काठमाडौं। नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले आगामी आर्थिक वर्षका लागि बजेट निर्माण सुरु गरेको छ। प्राधिकरणले हवाई पूर्वाधार सुरक्षा र यात्रु सुविधा वृद्धिलाई केन्द्रमा राखेर बजेट बनाउन सुरु गरेको हो।
यसका लागि प्राधिकरणले आफ्नो स्रोतबाट २३ अर्ब रुपैयाँ र सरकारको तर्फबाट आएको १२ अर्ब २४ करोड रुपैयाँ लगानी गर्ने योजना रहेको बताइएको छ।
यो वर्ष विमानस्थल विस्तार, नयाँ विमानस्थल निर्माण, यात्रु सुरक्षा र सुविधालक्षित उपकरण विस्तार लगायतका उद्देश्य सहित गृहकार्य सुरु गरिसकेको क्यानले बताएको छ। फायर भेहिकल, लाइटिङको व्यवस्था, विमानस्थल स्तरोन्नती, विस्तार, निर्माण लगायतलाई प्राथमिकतामा राखेको बताइएको छ।
प्राधिकरणले यही वर्ष त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल (टिआईए) काठमाडौं र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको नयाँ टर्मीनल भवन विस्तारको काम सुरु गर्ने योजना बनाएको छ। टिआईएको नयाँ टर्मिनल भवनको निर्माण प्राधिकरणले आफैं गर्नेछ भने गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको नयाँ टर्मिनल भवन निर्माण लागतमा एसियाली विकास बैंकको सहयोग हुने बताइएको छ।
प्राधिकरणले यसका लागि विमानस्थल सेवा शुल्कबाट गर्दै आएको आम्दानीवापतको रकम प्रयोग गर्ने छ।
पूर्वाधार विस्तारअन्तर्गत उदयपुरमा नयाँ विमानस्थल ‘सगरमाथा विमानस्थल’, रुकुम चौरजहाजरी विमानस्थल स्तरोन्नती, धनगढी विमानस्थल स्तरोन्नती, विराटनगर नेपालगञ्ज र भरतपुरमा टर्मिनल अत्याधुनिक टर्मिनल भवन निर्माण गर्ने योजना बनाएको छ।
योसँगै तराई क्षेत्रमा रहेका हरेक विमानस्थलमा एसीसहितको टर्मिनल भवन विस्तार गर्ने योजना रहेको बताइएको छ। यसैगरी नेपालगञ्ज, विराटनगर र धनगढी लगायत तीनवटा विमानस्थलमा ब्यागेज बेल्ट विस्तार गर्ने तयारी छ।