काठमाडौं। रामेछाप जिल्लाको मन्थली नगरपालिकाको गौरवको आयोजना स्विमिङ पुलसहितको तीनलाल स्मृति पर्यटकीय पार्क अझै सञ्चालनमा आउन सकेको छैन। मन्थली नगरपालिका–१ स्थित हाटेचौरमा गत आर्थिक वर्ष २०७७/०७८ को भदौबाट निर्माण सुरु गरिएको यो पार्क कोरोनाका कारण थप गरिएको समयसहित गत चैतसम्ममा निर्माण सम्पन्न गर्ने र गत वैशाखको पहिलो हप्ताबाट सञ्चालन गर्ने नगरपालिकाको योजना थियो।
निर्माण कम्पनीले समयमै काम नसक्दा यसअघिका मन्थली नगरपालिका प्रमुख रमेशकुमार बस्नेतले आफ्नो कार्यकालमा यो पार्क सञ्चालनमा ल्याउन नसकेको बताए। स्थानीय तह निर्वाचनबाट नयाँ जनप्रतिनिधि आइसके पनि नगरपालिकाले गौरवको आयोजनाका रूपमा निर्माण भइरहेको पार्क सञ्चालनमा ध्यान दिएको देखिँदैन।
पार्कको करिब–करिब सबै काम सकिएको भए पनि स्विमिङ पुलको केही प्राविधिक काम र केही वाइरिङको काम बाँकी रहेको नगरपालिकाका प्राविधिक शाखाका प्रमुख डिल्ली अधिकारीले बताए।
उनले सबै काम सकेर पनि निर्माण कम्पनी पाँच पोखरी कन्स्ट्रक्सनले सामान्य काम नसक्दा गत वर्षबाटै सञ्चालनमा आउनुपर्ने पार्क अझै सञ्चालन गर्न नसकिएको बताए। छ करोड ८८ लाख रुपियाँमा पार्क निर्माण गर्ने गरी पाँच पोखरी कन्स्ट्रक्सनले ठेक्का लिएको थियो। पार्कका लागि मन्थली नगरपालिकाको चार करोड रुपियाँ र सङ्घीय सरकारले दुई करोड ८८ लाख रुपियाँ लगानी रहेको छ।
पार्कमा तीनवटा स्विमिङ पुल, सभाहल, प्रशासकीय भवन, चेन्जिङ रुम, चमेना गृहलगायतका संरचना बनेका छन्। एकै पटक तीस जनाभन्दा बढीले स्नान गर्न सक्ने गरी महिला पुरुष र बालबालिकाका लागि छुट्टाछुट्टै पौडी पोखरी निर्माण गरिएको छ । पार्क १५ महिनामा काम सक्नुपर्ने गरी सम्झौता भएको थियो।
तर, निर्माण कम्पनीले कोरोना भाइरस, मूल्य वृद्धिलगायतको बहाना बनाएर काममा ढिलाइ गरिरहेको छ। नगरप्रमुख लव श्रेष्ठले पार्कको बाँकी रहेको काम छिटो सकेर सञ्चालन गर्नेबारेमा निर्माण कम्पनी, प्राविधिकलगायतसँग छलफल गरी आवश्यक निर्देशन दिएको बताए। नगरपालिकाको नमुना आयोजना भएकाले यसलाई छिटोभन्दा छिटो सञ्चालन गर्नेबारेमा नगरपालिका गम्भीर रहेको उनको भनाई छ।
आजको गोरखापत्र दैनिकबाट