कञ्चनपुर। १० करोड भन्दा बढी लागतमा भीमदत्त नगरपालिका–८ भम्केनीधाम तिलाचौर क्षेत्रमा निर्माण भइरहेको अष्टधातुको नेपाल आमाको ७५ फिट अग्लो मूर्ति निर्माणका लागि धातुको अभाव हुन थालेको छ। मूर्तिमा तामा, पितल, ढलौट, जिङक, सुनचाँदी, काँस र फलाम गरी अष्ठधातुको प्रयोग हुने छ। मूर्ति निर्माणका लागि हालसम्म एक करोड ५० लाख भन्दाबढी खर्च भइसकेको समितिले जनाएको छ।
त्यस्तै धातुको अभाव हुन नदिन सिद्धनाथ बैजनाथ धार्मिक तपस्थली क्षेत्र विकास समितिले घरदैलो अभियान सञ्चालन गरी धातु सङ्कलन गर्ने भएको छ। मूर्ति निर्माणका लागि १८ देखि २५ टनसम्म धातु आवश्यक पर्ने भएपनि समितिसँग दुई टन मात्रै धातु मौज्दात छ। मूर्ति निर्माणका लागि ललितपुरको भ्याली कन्ट्रक्सन प्रालिले रु १० करोड ८२ लाखमा ठेक्का लिएको थियो। निर्माण कम्पनीले मूर्ति निर्माणको गर्ने र धातुको व्यवस्था भने समितिले नै गर्ने गरी सम्झौता गरिएको छ।
त्यस्तै निर्माणकार्य अन्तर्गत हालसम्म प्राप्त धातुलाई कमलको आसन बनाएर ढलान गरी राखिएको र यसलाई फिनिसिङ गर्ने कार्य भइरहेको छ। सो मूर्ति निर्माणका गर्नको लागि चार वर्षसम्म लाग्ने जनाएको छ।नेपाल आमाको मूर्तिमा चक्र, खुकुरी, जपमाला, राष्ट्रिय झण्डा, पैसाको माला, नौगेडी, कानको ढुङ्ग्री, मुकुट राख्नुको साथै चार हातसमेत निर्माण गरिने जनाएको छ। उक्त प्रविधिमा आधारित भएर चीनको लासा र भुटानमा बुद्धका मूर्ति पनि निर्माण भउको छ। निर्माण भइरहेको नेपाल आमाको मूर्ति विश्वमै टपटेन भित्रै पर्छ। जगत्गुरु बालसन्त मोहनशरण देवाचार्यले मूर्ति निर्माणका लागि नेतृत्वदायी भूमिका निर्वाह गरेका छन्। मेची–काली भ्रमणका क्रममा उनले धातु सङ्कलन गरेका थिए।
त्यस्तै देवाचार्यकै परिकल्पनानुसार सो मुर्ति निर्माण हुनाका साथै भम्केनीलाई धामका रुपमा विकास गर्न प्रचार प्रसारसँगै विकासका कार्य अगाडि बढाइएको छ। महाभारतका पाँच पाण्डवले तप गरेको भूमिका रुपमा समेत सो क्षेत्रलाई चिनिने यस क्षेत्रमा पाँच कुण्ड रहेका छन्। ५० वर्षअघि कुण्डमा जस्तो पनी थियो हालसम्म पनि त्यस्तै र एकनासको पानी रहेको कुरा स्थानीयले बताएका छन्। धाम क्षेत्रमा संस्कृत शिक्षा विस्तारका लागि गुरुकुल समेत सञ्चालन गरिएको छ।