काठमाडौं। रौराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनी र रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले एकैदिन विशेष साधारणसभा बोलाएका छन्। मर्जरको प्रस्तावसहित दुवै हाइड्रोपावरले असार १७ गते विशेष साधारणसभा बोलाएका हुन्।
रैराङ हाइड्रोपावरको असार १ गते बसेको संचालक समितिको निर्णय अनुसार साधारणसभा असार १७ गते भर्चुअल माध्यबाट सभा संचालन गरिने छ।
सभामा यस कम्पनीलाई रिडी हाइड्रोपावर डेभलपमेन्टसँग गाभ्ने प्रयोजनका लागि मूल्यांकनकर्ता पि.वि.क.बी एण्ड एसोसिएट्सको नियुक्ति गरी पारिश्रमिक समेत तय गरिने बताइएको छ। यसका साथै संस्थाको सम्पत्ति, दायित्व तथा कारोबार मूल्यांकन, समझदारी पत्र तथा अन्तिम सम्झौता पत्र लगायत सम्पूर्ण काम कारबाहीलाई अनुमोदन गरिनेछ।
साधारणसभामा यस कम्पनीका सेयरधनीहरुलाई १०० कित्ता बराबर रिडी हाइड्रोपावरको ९३ कित्ता सेयर प्राप्त हुने गरि रिडी हाइड्रोपावरलाईसमाहित हुन स्विकृती प्रदान गरिने बताइएको छ ।
यस्तै रिडी हाइड्रोपावरले पनि सोही दिन कम्पनीको कर्पोरेट कार्यालयमा विशेष सभा आह्वान गरेको छ । रिडी हाइड्रोपावरले भर्चुअल माध्यमबाट साधारणसभा आह्वान गरेको हो।
कम्पनीले सभामा रैराङ हाइड्रोपावरका सेयरधनीलाई १०० कित्ता बराबर ९३ कित्ता सेयर प्रदान गर्ने गरी रैराङ हाइड्रोपावरलाई गाभ्ने र हाइड्रोपावरको सम्पूर्ण सम्पत्ति तथा दायित्व सकार्ने स्वीकृति प्रदान गरिने बताइएको छ।
रैराङ हाइड्रोपावरलाई प्राप्ती गरेपश्चात कम्पनीको अधिकृत पुँजी, जारी तथा चुक्ता पुँजी वृद्धि हुन जाने हुँदा सोही बमोजिम कम्पनीको प्रबन्धपत्र तथा नियमावलीको बिभिन्न दफाहरुमा संसोधन प्रस्ताव पारत गरिने छ।
कम्पनीको नाम परिवर्तन गर्ने प्रस्ताव स्वीकृति प्रदान गरिने लगायत विभिन्न प्रस्ताव पारित गरिने छ।