काठमाडौं। पाल्पामा दुई औद्योगिक ग्राम निर्माण हुने भएका छन्। पाल्पा जिल्लाका दुई नगरपालिकाले औद्योगिक ग्राम निर्माणको कामलाई अगाडि बढाएका हुन्।
तानसेन र रामपुर नगरपालिकाले गत वर्षदेखि गुरुयोजना निर्माण गरेर औद्योगिक ग्रामका लागि आवश्यक पूर्वाधार निर्माणको कामलाई अगाडि बढाएको नगरपालिकाले बताएको छन्।
तानसेन नगरपालिकाले तानसेन–७, कुनसरेमा औद्योगिक ग्राम निर्माणको कामलाई तीव्रता दिएको छ। गत वर्ष गुरुयोजना निर्माण गरेर तानसेन नगरपालिकाले आवश्यक पूर्वाधार निर्माण गरिरहेको छ।
गत वर्ष नेपाल सरकारबाट प्राप्त ९२ लाख रुपियाँबाट टेन्डर गरेर औद्योगिक ग्रामका लागि आवश्यक संरचना निर्माण गरिएको नगरपालिकाले जनाएको छ। गुरुयोजनाअनुसार त्यस क्षेत्रमा ४५ करोड रुपियाँ लागतमा औद्योगिक ग्रामको सम्पूर्ण संरचना तयार हुनेछ।
औद्योगिक ग्राम निर्माणपछि उक्त क्षेत्रमा २२ वटा स्टल रहनेछन्। घरेलु तथा साना उद्योगसमेत ग्रामभित्रै सञ्चालन गरिने योजना छ। जिल्लामा उत्पादित वस्तुको उत्पादन तथा बिक्री प्रवद्र्धनका लागि औद्योगिक ग्राम निर्माण गरिएको नगरपालिकाले बताएको छ।
रामपुर नगरपालिकाले भने गत वर्ष नै औद्योगिक ग्राम निर्माणको पहिलो चरणको काम सकेको जनाएको छ। रामपुर नगरपालिकाले वडा नं. ७ को विरेनटारमा ४२ रोपनी जग्गालाई घेराबार गर्ने, जग्गा व्यवस्थापन गर्ने तथा नदी कटानबाट जोगाउन पर्खाल लगाउने काम गरेको थियो।
रामपुरमा औद्योगिक ग्राम निर्माण गर्न गत वर्ष नै विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बनाउने र सङ्घीय सरकारबाट प्राप्त ९२ लाख रुपियाँमध्येबाट ७७ लाख खर्चमा पूर्वाधार निर्माणको काम गरिएको रामपुर नगरपालिकाका सूचना अधिकारीले जानकारी दिए।
नगरपालिकाले तयार गरेको डीपीआरअनुसार २२ करोड रुपियाँमा रामपुरको औद्योगिक ग्राम निर्माण पूरा हुनेछ।