर्षमा पनि बन्न सकेन । जिल्लाको भजनी नगरपालिका–३ थेकीपुरस्थित कान्द्रा नदीमा पुल निर्माणको जिम्मा पाएको कम्पनीले पुल अधुरै छोडेर सम्पर्कबिहीन भएपछि ११ वर्षदेखि बन्न नसकेको हो ।
हालसम्म चौथो पटक म्याद थप हुँदासमेत एक सय मिटर लामो पुल बनाउन नसकेका साल्पा/शेर्पा–लामा–विरुवा जेभी नामक निर्माण कम्पनीका प्रतिनिधी सम्पर्कबिहीन भएपछि पुल निर्माण कार्य अलपत्र अवस्थामा रहेको छ ।
हुलाकी सडक अन्तर्गत पर्ने सो पुल ११ वर्षसम्म पनि बन्न सकेन । चौथो पटक थप भएको म्याद चैत मसान्तमा सकिएको थियो । ठेकेदार सम्पर्कमा नआएपछि पुल बेवारिसे बनेको छ । अझै एक स्पामसहित अन्य काम बाँकी रहेको बेला निर्माण कम्पनीका ठेकेदार सम्पर्कमा नआएको हुलाकी राजमार्ग आयोजनाको कार्यालयले जानकारी दिएको छ । पटक–पटक म्याद थप र ताकेता गर्दा पनि निर्माण कम्पनीले पुल बनाउने काम नगरेपछि हुलाकीले तीनवटै निर्माण कम्पनीहरुलाई कालोसूचीमा राख्ने र ठेक्का तोड्ने तयारी गरेको छ ।
बाँकी रहेको काम पूरा गर्नका लागि ठेकेदारहरुले चासो नदेखाएपछि कालोसूचीमा राख्ने प्रक्रिया अगाडि बढाएको हुलाकी सडक आयोजनाका सूचना अधिकारी इन्जिनीयर पदम मडैलेले बताए । ‘उनीहरुले काम गरि दिएको भए त जरिवाना लिएर काम गराउन सकिन्थ्यो । तर, सम्पर्कमै आइरहेका छैनन् । पुल निर्माण स्थलमा न केही निर्माण सामग्री छ न त कम्पनीका मान्छे’, उनले । ‘जरिवाना लिएर पनि काम गराउन सक्ने अवस्था नदेखिएकाले कालोसूचीमा राख्ने तयारी गर्दैछौं ।’ उनले ती निर्माण कम्पनीसंग अब ठेक्का तोड्नुको विकल्प नरहेको बताए ।
बाँकी काम सम्पन्न गर्नका लागि नयाँ ठेक्का गरेमा पुल निर्माण गर्न थप ढिलाइ हुने भएको छ । यसवर्ष भने अब पुल नबन्ने निश्चित भइसकेको छ । आयोजना कार्यालयका अनुसार पुलको ७५ प्रतिशत काम पूरा भइसकेको छ । एक स्पाम, दायाँबायाँ बाटो र एकतिर ग्याबिन लगाउनमात्रै बाँकी छ । तर, निर्माण स्थलमा निर्माण कम्पनीको उपस्थिति छैन । ‘काम गरि दिए त कुल लागतको प्रति दिन ०।०५ प्रतिशतका दरले हुन आउने २० हजार रुपैयाँ जरिवाना लिएर काम गराउन सकिन्थ्यो’, सूचना अधिकारी मडैले भने । ‘अब काम धेरै छैन । तर, कम्पनीले काम गर्ने चासो नै देखाएका छैनन् ।’ अब बढीमा दुई महिना लाग्ने काम बाँकी रहेको उनको भनाइ छ ।
२०६८ जेठ २१ गते उक्त पुलको ठेक्का भएको थियो । चार करोड ४३ लाख रुपैयाँ साल्पा÷शेर्पा–लामा–विरुवाले संयुक्त रुपमा ठेक्का पाएको थियो । तीन कम्पनीमध्ये लामा पहिल्यैदेखि कालोसूचीमा रहेको हुलाकी राजमार्ग आयोजनाको कार्यालयले जानकारी दिएको छ । यसैगरी, आर्थिक संकटका कारण विरुवाको टाट पल्टेको जनाइएको छ । काठमाण्डौंका सुवित श्रेष्ठको सो कम्पनी सामान खरिद गरेर काम गर्न नसक्ने अवस्थामा पुगेको जनाइएको छ ।
२०६८ जेठमा ठेक्का भएको पुलको पहिलो निर्माण अवधि ३० महिना रहेको थियो । तर, डिजाइन परिवर्तन गर्नु पर्ने कारणले साढे चार वर्षसम्म काम भएन । २०७२ पुसमा डिजाइन परिवर्तन भएपछि काम सुरु गरिएको थियो । साढे दुई वर्षको पहिलो म्याद २०७५ असारमा सकिएको थियो । चौथो पटक थप भएको म्याद यहि चैत मसान्तमा सकिएको छ ।
कान्द्रामा पुल निर्माण नहुँदा भजनी नगरपालिकावासीलाई मात्रै नभइ हुलाकी राजमार्ग आयोजनाको कार्यालयलाई पनि समस्या भएको मडैले बताए । अब बर्खाको समय आउँदैछ । पुल निर्माण नभएका कारणले सो क्षेत्रका स्थानीय जोखिम मोलेर डुंगामार्फत नदी तर्दै आएका छन् । आजको राजधानी दैनिकबाट